दलालतन्त्र भर्सेज लोकतन्त्र
मैले नेपाल किन बनेन, कसरी बन्छ भन्नेबारे भएका अनेक तर्क सुन्न थालेको पनि अब त ४० वर्षभन्दा बढी भएछ । पहिले सुनिन्थ्यो मात्रै । आफूभन्दा बुढाले गरेको गफ ट्वाल्ल परेर सुन्नु र त्यसमा विश्वास गर्नु किशोर कालको नियति थियो । तर, आफ्नो उमेरजन्य चञ्चलताबाट समय निकालेर त्यस्ता कुरा गर्नेका निकट जाने र ध्यानपूर्वक उनीहरूका कुरा सुन्ने बानीले मलाई पनि मौका पर्दा वाद–प्रतिवाद या तर्क गर्ने बानीले आक्रमण गरेको थियो । एकप्रकारको गफाडी विधामा मैले किशोरावस्थामै प्रवेश गरेको थिएँ । जब राजनीतिक आन्दोलनमा सहभागी बनेर पक्षधरता लिन थालियो अनि मात्र यस्ता बहसका तर्क प्रणालीबारे धेरथोर ज्ञान चाहिएको थियो । तर, यतिका राजनीतिक परिवर्तन र आन्दोलनपछि पनि साढे तीन दर्जन वर्षभन्दा बढी समयसम्म मैले सुनेका केही गफमा निकै समानता छन् । त्यसमध्ये पनि उही कुरो दोहोरिने अविकासका बारेमा हो । उतिवेलादेखि अहिलेसम्म पनि सबैजसोले गलत नेता, भ्रष्टाचार, मानिसको नकारात्मक सोचाइलाई अविकासका लागि दोष दिने गरेका छन् । पहिले राजा र पञ्चहरूलाई, बीचमा कांग्रेस र एमालेका नेतालाई, पछिल्लो समय माओवादीसमेत थपेर उनै कांग्रेस र एमाल...