ओली-प्रचण्ड सहकार्य र पुनर्गठनका दबाब
▶ Listen News 0:00 0:30 गत वर्षको भदौ २४ का घटनापछि राजनीतिको मूल प्रवाहबाट नेपाली कांग्रेस र नेपालका कम्युनिस्ट पार्टीहरू किनारामा धकेलिए। उनीहरूले स्थापित गरेको राजनीतिक प्रणाली, व्यवस्थापन गरेको संविधान र लोकतन्त्रका आधारभूत मूल्यको टाउकोमा टेकेर आँधी झैं एउटा आन्दोलन उठ्यो र धेरै कुरा नेपथ्यमा थन्किन पुगे। यसमा कसका के-के कमजोरी थिए र कसले यसको उपयोग गरेको थियो भन्ने बारे अनेक कोणबाट चर्चा भइसकेका छन्। सरकारबाट एकैपटक ‘टुकुचामा गाड्न पठाइएको’ नेपाली कांग्रेसको युवा पुस्ताले त्यसका महामन्त्रीहरूकै नेतृत्वमा विद्रोह गर्यो र पार्टीलाई नयाँ चुनौती सामना गर्ने गरी पुनर्गठनको प्रयास गर्यो। त्यसले अझै आमजनताको विश्वास आर्जन गर्न सकेको छैन; आन्तरिक रूपमा पनि त्यो विवादको घनचक्करमा फनफनी घुमिरहेको छ। गत आमनिर्वाचनले उसलाई आफ्नो वास्तविक हैसियत देखाइदिएको छ। अनेक चुनौती र घुम्तीका बाबजुद त्यसले नेपाली राजनीतिको मध्यमार्गी धारका रूपमा आफ्नो अस्तित्व बचाउनेमा विश्वास गर्ने केही आधार छन्। उसको इतिहास, वर्ग आधार र वैचारिकीका कारणले पनि उदारवादी राजनीतिको लिगेसी उसैको पोल्टामा पर्छ। यद्यप...