१६० किमिलाई १२ घण्टा

“यात्रामा निस्केपछि सोचेजस्तो मात्र हुन्न हेर्नुस है, जे जस्तो पनि पर्न सक्छ । हामीले पनि यस्तो ढिलो होला भन्ने सोचेको होईनौ । काठमाण्डौबाट १२ बजे फर्कने गरि यात्रुको टिकट काटिसकेको छ । के गर्नुंन्च यहिँ दुई बजिसक्यो ।” सेतो कटनको क्याजुअल कोट, जिन्सको पाईन्ट, चट्ट परेको कपाल र लोभलाग्दा दारी भएको ३० बर्ष नपुगेको कल्सौंदो कण्डक्टर एकजना अजासु यात्रुलाई सम्झाउँदै थियो । यात्रुसंग सम्वाद गर्ने उसको भद्र तरिका मलाई यसै यसै मनपरिरहेको थियो । काठमाण्डौ दिउसै पुग्ने सम्भावना सकिए पछि मैले आफुलाई जति ढिलो पुगे पनि हुने गरि मानसीक रुपमा तयार पारेको थिएँ । यसो गर्नु मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्ने अनुभव यो फुलेको कपालसंगै बढ्दै गएकोले पनि मन शान्त थियो । विहान बसपार्कमा केहि ठोसपदार्थ पनि उदरस्थ गरेकोले १२ बजुञ्जेल पेट पनि शान्त थियो ।
विहान ६ बजे चितवनको क्यान्सर गेट (१ नम्वर गेट) बाट यात्रु लिएर हिडेको बस पारस बसपार्क हुँदै पोखरा बसपार्क गएर आधा घण्टा रोकिएको थियो । सतन्चुली यातायात सेवाको ना अ ख  .........नम्वरको यो बस सात बजेर १० मिनटमा मात्र त्यहाँबाट मुग्लीङका हुँदै काठमाण्डौ जान हिँड्यो । १० बजे देखि ४ बजेसम्म बन्द हुने मुग्लीङ नारायणगढ खण्ड कमसेकम १० नबज्दै कटियोस र दिउसो नै केहि काम भ्याउने गरि काठमाण्डौ पुगियोस भनेर विहान पौने ६ बजे नै म बस लाग्ने ठाउँ पुगेको थिएँ । यसका लागि पौने चार बजे नै उठेर नुहाई धुवाई गरिवरी भाउजुले दिएको चिया पिएको थिएँ र बुद्धि दाईले मोवाईकमा त्यहाँ पुर्याइदिनु भएको थियो । अर्थात मेरो विहान पौने पाँच बजे सुरु भएको थियो तर बसको यात्रा भने जिवनमा कुनै हतार नभएको पेन्सनर या ज्युनिमा बसेका वृद्धवृद्धाको जस्तो थियो एक मिनट चल्थ्यो र १० मिनेट रोकिन्थ्यो ।
यात्रामा अपरिचित मानिसहरुका विच रहनुको पनि आफ्नै फाईदा छन । तर बसमा एकजना यस्ता आधा दिमाग भरिएका सन्त थिए जसको चर्को विद्वता छचल्किएर छ्याप्न थालेपछि निदाउन त के झकाउन पनि समय पाईएको होईन । रामनाथ पौडेल नाम (कण्डक्टरले टिकटमा हेरेर उनको नाम यहि बताएको थियो किन भने निज पौडेलले आफ्नो परिचय दिन अस्विकार गरेका थिए) गरेका लामा दाह्री पालेका महात्मा दावि गर्ने तिनले हिमालयमा मानिसको पहिलो पुर्खाको उत्पती भएदेखि अहिलेसम्मको ईतिवृत्त लगाउँदै आफुले पढ्नु पर्ने र जान्नु पर्ने जति सबै जानिसकेको अब पढ्नु आवस्यक नरहेको बताईरहँदा कण्डक्टरले उनलाई चिना हराएको मान्छे र महको म पढे नपढेको सोधेको थियो । उनी साक्षात गणेशका पिता शंकरलाई यहि जीवनमा भेटिसकेको र आफुले परमात्मा प्राप्त गरिसकेको पनि बताउँदै थिए । मोदीसंग एकपटक भेट गर्न पाए नारायणी नदिमा बाँध बाँधेर नहर निकाल्ने अनुमति लिएर आउँथे पनि भन्दै थिए । गोरो अनुहारका र भोर्लेटार या दमौली उत्तर मादि किनारका कुनै गाउँका वासीन्दाको लवज निकाल्ने यी बाजे १४ बर्ष पछि पहिलो पटक काठमाण्डौ जान लागेको भन्दै आफुले बनवास पुरा गरेको पनि बताउन भ्याउँथे । बसभर उनको बोलीको एकछत्र राज थियो ।
थोरै कण्डक्टर यस्ता भेटिन्छन जो यात्रुलाई रमाईलो होस भन्नेमा पनि सचेत रहन्छन र सम्मानपूर्वक व्यबहार गर्छन । यो ठिटो त्यस्तै मध्यको एक थियो । उ पौडेलका कुरा सुनेर उनको प्रशंसा पनि गरिरहको थियो ।
नारायणगढबाट हिडेको पौने ६ घण्टामा बसले मग्लिङ प्रवेश गर्यो । जाम सकियो । फिस्लिङ्को मुस्कान होटल एण्ड हुक्काबारमा पुगेर खाना खान रोकियो । दिगमिग लाग्ने नभएपनि खाना कुनै स्वादको थिएन । कुपन प्रथाबाट पहिले पैसा भुक्तान गरेर खानुपर्ने । भोकले झुत्ति खेलीसकेकोले मैले ३०० रुपैंयामा लोकल कुखुराको झोल मासु सहितको सेट खरिद गरें । चाम्रो र छिप्पिएको साग, कुरुम कुरुम गर्ने काउलीको ग्रेभि तरकारी र मसलाले छोपेर प्यारेण्ट्स कुखुरालाई लोकल बनाइएको मासु । जेन तेन पेट शान्त पारियो । र बस चढियो । महात्मा बाहिर सुन्तला खाँदै थियो । बस चढे पछि काठमाण्डौमा कुरी रहेकी छोरीलाई फोनमा बनस्थलीमा आफु ओर्लेपछि खबर गरौंला । यता कुत्ताहरुले १० बज्नु अघि जाम हुँदैन भनेर ढाँटेकोले ढिलो भयो भन्दै चर्को आवाजमा कुरा गर्दै थियो । उ बसको चालकले किन अरु गाडीलाई ओभरटेक गरिरहेको छैन भन्दै गालि गर्न पनि भ्याउँथ्यो । आफुले परमात्मा भेटेको भन्दै आफ्नी पत्नीले १२ बर्षको कठोर मौनव्रत बसेकी थिईन भनेर सुनाउँदै थियो ।......................
( जव पछि पुरा गरौंला भनेको संस्मरणको विषय भुलिन्छ अनि यस्तो हुँदो रहेछ ? दुईबर्ष पहिले लेखेको यो संस्मरणको बाँकी अंस के हुनसक्थ्यो भन्ने बारे अहिले कुनै अनुमान गर्न सकिएन )

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

यसपाली पोखरा जाँदा