यी आशालाग्दा सपनाहरू
रेलैमा नचढेसम्म, छोडेन यो आँसी, नाम्लाले । अहिलेको विकासे बहसमा सामेल हुँदै गर्दा गाउँमा सानैमा सुन्ने गरेको उपर्युक्त झ्याउरे गीत घरीघरी मनमा आइरहन्छ । गीतमा दुईवटा प्रस्ट सन्देश छन् । हाम्रो गाउँघरको त्यतिवेलाको समयमा मानिसको जीविकाको स्रोत खेतीपाती मात्र थियो । तर, हरेक किसान युवाका मनमा निरन्तरको यो आँसी नाम्लो, गाउँबेसी, हलो, कोदालो र गोठाले धन्दाप्रति वितृष्णा थियो । ऊ त्यसबाट मुक्त हुन चाहन्थ्यो, कमसेकम मैलोधैलोबाट सुकिलो जीवनसम्म जान चाहन्थ्यो । गाउँमा भारतीय सेनाबाट छुट्टीमा आएका या भारतका विभिन्न सहरमा अनेक दुःख गरेर फर्केका तर कपालमा नरिवलको तेल हालेर लरक्क पारेको तथा इस्त्री लगाएको कमिज, पाइन्ट लगाएका लाहुरेले बाँड्ने मसला र चुरोटले मानिसलाई हुरुक्क बनाएको देखिन्थ्यो । यसमा दोस्रो सन्देश छ– त्यतिवेलाको नेपालमा कृषि पेसाको विकल्प थिएन । आँसी, नाम्लो छाड्ने हो भने एक मात्र विकल्प रेल चढ्नु या भारततिर कामको खोजीमा जानुपथ्र्यो । यतिवेला नयाँ गन्तव्य आएका छन्, जहाँ रेल होइन, हवाईजहाज चढेर पुगिन्छ । अनि नयाँ गीत पनि लोकप्रिय छ– चालीस कटेसी रमाउँला । पहिलो गीत सुने...