आमाका कविताहरु (मनको लहड)

 

 

मदन भण्डारीको वारेमा

 

थियो अरे बैठक अघिल्लो दिनमा पोखराको ठाउँमा

साथीहरु पनि अनेक तरहका भेला भएका तहाँ ।

साथेहरुसंग विदावारी भइ चढ्नु भयो जिपमा

खत्तम भो जीन्दगी त्यै एकछिनमा तिनघण्टाको बिचमा ।।

१

षडयन्त्रै होइन यो कुरा भनेर बुझेन मन् त तर

सोधुन साथीले र गरुन खबर् पनि जीउँदै छ रे डाइभर ।

मैना हो जेठको गते त तिन लौ आइतबारको दिन

जीवराज साथमा परे लौ विचमा मुर्छा परे जलमा ।।

२

खोजी गर्न भनेर आए सब ती भएका साथी जती

सुन्दा खबर यो श्रीमती घरमा मुर्छा परी हुन् कती ?

माता पिता सबै दाजु र माइती दिदि र बैनीहरु

रुँदा हुन घरमा गरेर विलना चित्त बुझाइदेउ बरु ।।

३

मदन भण्डारी यी ठुला नेता भनी इज्यत चलेको यहाँ

लान्न भो यो मान्छे दुइचार बरीस कालले भन्थ्यो कहाँ ।

लास खोज्न भनेर ती साथीहरु त टम्मै थिए तीरमा

पाए लास अनि लगेर चढाए त्यो हेलिकप्टरमा ।।

४

लग्यो निमानले उडाइकन लास राख्यो रंगशालामा

फुलमाला अविर राखेर चलाए लगे आर्यघाटमा ।

साथीहरु पनि थिए वरिपरी जल दिइन श्रीमतीले

छ दिनका दिनमा जलाए अनि लास दाग दिइन छोरीले ।।

५

यो देश अगाडी बढाउँला भनी वहाँको मनमा थियो

भनेर कसैले भएन हरी हो हा दैवले हर्दियो ।

 

बनाउँछु कविता मनको लहड धर्कन्छ मन् त अति

छोरा हुन उनी त संसार भरीका पीरै लिने हो कती ।।

जे जे हो घटना यथार्थ सव यो कत्ति नछाडीकन

भनेको छु अनेक छन् भुल यहाँ माफी मिलोस सज्ज्न ।।

६

जती पछि हुन गयो ती अहिले धर्कन्छ उती मन

मेटिदैन पीर ती माता पितालाई आँफु नमरी कन ।

जे जे हो घटना यथार्थ सब यो कत्ति नछाडीकन ।

लेखेको छु अनेक छन् भुल यहाँ माफी मिलोस सज्जन ।।

७

(बारा जिल्लाको कोल्हवीमा नेकपा  एमालेले आयोजना गरेको  मदन आश्रीत श्रद्धाञ्जली सभामा आमाले सुनाउनु भएको कविता ÷श्लोक, २०५० जेठ)

 

०४६ को आन्दोलन

राख्दैछ जनता यो देश भरमा मिटिङ र बैठक

साच्चै वावु अब त तिमीहरुले थोत्रो चलन यो झिक ।

मान्दैनन जनता कसैगरी पनि जेल खाई कति बसे

सुन्दा खबर ती माता पिताका आँसु कतिका खसे ।।

१

घुम्दैछ जनता यो राज्यभरीमा ती पाउ कष्ट गरी

मिल्दैन व्यबस्था कसैगरी पनि पार्टी कति छन् थरी ।

सक्दैन जनता कसैगरी पनि समाजमा ढल्कन

पोल्यो छाती मेरो भएर धरर तालु गयो बल्कन ।।

२

देशका मेरा त भाइ बन्धुहरु हो साँचो कुरा सुन्नुहोस

यस्मा कत्ति विपक्ष भाव नलिनोस औचित्यमा गुन्नुहोस ।

उठ लौ जनता नभुल यसरी लम्कन विकासमा

शान्ती रुपले नै मिलाउ ब्यवस्था यै भन्छ मेरो मन ।।

३

सही कुरा गरेर उठेका जनता अन्याय वाला भने

विद्यार्थी लगेर ती जेल घरमा कैदी बनाइ थुने ।

धनले भुँडी भराई ती गुण्डाहरुलाई रक्सी पियाइकन

आफ्नै कुरा गलत गराई अहिले पठाए क्याम्पसमा ।।

४

मान्दैनन ब्यवस्था कसैगरी पनि टिक्दैन एकै छिन

बेइजतै गरेरे महिलाहरुको चुल्ठा उखाले किन ?

छोड्दैनन जनता कसैगरे पनि मर्नै बरु हाँस्दछन्

छाती थापी ती लड्दछन् चउरमा तरवार लिई नाच्दछन ।।

५

जनता लगेर राखने ठाउँ त जेलेको छ तारले

साह्रैनै अतिचार ग¥यो नी अहिले नेपाल सरकारले ।

थुन्दैछन् जनता यो देश भरका कडा गरी शासन

जान्दिन अरु क्यै बसे मुखले यै गर्दछु भाषण ।।

 

अञ्चलाधिश यी बसेर सिडियो कडा बन्यो हाकिम

जनताजतीलाई जेलमा राखेर शत्रु बढायौ किन ।

यो जिल्लामा काम गरे नी तिमीले कुन जिल्ला प¥यो घर

जनता जतीलाई जेलमा राखेर शत्रु बढायौ तर ।।

 

बाटोघाटो सबै छोडेर पुलिस बाटो हिँड्न पाइएन

धन भए सबलाई भयो नी यिनलाई इज्जत यो चाइएन ।

बस्दैछन जनता एक मतो गरि धनले भरी बाकस

मान्छे मारने नै आदेश दिनी त सिडियो नै साकट ।।

 

क्याम्पसमा विद्यार्थी हिनामिना भए कति विचैमा मरे

कतिलाई लगेर तिनै पुलिसले जेलभित्र बन्दी गरे ।

जेलवसें अवलाई नभन बाबु हो देशका लागी मन्दिर

तिम्रो इच्छा सधैं सफल हुँदै जाओस भो भो नलियो पिर  ।।

 

फागुन ४, २०४६ ।

 

 

 

 

 

 

 

 

 

 

 

विद्यार्थी मास्ने

नजा नजा त्यो परिपञ्चमा न जा

म भित्र छु बाहिर छैन क्यै मजा ।

भनेर घन्क्यो सुर बाँसुरी किन

विद्यार्थी मास्ने छ कि यो पुरा मन ।।

 

लगेर जेलमा खडा गराई

पुलिस बाहिर हर्ष बढाँई ।

भनेर घन्क्यो फेर बाँसुरी धुन

विद्यार्थी मास्ने छ कि यो पुरा मन ।।

 

हरियो वनका यी पाखा पखेरा

जेलभित्र जाँदा पुलिसका घेरा ।

भनेर घन्क्यो फेरि बाँसुरी धन

विद्यार्थी मास्ने छ की यो पुरा मन ।।

 

सम्झन्छु दुःख अनि देश भरका

जेलमा जाँदैछन उडी पात वनका ।।

भनेर घन्क्यो फेरि बाँसुरी धन

जनता मास्ने छ कि यो पुरा मन ।।

 

४ फागुन २०४६, मकैखोला ।

 

छोराको पुर्जी आउँदा

आफु त तिमी त्यै पोखरा क्याम्पस बस्छौ अरे सुन्दछु

बर्षाको बाढी झैं वगेका यी आँसु हत्केलाले थुन्दछु ।

हुर्कायो कसले पढायो कसले मनले विचार गर

कहिल्यै नी घरमा नआउनी किन हो दख्नै पनि रहर ।।

 

कति हो पोखरा एकछिनको बाटो त टाढा भयो लौ घर

सुख र सन्तोष भएन कहिले हो शशी हे शेखर ।

धर्म कर्म पनि म गर्न पाइन के लानी परलोकमा

यमका दुतले थुतेर लानिछ कुन रिसका झोकमा ।।

 

छोटो छ जिन्दगी यो दुइ दिनको चोला थियो कञ्चन

चैतको पात झैं फरर गरेर उडिरह्यो नी मन ।

छैन मन शितलो पोली रहने भो हे रामचन्द्र हरी

के आउँथ्यौ यी जावा वाउ आमा भेटन ती पाउ कष्ट गरी ।।

 

सोध्यो पुलिसले आएर घरमा वुवा कता छन् भनी

दिएँ गुन्द्री अव बसल भनेर केही नमानी म नी ।

सुन्दा खवर यो म परें भुलमा छोप्यो मलाई के ले

लागे सही गरन बसेर पिँढिमा सदस्य अध्यक्षले ।।

 

आएको रहेछ पुलिस घरमा पुर्जी टाँसुला भनी

दिएँ गुन्द्री अनि बसल भनेर सोझैं भएँ म पनि ।

आँसुले म बाटो नपाउने भएँ छोरा झलक सम्झिई

बाबु हो घरलाई नसम्झ तिमीले यै देशमा मन दिई ।।

 

(साउन २०४५)

 

बसाँई जाँदा

आएँ टाढा दिनभरी हिँडी विघ्न लाग्यो थकाई

बाटो लामो अझ छ कतिको पुग्न पर्ने मलाई ।।

कोही खाली अलिअलि गरी लाग्न थाले उकालो

सल्लाघारी मनीतीर कोही खोज्न थाले दियालो ।।

१

गोठालाले पनि लगीसके वस्तु आफ्ना संगेली

माया जोडी कति गइसके गीत गाइ सुसेली ।

मेरो मात्रै दिन डुवीसक्यो आँसु तर्केर आयो

यो बाटोमा रनभुल परें वेदनाले डुवायो ।।

२

डाँडाकाडाँ परपर गइन घाम झैं तर्किएर

सन्ध्या एकैछिन पछि यहाँ आउँछिन ओर्लिएर ।

पोल्यो छाती हृदय अतिनै बास कहाँ बसुँला

केले थामी विरह मुटुको रातमा निद लिउँला ।।

३

डाँडाकाँडा रुखपात हरीया खेता पाखा यी वन

चिसो हावा सरर गरदा शान्ति नै छ यो मन ।

जन्म्यौं हुक्र्र्यौैं पहाड वनमा त्यै छ हाम्लाई रमाइलो

घाम लाग्यो दशदिशा तिर लौ हेर कती घमाइलो ।।

४

भन्छु मैले कविता अहिले शान्तीमा छैन मन

हास्दै वोल्दै गामविसी गरदै जान्थ्यो है यो जीवन ।

पीरले हो की किन हो यसरी हृदय यो रोएको 

चर्को घाम खलल पसिना हात पाउ पोलेको ।।

५

खोलानाला संगिनी हजार भेटें मैले यी सारा

बुझाउँदा बुझेन यो मन दिएन नी आधार ।

आसु आई शरीर भिजेपनि बुझेन कत्ति मन

विहानी पखमा ती चरा रुखमा कराइरहेका छन् ।।

६

 

तिर्थको धोको

धोका तिरिथैको गरिकन म भन्छु हरी  हरी

किनारैमा लागौं गहिरो गहिरो सागर तरी ।

हरे तिर्थ वर्त गरने अवत दिन पनि गए

जाँदा हुँ की कतै हजुरहरुको मन पनि भए ।।

 

धोका तिरिथैको गरीकन म गन्थन गरुँ कति

पारै हुन पाए हुनेथियो अव त जति तति ।

सानै देखि छोरा घुमन गए ती नजरमा

ऋनेक ताना पीरले दिन पनि विताएँ घरमहाँ ।।

 

विते यत्रा बर्ष धोका तिरिथको नै गरी गरी

धनासा धन्यै हौ छइन भवमा कोही तिमी सरी ।

यो मनका पिरले छिनछिन म रुन्छु धर धरी

कराउँछन वनमा मजुरहरु पन्छी अनि चरी ।।

 

कतै रुख वृक्षमा फलफुल फलेको वनमहाँ

अनेक ताना पिरका धसरा छुट्छन मनमहाँ ।

मरिन्छ कि के हो यो बाटो विचमै वन्धन परी

सिता राम म भज्छु शिवशिव नभुली हरीहरी ।।

 

देउदेउताको सम्झना

देउता जती सबै बसीरहेका छन् हिमाल पर्वतमा

महादेव पार्वती इशानघरका बजार कर्पुटारमा ।

तिनको सेवा पनि म गर्न सकिन सम्झीरहन्छु संधै

हे इश्वर भगवान तपाइहरुले क्षमा गर्नुहोस मलाई ।।

 

सम्झन्छु दिनरात ती देवि देवता मेरो क्षमा राख्नुहोस

भुल हुन गए कुनै कुरा भने हत्ेकलाले थुन्नुहोस ।

बढ्दैछ अघि मन सर्नेहैन पछि धनै नभए पनि

मेरो आसा त पूर्ण गरिदिनु देवी विन्ध्यवासिनी ।।

 

नजर मेरा त यसै दुःखी सके हेरेर बाटो तिर

धोएर भएन रोएर गएन मनमा भएको पिर ।

पर्छपिर मनमा अनेक तरहका मनले बिचार गर्दछु

जे गर्छेउ तिमी नै गर भगवती तिम्रै शरण पर्दछु ।।

 

 

 

टाढा जाने छोराको सम्झना

 

काठमाण्डु पोखरा मिलेन जागीर जानु छ अन्तैतिर

भो आमा तपाई नरुनोस घरमा मनमा नलिनोस् पिर ।

दाजुहरु पनि भएनन घरमा सानु छोरा झन पर

यस्कै क्ष्मा संधै गरीदिनुहोला हे शिव ए शंकर ।।

 

तिम्रो दिलमहाँ सँधै भक्ति लागोस मातापिताको पनि

तिम्रो विद्या संधै सफल हुन जाओस आशिष मेरो पनि ।

सानु छ झुपडी जंगलका विचमा रुखका छहारी मुनी

सुख र सन्तोष भएन कहिल्यै धिक्कार लाग्छ अनि ।।

 

हुर्काउँदा पढाउँदा यीन्ताका भइगो खोजी छैन धर्मको

छैन खुवी अव त केही गरने छैन ठेगान मर्नको ।

हेर्दैछु नतिजा सबैको मइले म पर्ने कस्का भर

मनमा धेर विचार गरेर अवत बोलेर हिँडे तर ।। 

 

 

(आमाका कविता सुनेर कपिमा उतारीदिने बहीनी शकुन्तला घिमिरेलाई धन्यवाद)

Comments

  1. आमा लाई सुन्न नपाएपनि अनुभव गरेकि थिए प्रातस्मरणिय आमा प्रति सम्मान

    ReplyDelete

Post a Comment

Popular posts from this blog

बाढी, वर्ग र बजार

यसपाली पोखरा जाँदा

क्या बद्नामी भो !