त्यता के–के हुँदै छ, यता बाढी पसेर, फेरि हामी दुःखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरवार, चरी लैजा समाचार हामी भयौँ बेघरबार
आँधी र हुरी आउँछ कहिले पानी र असिना, हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना
सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार चरी लैजा समाचार… –संगीत श्रोता
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरवार, चरी लैजा समाचार हामी भयौँ बेघरबार
आँधी र हुरी आउँछ कहिले पानी र असिना, हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना
सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार चरी लैजा समाचार… –संगीत श्रोता
१) बाढीबाट गरिबमाथि हुने नकारात्मक प्रभाव र जोखिम न्यूनीकरण शीर्षकमा इयान वि बक्सको अध्ययनमा एसियाली विकास बैंकका लागि तयार पारिएको एउटा प्रतिवेदनले यसो भनेको रहेछ : अरूको तुलनामा गरिबहरू यस्ता बाढीबाट जीवन गुमाउनेदेखि लिएर अनेक ढंगले बढी नै प्रभावित हुन्छन् । बाढीको विनाशका कारण अरूले भन्दा गरिबले नै घर, भएको सम्पत्ति, वस्तुभाउ र जीविकोपार्जनका साधन गुमाउने सम्भावना बढी हुन्छ । बाढीको समयमा पानीबाट सर्ने रोगको सिकार हुने जोखिम पनि तिनैमा बढी हुन्छ । कहिलेकाहीँ त यस्तो बाढीको जोखिम मान्छेबाट सिर्जित कार्यले पनि हुन्छ या बाढी नियन्त्रणका उपाय असफल हुँदा पनि आइलाग्छ । तर, यस्ता बाढी व्यवस्थापन या नियन्त्रणका निर्णय प्रक्रियामा गरिबलाई सामेल गर्ने सम्भावना एकदम कम हुन्छ । बाढी नियन्त्रणबारे हुने निर्णय अधिकांश समुदायका धनीमानीले गर्छन्, खासगरी तिनीहरूले जसका आर्थिक कार्यकलापलाई बाढीले प्रभाव पार्न सक्छ ।
२) भूमि अधिकार आन्दोलनका एकजना अभियन्ता स्व. बलदेव रामप्रति श्रद्धाञ्जली व्यक्त गर्न २९ साउनमा भएको एउटा कार्यक्रममा बोल्दै किसान नेता तथा एमालेबाट प्रतिनिधिसभाका सांसद केशव बडालले बाढीमा गरिब नै बढी प्रभावित हुने चर्चा गरे । विगत झन्डै ४० वर्षदेखि भूमिहीन र किसानका पक्षमा काम गर्दै आएका बडालको भनाइ थियो, गरिब किसान नै यस्तो बाढीपहिरोको बढी जोखिममा हुन्छन् र तराईमा अहिले भइरहेको डुबानबाट पनि दलित, सीमान्तकृत र गरिब किसान र कृषि मजदुर परिवार बढी प्रभावित भएको हुनुपर्छ । सोही दिन तराईमा डुबान र बाढीले उग्र रूप देखाइरहेको थियो ।
३) पत्रकार गजेन्द्र बुढाथोकीले कारोबार दैनिकमा ३१ साउन, ०७३ मा प्रकाशित आफ्नो लेखमा बाढीको वर्ग प्रभावबारे यसो भनेका रहेछन्– भनिरहनु पर्दैन, प्राकृतिक प्रकोपको सबैभन्दा बढी प्रभाव गरिब र गरिबीको रेखा आसपासमा रहेका नागरिकमा पर्छ । प्रायः विपन्न परिवारको बसोवास नदी, खोलाकिनार आसपासमा हुने गरेको छ । नेपालको भूस्वामित्व र सम्पत्ति व्यवस्थापनका परम्परागत सोच व्यवहारका कारण ससानो अनुपातको भूमि हुने वा भूस्वामित्व नै नहुने कृषि श्रमिकको संख्या अत्यधिक छ । जो यस्ता प्रकोपबाट पहिले पीडित हुने गरेका छन् । एकपटक डुबान या बाढीमा परेर वासस्थान तथा गरिखाने खेतबारी कटान भइसकेपछि उनीहरूलाई पुनः स्थापित हुन नै लामो समय संघर्ष गर्नुपर्ने हुन्छ । दुई वर्षअघिका बर्दिया र दाङका बाढीपीडितको अझै पुनः स्थापना हुन नसक्नु यसको उदाहरण हो । उनले अहिले बाढीग्रस्त क्षेत्रका खासगरी सप्तरीका गाउँको गरिबीको स्थितिबारे केही तथ्यांक पनि पेस गरेका छन् ।
४) कैलालीदेखि झापासम्मका तराई र कतिपय भित्री मधेसका जिल्लामा पहिरो, बाढी र डुबानले उपध्रो मच्चाउँदै गर्दा मैले दोहो¥याएर संगीत श्रोताको गीत सुनेँ र त्यसमा सुर्खेतको एउटा स्थानीय टेलिभिजनका लागि तयार पारिएको र युट्युबमा निकै लोकप्रिय रहेको भिडियो हेरेँ । लोकगायक प्रेमदेव गिरीको टोलीले तीन वर्षपहिले मध्यपश्चिममा आएको बाढीप्रभावित क्षेत्रका आला दृश्यसहित खिचेको सो भिडियो सामग्री हेर्ने जोकोहीले देख्ने दृश्य हो, सीमान्तकृत किसान परिवार नै बाढीको चर्को मारमा परेका छन् । एकजना विधवा वृद्ध महिला प्रेमदेव गिरीको अँगालोमा छाँद हालेर रोइरहेकी छिन् र किसानको जीवन तहसनहस भएका दृश्यको अभिलेखन भएको छ ।
यी चारवटा प्रसंगसहित बाढी र डुबान क्षेत्रबाट आइरहेका दृश्य सामग्री, जसमा फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको कोसीमा बगाइएको कमल सदाको तस्बिर पनि सामेल छ, संगीत श्रोताको गीतका शब्द र त्यसमा प्रयोग गरिएको दृश्य, एडिबीको प्रतिवेदन, गजेन्द्र बुढाथोकी र केशव बडालको भनाइ सबैलाई मिलाएर हेर्दा आउने निष्कर्ष हो, बाढीका प्रभावको वर्ग चरित्र हुन्छ । बाढी सबैलाई आउँछ, तर त्यसले गरिब र धनीलाई पार्ने प्रभावको मात्रा भिन्न हुन्छ । अर्थात् बाढीको विनाशको स्तर जहिले पनि वर्गीय हुन्छ ।
बाढीले डुबानमा पर्ने त सहरबजारका ठूला घर पनि थिए, सरकारी कार्यालय र हाकिमका आवास पनि थिए, सेना र प्रहरीका ब्यारेक पनि थिए र थिए सरकार या व्यक्तिले बनाएका औद्योगिक, व्यापारिक या सेवा प्रदायक कारखाना या संरचना पनि । साथै डुबे गरिबका झुपडी पनि । यसमा अलिकति फरक अर्को पाटो पनि होला । किसानको वर्ग चरित्र र परम्परागत निर्वाहमुखी व्यवहारलाई सांस्कृतीकरण गरेर निरन्तरता दिई आनन्द लिइरहेका तराई देहातका धनी किसान परिवार पनि सामान्य खपडाका छाना र बाँसका टाटी लिपेर बनाएका भुइँतले घरमा बस्छन् र तिनको धानचाहिँ आँगनमा बेरीमा राखिएको हुन्छ । गाईवस्तु त सबैका गोठमा हुने नै भए । ती पनि डुबानमा पर्ने नै भए । यसलाई तुलना गरेर हेरौँ ।
तलो भएका पक्की घरवालाले भुइँतलाको सामग्री केही गुमाए पनि वास र गाँस गुमाउँदैनन् । पानीको सतह घट्नासाथ उनीहरू फेरि छिटै लयमा आउँछन् । तिनको कलमा पानी आउँछ । भएको बचतले आवश्यक व्यवस्थापन गर्न सक्छन् । विराटनगरमा बाढीपछि आएको सम्भावित स्वास्थ्य संकट न्युनीकरणार्थ सहयोग गर्न गएका वैज्ञानिक समीरमणि दीक्षितले आफू त्यहाँ एउटा धार्मिक रथयात्राको तामझाम देखेर अवाक् भएको भन्दै मंगलबार एउटा तस्बिर ट्विटरमा पोस्ट गरेका थिए । अर्थात् अघिल्लो दिनसम्म आएको बाढी र डुबानबाट यी रथायात्रावाला धनाढ्य अप्रभावित थिए ।
गरिबको तुलनामा धन र सम्पत्तिको नोक्सानी अवश्य पनि धनीकै बढी हुन्छ (यस सम्बन्धमा बिबिसीका पत्रकार ड्यानियल ल्याकले सुनामीका वेला दक्षिण भारतको समुद्री तटका गरिब माझीको जीवनमा परेको प्रभाव र अमेरिकामा केट्रिना आँधीले त्यहाँको मध्यम वर्गका परिवारमा पारेका प्रभावको बढो गजबको तुलनात्मक चित्र प्रस्तुत गरेको मैले कतै पढेको थिएँ) । भएको धान चामल कुहिन्छ, पशुचौपाया र पालेका कुखुरा मर्छन् । ओढ्ने–ओछ्याउने र खाने–पकाउने सामग्री नष्ट हुन्छन् । धनीका पनि होलान् गरिबका पनि । विनाशपछि कसैले केही पैसा या राहत नदिए पनि धनीले ऋण लिएर या आफ्नो बैंकको बचत प्रयोग गरेर या ऐंचोपैंचो गरेर आफ्नो जीवन फेरि लयमा फर्काउँछन् । तर, राहत पाएनन् भने गरिबका लागि त्यो जीवनको दयालाग्दो लय फर्काउन पनि असम्भव हुन्छ । उनीहरूलाई कसैले ऋण दिँदैनन् । ज्यालामा काम पनि तत्काल पाउन असम्भव हुन्छ । पाएको ज्यालाले बिहान–बेलुका खान मात्र व्यवस्था होला । बस्ने ठाउँ नहुँदा, ओढ्ने र ओछ्याउने नहुँदा, सफा पानी खान नपाउँदा, मलमूत्र व्यवस्थापन राम्रोसँग गर्न नसक्दा महामारी र रोगको सम्भावना यिनै गरिबलाई हुन्छ । तिनलाई पुरानो लयमा फर्कन वर्षौं लाग्छ ।
बाढीले अपवादबाहेक सम्पन्न परिवारका सदस्य बगाउने या मृत्यु हुने गर्दैन । बर्दियामा बबईको बाढी पसेर डुबानमा परेका बस्तीका चित्र होऊन् या राप्तीले डुबाएका मानिसका बस्ती जताततै कोलाहल र बिचल्ली छ त गरिबको । चितवनको सौराहामा पुँजीपति या मध्यम वर्गका व्यवसायीका होटेल र त्यहाँ जाने मध्यम वर्गीय स्वदेशी विदेशी पर्यटक पनि बाढीमा फसेका थिए । तिनको पनि धनमाल नोक्सान भयो । तर, तिनको जीवन समाप्त भएको होइन, भोलि के खाने र सन्तानलाई कहाँ सुताउने या सुत्केरीलाई कसरी तातोमा राख्ने भन्ने समस्या आएको होइन ।
उही पानीको चोट गरिबलाई थाप्लोमा पर्छ, धनीको गोडा भिजाएर जान्छ । गरिबको जीवन र सपना बगाउँछ, धनीको एकाध कार र केही जुत्ता बगाउँछ । बाढीको एउटा कारण मानिएको छ, दक्षिण सीमापारि भारतले बनाएका बाँधलाई । यहाँ पनि शक्ति सम्बन्धको गन्ध आउँछ नै । शक्तिशाली भारतले कमजोर देखेर नेपालीलाई हेप्दै सीमामा बाँध बनायो । हामी होचाका मुखमा बाढी पस्यो ।
२८ साउनमा भृकुटी मण्डपको एउटा चियापसलमा भेट भएका युवाकवि हेमन यात्री बिहानै इटहरीस्थित आफ्नो घरमा खोलोसहितको बाढी पसेर तहसनहस पारेको भन्दै चिन्तित थिए । उनी आफ्नो घरमा बाढी पस्नुको मुख्य कारण बजार या प्लटिङ व्यवसायीका मनपरी हुन् भन्दै थिए । गहिरिएर हेर्यो भने बाढी र बजारको सम्बन्ध पनि टड्कारो देखिन्छ ।
बजारले राज्यको संरक्षणमा शक्ति प्रयोग गर्दै खोलाका सीमा खुम्च्याएको छ । अनेकवली संरचना बनाएको छ, जसले प्राकृतिक रूपले हुने जलप्रवाहलाई अवरोध पुर्याउँछ र खोला किनारका बस्तीमा बाढी पस्छ । अहिले मधेसमा जुन आकारमा डुबान र बाढी आउने गरेको छ, त्यसका लागि चुरेमा गरिएको दोहन मुख्य रूपमा जिम्मेवार छ भनिएको छ, जसलाई जलवायु परिवर्तनले पनि थप जटिल बनाएको छ । पछिल्लो समय चुरेबाट उत्पत्ति भएका खोलानदीमा बजार प्रवेश गरेको छ र गिटी बालुवाको उत्खनन गरेर प्राकृतिक संकट निम्त्याएको छ । यसमा बजार कति शक्तिशाली रूपमा प्रवेश गरेको छ भन्ने त केही वर्षपहिले उत्तर–दक्षिण सडक ध्वस्त पार्ने गरी कुद्ने टिपर अमलेखगन्जनजिक तस्करले प्रहरीसँग दोहोरो गोली हानाहान गरी प्रहरीलाई मारेको घटनाले प्रमाणित गर्छन । उत्खनन, प्लटिङ, अवैज्ञानिक संरचनाको निर्माण अझै जारी छ ।
बजारको दिल हुँदैन, अरूलाई प्रेम गर्ने । यो भावुक हुँदैन र अन्तमा आफूलाई बाहेक कसैलाई दया गर्दैन । यसरी हेर्दा बाढी वर्ग र बजारका अनेक तन्तु जोडिन्छन् र जहिले पनि दुःखमा पर्ने, बेघरबार हुने, मुटुकलेजा खाइनेचाहिँ सीमान्तकृत परिवार नै हुन्छन् । भनिरहनु परोइन, राज्य धनीको हो, सम्पन्नको हो र गरिबलाई पनि कहिलेकाहीँ दया गर्दै आएको छ । के यो अवस्थामाथि हस्तक्षेप गर्ने वेला भएन ?
नयाँ पत्रिका, काठमाडौं | भदौ ०१, २०७४
No comments:
Post a Comment