Posts

Showing posts from 2024

हिमालपारि र वारि : सुधीर शर्माले देखेको नेपाल–चीन सम्बन्धको नालीबेली

  वीर शमशेरको शासनकालमा सन् १८९८ मा नेपाल आएका फ्रेन्च अनुसन्धानकर्ता सिल्भाँ लेभीले ‘नेपालः हिन्दु अधिराज्यको इतिहास’ नामक पुस्तकमा नेपालबारे लेखेको एउटा अंशको सारांश यस्तो छ: 'सन् १५५० अगाडिका केही वर्ष नेपालमा मुगल बादशाहहरूको कति जबर्जस्त प्रभाव थियो भने नेपालले आफ्नो मुद्रा काट्न पनि पाउँदैनथ्यो । सन् १५५० देखि १५६० सम्म नेपालमा शासन गरेका राजा महिन्द्र मल्लले दिल्ली पुगेर मुगल बादशाहबाट पैसा छाप्ने अनुमति लिएका थिए । उनको पालामा पैसा छाप्न थालेकाले त्यो पैसालाई महेन्द्र मल्ली भन्ने गरिन्थ्यो । त्यसको केही वर्ष नबित्दै नेपालका राजा लक्ष्मीनरसिंह मल्लका मन्त्री काजी भीम मल्लले तिब्बत पुगेर उसलाई एक प्रकारको अधीनस्थ राज्य बनाए । पछि त नेपालले तिब्बतका लागि पनि पैसा छाप्न थाल्यो र त्यसबापत चाँदी लिन थाल्यो । यो समय नेपालले भारत र तिब्बतको बीचमा रहेर भौगोलिक अवस्थितिको पर्याप्त फाइदा उठायो र धनी हुँदै गयो ।' लेभीको पुस्तकबाट सूचनाका लागि यो अंश उद्धृत गरिए पनि नेपाल (यो सन्दर्भमा नेपाल भन्नाले मूलतः तत्कालीन नेपाल खाल्डो काठमाडौं उपत्यका र त्यसवरपर मल्लहरूको अधीनस्थ रहेको नेपा...

निराशाको जरोचुरो

  केही समययता नेपालमा निराशाका कुरा धेरै सुनिन थालेका छन्। के भनिँदै आएको छ भने मानिसहरू निराश छन्। नागरिक समाजका धेरै मानिस निराशाकै कुरा गरिरहेका सुनिन्छन्। श्रम आप्रवासनमा जान लागेकाहरूसँग कुरा गरेर पत्रकारहरू हामीसम्म ल्याउँछन्। निराशाकै कुरा सुनाएर सुकसुकाउँदै उनीहरू पनि बिदेसिन्छन्। सडक व्यापार गरेर जीविका धानिरहेकाहरू त्यसै भन्छन्। सञ्जालमा चिकित्सा क्षेत्रका जान्नेमान्ने नामहरू पनि निराशाको कुरा गरिरहेका भेटिन्छन्। राजनीति गरिहिँड्नेको ठूलो पंक्तिसँग व्यक्तिगत कुरा गरिहेर्नूस्—ऊ पनि निराशाकै कुरा गर्छ। मेरो एउटा साथी छ। दुई वर्षपहिले संसद‍्मा टिकट पायो र निर्वाचित पनि भयो। अहिले हरेक पटक भेट हुँदा व्यक्तिगत रूपमा निराशाकै कुरा गरिरहेको सुन्छु। सबैजसो निराशाका कुरा गर्नेले पुराना राजनीतिक दल र त्यसको नेतृत्वलाई यो निराशाको ‘प्रमुख कारण’का रूपमा गाली गरिरहन्छन्। नाम लिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ धेरैजसो विरोधका मुख्य निशाना बनाइएका हुन्छन्। निराशाको कारणका रूपमा चाहिँ देशको शिक्षा क्षेत्र बिग्र...

निर्यातमा आधारित विकासको पक्षमा

  एक बिहान बाथरुम पस्दा विचार गरिहेरें, त्यहाँ प्रयोग हुने कमोड, स्प्रे, बेसिन, धाराको टुटी, सावर, टुथपेस्ट, टुथब्रस, ट्वाइलेट पेपर, साबुन, स्याम्पु, टावेल, अन्डर गार्मेन्ट्स सबैजसो आयातित रहेछन् । पानीचाहिँ  यहीँको । त्यसपछि किचनमा चिया बनाउन गएँ । पानी र चियापत्ती नेपाली रहेछ । चिनी नेपाली हुन पनि सक्छ, नहुन पनि । स्टिलको ताप्के विदेशी । इन्डक्सन चुलो या ग्यास चुलो विदेशी । ग्यास विदेशी । बिजुलीचाहिँ नेपाली । चियाको कप विदेशी नै रहेछ । तेल, प्याज, मसलाहरू धेरैजसो विदेशी । तरकारी घरकै । केरा, स्याउ विदेशी । फ्रिज विदेशी । नुन पनि विदेशी । धाराको टुटी र सिंक विदेशी । वासिङ मेसिन विदेशी । चिया पिउँदै बस्ने सोफा आयातित सामानले बनेको रहेछ । टीभी खोल्यो विदेशी, टीभीमा हेरिने ९० प्रतिशत च्यानल विदेशी उत्पादन । टीभी आउने इन्टरनेटको माउ स्रोत विदेशी । भुइँमा राखेको कार्पेट नेपाली भए पनि प्रयोग भएको ऊन विदेशी । घरको भित्तामा लगाएको रङ विदेशी । हरसमय हातमा साथमा हुने मोबाइल विदेशी । फेसबुक विदेशी, ट्वीटर, मेसेन्जर, वाट्सएप, भाइबर, विच्याट सबै एप विदेशी । घरबाहिर जाँदा लगाइने जुत्ता, मो...

भूमिहीनलाई जमिन, अर्थ र अनर्थ

  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गत आइतबार झापा पुगेका बेला ६ महिनाभित्र जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने घोषणा गरे । उनको भनाइअनुसार, सरकार लामो समयदेखि भोगचलन गरिरहेको, तर धनीपुर्जा नहुने सबैलाई जग्गाको मालिक बनाउने अभियानमा लागेको छ । यसले वर्तमान सरकारले भूमिको स्वामित्वका सम्बन्धमा किसान, अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूसँग रहेको राज्यको द्वन्द्व हल गर्नेतिर अग्रसर हुन चाहेको संकेत गर्छ । मन्त्री तथा प्रधानमन्त्रीले गफ दिनु र व्यवहारमा उतार्नुका बीचको फरक त हामीले देखे जानेकै कुरा हो । तैपनि यहाँ सरकारको प्रयासलाई सकारात्मक रूपमा लिएर नेपालमा सुकुम्बासी समस्या समाधानको प्रयासका अर्थराजनीतिक चलखेलको चरित्र केलाउन प्रयास गरिनेछ । राजनीतिक शक्तिहरूका बीच, भूमिहीनहरूका बीचमा आफूलाई संरक्षकका रूपमा देखाउँदै गैरदलीय नागरिक या अरू दलप्रति झुकाव राख्नेलाई समेत आफ्नो पक्षमा पार्न सार्वजनिक जमिनको वितरणसम्बन्धी नीतिहरूको प्रयोग (दुरुपयोग) गर्न प्रतिस्पर्धा गर्ने पुरानै चलन हो । यसैगरी किसानहरूले जीविकाको खोजीमा सार्वजनिक पर्ती या ऐलानी अथवा वन क्ष...