थिन्ले ल्होन्डुप ः एउटा विम्व नेपालको


मैले कहिल्यै थिन्लेलाई भेटिन । नजिकबाट एकाधपटक देखेको थिएँ । न चिन जान भयो न भेटघाट । न म डोल्पा नै गएको छु न विश्व प्रसिद्ध सुन्दर ताल से फोक्सुण्डो पुगेको छु । त्यहाँ नपुगेपछि त्यतातिरको विकटताका बारेमा प्रत्यक्षमा जान्ने कुरा पनि भएन । मैले त्यो ईलाकाको वारेमा विस्तारमा पढेको चैं डा. हर्क गुरुङ्को पुस्तकमा हो । र देखेको चैं क्याराभान सिनेमा हेर्दाको पर्दामा । त्यसैले होला मलाई अलिअलि डर चैं यो पनि लागिरहेछ कि थिन्लेवारे लेख्न वस्दा म यस विषयलाई न्याय गर्न सक्छु या सक्दिन । यसै साता मात्र एउटा दुर्घटनामा परेर थिन्लेको मृत्यु भयो ।
थिन्ले मरेर गएपनि उनका स्मृतीहरु नेपालमा लामो समय जीवीत रहने छन् । उनका चिनारु र सङ्गतीयाहरुले उनका बारेमा लेख्ने हो, लेखेका पनि छन् । उनीसंग एउटा गितमा अभिनय गरेका नेपथ्य व्याण्डका गायक अमृत गुरुङले राम्रो अविच्युरी लेखेका छन् । उनको मृत्युले मलाई लेख्न सकसक लागेको छ ः उत्तर आधुनिक सञ्चार र न्यारेशनबाट बनाईएको एउटा मिथ जस्तो थिन्ले वास्तवीक थिन्लेको मृत्यु मर्यो ।
चर्चित फ्रेन्च सिने निर्देशक एरिक भ्यालीले नेपालको कर्णालीका जिल्लामा बसोबास गर्ने तीव्वतीय मुलका भोटेहरुको जीवनमा आधारित सिनेमा हिमालयन क्याराभान बनाएपछि नै हिमालका काखहरुमा असाध्य कष्टकर जीवनका घाम छायाँबाट निस्केर थिन्ले एकाएक विश्वभर एउटा विम्व बनेर छाएका हुन । उक्त सिनेमाले  नायकको भूमिकामा अभिनय गरेका थिन्ले र उनको गाउँ तथा त्यहाका वासिन्दाको दैनीकीलाई आधार बनाएर हिमाल आरपार हुने व्यापारको हजारौं बर्ष पुरानो नेपाली कथा भनेको छ । केहि केहि मात्रामा अझै बाँकीरहेको क्याराभान अर्थतन्त्रले अहिलेको नेपालको डोल्पोहरुको कथा त भन्छ नै त्यसमाथि नेपाली समाजको वृहत्तर फलकमा जाड क्षेत्रमा बसोवास गर्ने खास जातिको जीवन संस्कृती, समाज र अर्थतन्त्रका अनेक पाटाहरु पनि केलाउँछ । चलचित्रमा देखाईएको थियो त्यहाँको बोन सम्प्रदायका मानिसहरुका मर्दापर्दाका संस्कारहरु पनि ।
हिमालय श्रृखलाको काखका रुखासुखा भिराला पाखामा थिन्लेको गाउँ छ । तिव्वती संस्कृती अनुरुप झण्डै जोडिएका घरहरु छन् । हिमालको चीसोबाट जोगिने आफ्नै परम्परामा बसाईएका ती गाउँमा खेतीपाती कम छ । जीवीकाका लागि पुरुषहरु बालि थन्क्याएपछि चौंरी, च्याङ्ग्रा या घोडालिएर तिव्वत जान्छन् र नुन लगायतका सामाग्री बोकाएर नेपाल आउँछन् । यता पहाड र तराईसम्म झरेर तीनै सामाग्रीसंग अन्न साट्छन र जीवीका गर्छन । यो ट्रान्सहिमालयन साल्ट रुट भारत नेपाल र तिब्बतका विच शताब्दीयौं अघिदेखि रहि आएको हो ।
भ्यालीले सिनेमा बनाउने बेलासम्ममा भएका राजनीतिक घटनाक्रमले यो व्यापारलाई निकै कमजोर बनाएको थियो । खासगरि तिव्वतमा चीनको शासनको थालनी र दलाई लामाको पलायन पछि उत्पन्न भूराजनीतिक जटिलताको मारमा परेर उक्त व्यापार नराम्रोसंग थला पर्यो । खेतीपाती एकदम कम हुने पशुपालन गर्ने र हिउँदमा वेसीतिर झर्ने बर्षामा मात्र गाउँमा बस्न सक्ने एकप्रकारको नोम्याडिक कल्चर भएको यो समुदायको अर्थतन्त्रलाई तिव्वतको राजनीतिक घटनाक्रमले ध्वस्त पार्यो । यता काठमाण्डौ या शहरबाट उहिलेका पहाडे हिन्दुहरुको विहेमा दुलहीले जग्गेमा माड घुम्दा समय लगाएझैं अत्यन्त धिमा गतिमा सर्दै गरेको विकास अझैपनि पहाड छिचोलेर दुनैसम्म प्रवेश गरेको छैन । थिन्ले र उनी बस्ने गाउँका नागरिकहरुको जीवनमा समस्याहरु घटेका छैनन् ।
हाम्रा आर्थिक तथा सामाजीक विकास या मानव विकास प्रतिवेदन र तथ्याँकहरु केलाउनै पर्दैन थिन्लेको जीवन कठिन भएको बुझ्न । अहिले पनि सात सात दिन सम्म हिँडेर मात्र जुफाल या दुनैबाट पुग्न सकिने उनको गाउँ । शिक्षा, स्वास्थ्य सेवा, सञ्चार लगायतका कुराबाट बञ्चित छ । हिँउदमा मानिसहरु बस्न नसक्ने गरि हिउँ पर्छ । बर्षा याममा एक खेतीमात्र थन्क्याउन पाईन्छ । त्यहि पनि सिंचाई भएको जमिन कम छ । र संसारको त्यति सुन्दर से फोक्सुण्डो ताल नजिकका मानिसहरुको जीवन त्यति नै कष्टप्रद छ ।
एउटा घोडा से फोक्सुण्डो माथिको अप्ठेरोगरि खपिएको बाटोमा हिन्दै गर्दा त्यो अत्यन्त मनमोहक तालमा खसेर मरेको दृष्य छ क्यारभान सिनेमाको अन्ततिर । त्यो वास्तवमा घोडा होईन त्यहाँका मानिसहरुको जीवन र मृत्युको कन्ट्राष्ट देखाउन सफल दृष्य छ । हेर्दाहेदै म झसंग पो भएको थिएँ । त्यसको सिनेमाटोग्राफि पनि एकदम राम्रो र शक्तिशाली प्रभाव सिर्जना गर्ने खालको छ । कस्तो भयानक प्याराडक्सले बाँच्नुपर्छ जीवन पनि । हाम्रो जीवनका वास्तविकता जस्तै । यता थिन्ले पनि अन्ततः त्यस्तै गरि साँघुरो बाटोमा खच्चडले उनी चढिरहेको घोडालाई धक्का दिदा भिरबाट खसे । उनको घोडा त्यहिँ मर्यो र उनीपनि केहि समय पछि त्यहि चोटले मरे गएको साता । मानिसहरुको जीवन केहि हदसम्म आफ्नो योजनामा चल्छ तर मृत्युको योजना बुन्न सकिन्न ।
चलचित्र क्याराभान ७२ औं एकेडमी अवार्डमा ओस्कर समारोहका लागि विदेशी भाषाको राम्रो फिल्म भनेर प्रवेश पाएपछि थिन्लेको एउटा गजवको तस्विर विश्वभर छरियो । थेप्चो नाक र चेप्टो अनुहारमा चिम्सा आँखा । खुम्चिएको निधार, झुस्स परेका तिलचामले दारी जुँघा । आफ्नै कपाल बेरेको डोरीले बाँधेको जस्तो देखिने कानेटोपी र तिव्वती लामाहरुले लगाउने लामो रातो रातो रंगको गाउन बेरेजस्तो स्थानीय भेषभुषाका थिन्लेले नेपालको भिन्न अनुहार विश्व सामु चिनाए । कहाँ राजा विरेन्द्र या उनकी पत्नीका तस्विरहरु, कताका विश्वेस्वरप्रसाद कोईराला या कृष्णप्रसाद भट्टराई या मदन भण्डारी, कताका प्रचण्ड या कुनै समयका महाराज जंगबहादुर अथवा क्यापमा क्रस खुकुरी टल्काएका गोर्खा अथवा पासाङ ल्हामु या मनिषा कोईरालाको तस्विरले चिनाउने नेपालको छविसंग अभ्यस्त  रिडरहरुलाई थिन्लेको तस्विरले भिन्न रुपमा नेपाल चिनाउँथ्यो । पशुपति या स्वयंम्भु या तिनशहरका दरवार स्क्वायरहरु अथवा लुम्विनी र सगरमाथा आरोहिले चिनाउने नेपाल भन्दा हरेक ढंगले भिन्न पहिरन, जीवन र संस्कृती सहित थिन्लेले नेपालको नयाँ विम्व देखाएका थिए विश्वमा । उनको त्यो छविलाई एरिक भ्यालीले अत्याधुनिक सिनेमाटोग्राफी, निर्देशकीय कला र कथा बाचन मार्फत एउटा ग्य्राण्ड न्यारेशनको रुप दिए जसले नेपालका अनेक कथा भन्थ्यो ।
थिन्ले समान्य मानिस थिए र गाउँका अगुवा पनि  । उनी गाविस अध्यक्षसम्म भएका थिए । आफ्नो संस्मराणत्मक आलेखमा अमृत गुरुङ भन्छन् थिन्ले गाउँमा मोटर बाटो आएको देख्न नपाई मरिने भो, आफ्ना गाउँका दुःख यस्तै रहने भए भनेर निकै पिरोलिएका थिए । अर्थात थिन्लेको जीवन एकातिर संसारभरका लागि नेपालको हिमालय सिमावारपारको व्यापार र जीवन चिनाउने विम्व बन्यो र प्रेक्ष्यालयहरुमा मानिसहरुले उनको अभिनय हेरे र ताली दिए, सहानुभुति देखाए । एरिक भ्यालीले उनलाई युरोपसम्म घुमाए र ओखतीमुलो गरिदिए तर उनको मृत्यु त्यहि विकटतामा बाँच्नका लागि संघर्ष गर्दागर्दै र परिवर्तनका सपना देख्दा देख्दै वित्यो । जीवनको यो भयानक त्रासदी थिन्लेले व्यहोरे र थिन्लेहरुले अझै लामो समय व्यहोर्नुपर्ने छ ।
मलाई थिन्ले नेपालको स्थापित पहिचानको विनिर्माण गरेर बनेको नयाँ पहिचान जस्तो लाग्छन् । उनको जीवन, उनको भाषा, उनको संस्कृती र धर्म तथा उनका सपनाहरु शासकीय वृत्तबाट टाढा र वेवास्तामा पर्नाले, तीनको जाति विशेषको सत्तासम्मको पहुँच कम हुनाले उनीसंगै उनका गाउँवासीहरुको निकै हुर्मत भयो । सामान्य र न्युनतम भन्दा कम सुविधा सहितको अस्पतालबाट हिन्दा सात दिन लाग्ने ठाउँमा कुनै मानिस ठुलो दुर्घटनामा पर्दा या अस्पताल जानै पर्ने रोग लाग्दा के दशा हुन्छ त्यो ठिन्लेको गाउँका बासिन्दालाई भन्दा बढि कसलाई थाह होला ? आफ्नो भाषामा सरकारी अड्डा अदालतमा काम नहुँदा, आफ्ना सन्तानहरुले आधुनिक शिक्षा नपाउँदा, सम्पूर्ण जीवन चरा या पशुले झैं आहारा र आवासको व्यबस्थापनमा विताउँदा हुने पिडा त्यहिँकालाई मात्र थाह हुन्छ । थिन्ले त्यो दुःखका एउटा विम्व थिए जो अस्ताए । तर उनको विम्वले हामीलाई त्यता फर्कन वाध्य पारिरहला भन्ने म आशा गर्छु । के थिन्लेको विम्वबाट त्यताको विकासका अर्थ राजनीतिक समस्याको पाटो बुझ्न सहयोग पुगे जस्तै त्यसको समाधानको राजनीतिक उपाय पत्ता लगाउन हाम्रा शासकीय वृत्तका मानिसहरु घोरिएलान ? उनीप्रति श्रद्धाञ्जली ।
Nayapatrika, 28 april, 2016

Comments

Popular posts from this blog

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’

पृथ्वीनारायण कलेजका दिनहरु ! Our College day's. Struggle against Monarchy.