सहयात्राका उकाली ओरालीमा कृष्ण थापा
पृथ्वीनारायण क्याम्पसलाई आधार बनाएर हुर्केका तत्कालीन मालेका कार्यकर्ताहरूमध्येका एकजना नेता कमरेड कृष्ण थापाको फागुन २८ गते हृदयाघातका कारण असामयिक निधन भयो । उनी मेरा सहकर्मी समकालीनहरूमध्येका एकजना थिए । यसअघि उक्त पुस्ताका रामनाथ ढकाल, रवीन्द्र अधिकारी र आनन्द सुवेदी अल्पायुमै बितेका थिए । मित्र मानबहादुर जिसी ब्रेन ह्यामरेज र पक्षघातको सिकार भएर जीवन घिसारिरहेका छन् । अरू सीमित संख्यामा राजनीतिका सिँढी चढेर लाभ लिएकाहरू छन् । बाँकी कोही कता कोही कता जीजीविषाले तानेर छरिएका छन् । लगभग साठी कटेको यो पुस्ता आफूले बिताएका युवा वयका दिनहरू सम्झेर के कस्तो ठानी बस्तो हो भनेर जान्ने रहर पालिबसेको छु । हरेक व्यक्तिसँग संवाद गर्न नसकिने । एक थापा थिए कहिले कहिले पुराना साथीहरूको पुनर्मिलन गरौँ भन्थे उनी पनि बिदा भए ।
कृष्ण थापा राजनीतिमा हाम फालेदेखि नै कहिल्यै निष्क्रिय भएनन् । झन्डै ४७ वर्ष निरन्तर कम्युनिस्ट पार्टी र आन्दोलनमा सक्रिय रहेर पार्टीकै काम गरिरहेको समयमा पार्टी अफिसमै बस्दा बस्दै मृत्यु हुनुले बताउँछ उनको राजनीतिका जीवन सफल भयो । यस्तो अनुभव धेरैले गर्न पाउँदैनन् । यद्यपि यो हाम्रालागि र कास्कीको एमालेका लागि एउटा दुःख र अपूरणीय क्षतिको कुरा हो । यहाँ म उनीसँगका केही सम्झनाहरू अभिलिखित गर्न गइरहेको छु ।
मैले कृष्ण थापालाई कहिले भेटेँ भन्ने कुनै खास तिथिमिति सम्झना छैन । ठ्याक्कै मिति नसम्झे पनि २०३६÷३७ सालतिरको कुरा हुनुपर्छ । उनको घर संगठनका साथीहरू जतिबेला मनलाग्छ त्यतिबेला जम्मा हुने सेल्टर थियो । उमेर पाक्दै गरेकी आमा हुनुहुन्थ्यो । दुःखजिलो गरेर आफ्ना सन्तानहरू हुर्काइरहनुभएको । बाटुलेचौरको गन्धर्व टोलसँगै उत्तरतिर फर्केको सेपिलो गल्लीको मुखैमा एउटा सानो झुपडीजस्तो घर थियो । भाइ मोहन र बहिनी भर्खर स्कुल पढ्दै थिए । बहिनी अलि लजालु र कम खुल्ने खालकी मायालाग्दी सानी नानी थिइन् ।
कृष्ण थापा सुर्खेत पुगेर सीएमए पढेर फर्केपछि २०४० सालको जिल्ला सम्मेलनबाट हामी एउटै जिल्ला कमिटीमा बसेर काम गर्न थाल्यौँ । म अध्यक्ष थिएँ । उनी सदस्य । उनी पार्ट टाइमवाला जागिर पनि गर्दै थिए । गण्डकी अस्पतालको अगाडि एउटा फार्मेसीमा निश्चित समय काम गर्ने र बाँकी समय संगठनमा सक्रिय हुने । केही न केही कमाइ नगरी नहुने पारिवारिक स्थिति थियो । उनी साइकल चढेर बाटुलेचौर रामघाट ओहोर दोहोर गर्थे । संगठनको काममा पनि सक्रिय रहन्थे । म उनको साइकलको क्यारियरमा बसेर तालबाराही, बाराही, बाटुलेचौर र हेमजासम्मका विद्यालय पुगेको छु । अर्थात् विद्यालयस्तरका काम गर्न हामी सँगै जान्थ्यौँ ।
उनी स्वास्थ्यको राम्रो ख्याल राख्थे । सफा हुनुपर्ने । खानपिनमा पनि स्वास्थ्यको चासो राख्ने । उनी सुर्खेतमा अध्ययन गर्दा भेट भएकी (त्यस्तै लाग्छ) डिकी छिरिङसँग प्रेममा थिए । नेपाली र तिब्बती आमाबुवाकी सन्तान डिकी गोरखा मकैसिङको स्वास्थ्यचौकीमा कार्यरत हुनुहुन्थ्यो । थापा कहिलेकाहीँ भेट्न पुगिरहन्थे ।
गीत रचना गर्ने र गाउनेमा पनि उनको रुचि थियो । वैचारिक अध्ययनमा पटक्कै रुचि राख्दैनथे । लो प्रेसर थियो या के समस्या थियो प्रायः बैठकमा निदाउँथे । अलि चञ्चल स्वभाव थियो । इतिहास र माक्र्सवादी साहित्यको ज्ञान थोरै भए पनि सम्भवतः आफ्नो हुर्काइको वर्गीय आधारका कारण पनि वर्ग सचेत थिए, यस्तो चेतना पनि वर्गोत्थान भएसँगै बदलिने नै भयो । उनकी आमा हंसपुर स्याकलुङतिरकी गुरुङसेनी बाबु बाटुलेचौरका थापा क्षेत्री । उनको अनुहारमा त्यसको मिश्रण झल्किन्थ्यो । आमा असक्त हुनु पहिलेदेखि नै पारिवारिक भूमिका निर्वाह गर्नुपर्ने थापाले भाइ मोहन र बहिनीको हुर्काइको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
२०४२ भदौमा म बीए दोस्रो वर्षको परीक्षाको तयारी गरिरहेको थिएँ । अनेरास्ववियु कास्कीको छैटौँ जिल्ला अधिवेशन आयोजना गर्ने समय आएको थियो । म परीक्षापछि पारिवारिक जिम्मेवारीका कारण घर फर्केर शिक्षक हुने सोचाइमा थिएँ । त्यही भएर पनि मैले २०४१ फागुनमा भएको स्ववियु निर्वाचनमा उम्मेदवार हुन अस्वीकार गरेको थिएँ । थापा सदस्यमा निर्वाचित भएका थिए । पार्टी मलाई गोरखाको कुनै विद्यालयमा पुगेर शिक्षक बन्ने र गोरखाको पार्टी काम अघि बढाउने गरी तयार हुन भनिरहेको थियो । म त्यसमा राजी थिइनँ । यस्तैमा पार्टी नेतृत्व भने सदस्यता लिन अस्वीकार गरेको निम्न पुँजीवादी चरित्रको, अराजक हुँदै गएको, पार्टीका विषयमा पनि ठट्टा गर्ने भन्दै मलाई जानकारी नदिईकनै जिम्मेवारी मुक्त गर्ने निर्णयमा पुगेको रहेछ । पार्टीको नेतृत्व गर्थे कमरेड जीवराज आश्रित, त्रिलोचन ढकाल र शारदा सुवेदी ।
यस्तैमा पोखराबाट पश्चिमोत्तरतिर पर्ने एउटा गाउँमा अनेरास्ववियुको एउटा भेला आयोजना गरियो । अनेरास्ववियुको जिल्ला कमिटीको अध्यक्ष, क्षेत्रीय कमिटीको पदाधिकारी रहेको र नगर युवा लिग (वाईएल) को अध्यक्ष समेत रहेको मलाई भने उक्त भेलाबारे जानकारी दिइएन (म जानकार त थिएँ तर औपचारिक खबर थिएन) ।
भेलाले जिल्ला कमिटीका सदस्य थापालाई संयोजक बनाएर जिल्ला सम्मेलन आयोजक कमिटी गर्ने निर्णय गरेछ । यस्तो निर्णय प्रायः पार्टीले गरेर कार्यान्वयन गर्ने चलन थियो ।
भेलाबाट फर्केपछि केन्द्रीय कमिटीका सदस्य रहेका गणेश तिमिल्सिनाले मसँग भने ’आज दिउँसो कार्यकर्ता भेला आयोजना गरिएको छ । कृष्ण थापालाई संयोजक बनाउने प्रस्ताव तैंले राखिदिनुपर्छ ।’
मलाई थाहा भयो पार्टीले मलाई कारबाही गरिसकेको छ । त्यो पनि मलाई भनिएन, कहिल्यै भनिएन । मैले गणेशलाई आफ्नो मनका कुरा कत्ति खोलिनँ । ’तपाईं केन्द्रीय सदस्यले पो यस्तो प्रस्ताव राख्नु उपयुक्त हुन्छ । मलाई नलगाउनुस् न यस्तो महत्त्वपूर्ण जिम्मेवारीको काम त केन्द्रीय सदस्यले पूरा गर्नु राम्रो हुन्छ’ भनेर कन्भिन्स गरेँ । यसरी उक्त दिन क्याम्पसको ’ल’ भवनमा कुनै कोठामा आयोजित भेलाबाट कृष्ण थापाले म पछि अखिल कास्कीको नेतृत्व गर्न पुगे । यो पनि मलाई थाहा थियो कि मलाई हटाउनुमा कृष्ण थापाको कुनै भूमिका थिएन । हटाएकोमा मलाई कुनै चिन्ता पनि थिएन ।
त्यसको पाँच महिना नपुग्दै म सैमराङको राष्ट्रज्योति निमाविमा शिक्षकका रूपमा काम गर्न थालिसकेको थिएँ । पार्टीले राष्ट्रिय पंचायतको निर्वाचन उपयोगको नीति लिएको थियो । एकदिन कमरेड शिव पौडेल पार्टी नेता कुशलको पत्र लिएर विद्यालयमा नै पुग्यो । पत्रमा मलाई पार्टीको निर्वाचन उपयोगको नीति र मैले गर्नुपर्ने कामबारे विस्तारमा लेखेर पठाइएको थियो ।
केही दिनमा जिल्लास्तरीय प्रचार समिति बन्यो । म पनि त्यसको सचिवालयमा सामेल गराइएँ । यसरी मेरो कारबाहीलाई पार्टीको आवश्यकताले जित्यो र म पार्टी काममा पहिलेजस्तै सक्रिय हुनथालेँ । कृष्ण थापा र म एउटै समितिमा बसेर फेरि सक्रिय भइहालियो । सोमनाथ प्यासी उम्मेदवार बन्नुभएको थियो । सबैको सक्रियताले वहाँलाई जिताएर पठाउन सम्भव भयो ।
एक वर्ष नपुग्दै उनी जेल परे र सम्भवतः दुई वर्षपछि छुटे । त्यतिबेलासम्म पृथ्वीनारायण क्याम्पसमा अपहरण काण्ड भइसकेको थियो । विद्यार्थी नेताहरू तुलबहादुर गुरुङ, रामनाथ ढकाल र विजय गुरुङ अपहरणमा परेका थिए । लक्ष्मी कार्की उपचारका लागि भारततिर जानुभएको बेला थियो । क्याम्पसमा नेतृत्वको अभाव भयो भन्दै फेरि पार्टीले एकजना भूमिगत नेता शिव सुवेदीहस्ते पत्र पठाएर मलाई बोलायो । म एमए भर्ना भएँ र ब्याकसाइडमा बसेर विद्यार्थी संगठनमा सक्रिय भइहालेँ ।
नियति केही फरक थियो सायद । पार्टीले भूमिगत पठाउने चाहना राखेको भए पनि नवौँ सम्मेलनले प्रतिनिधि नै नभएको मलाई अनेरास्ववियुको केन्द्रीय सदस्य बनायो । लगत्तै म क्याम्पस स्ववियुको सभापति पनि निर्वाचित भएँ । यसबीचमा जेलबाट छुटेपछि थापाले बिहे गर्नुभयो । राति सीमित मानिसहरूका बीच आयोजित विवाहमा हामी सामेल भएका थियौँ । बाटुलेचौर प्रवेश गर्ने बेलाको बाटो मुनि वहाँको भाउजूको घरमा ।
२०४७ भदौमा बाटुलेचौरमा नै पार्टीको पहिलो जिल्ला अधिवेशन आयोजना गरियो, झन्डै अर्धभूमिगत जस्तो । त्यस अगाडि जेठमा जिल्ला कमिटी बनेको थियो । अधिवेशन पछि थापा पनि जिल्ला कमिटीमा सदस्य बन्नुभयो । फेरि हामी सँगै काम गर्न थाल्यौँ । २०४९ मा उपमेयर उठेर पराजित हुनुभएको कृष्ण थापालाई २०५४ मा मेयरमा उम्मेदवार बनाइयो । म पार्टीका कुनै कमिटीमा पनि थिइनँ, एकप्रकारले आउटसाइडर भइसकेको थिएँ । तर मेयरमा थापालाई उठाउने त्यतिबेला साथीहरूले निकै पापड बेलेका थिए जसको लबिइङ र षड्यन्त्रहरूमा म पनि सामेल थिएँ ।
वामदेव गौतमको महाकाली सन्धि विरोधी समूहमा हुनेहरूको जिल्लामा बहुमत थियो, सायद किरण गुरुङ इन्चार्ज हुनुहुन्थ्यो । रातारात पार्टी कार्यालयको ढोका फोडेर माइन्युट निकालेर काठमाडौँ पुर्याएपछि मात्र थापाले टिकट पाउनुभएको थियो । पार्टी विभाजित भइसकेको थिएन ।
२०५४ फागुन २१ मा पार्टी विभाजित भयो । कास्कीमा पनि जिल्ला सभापति पुण्य पौडेल, पोखरा उपमहानगरपालिकाका मेयर थापा, उपमेयर मानबहादुर गुरुङ, लेखनाथका मेयर शालिग्राम पौडेल र रामराज रेग्मीहरूको नेतृत्वमा जिल्ला कमिटी विभाजित भयो । नयाँ कमिटी बनाउनुपर्ने दबाब थियो । राधाकृष्ण मैनाली मलाई सम्झाउन फकाउन घरमै आइरहनुहुन्थ्यो ।
मलाई पार्टीमा सक्रिय हुने न कुनै रुचि थियो न आर्थिक रूपले सहज अवस्था । बेरोजगारीले निम्त्याउने निम्छरो जीवन बिताइरहेको थिएँ । उता पार्टीका लाइकमाइन्डेड साथीहरू, खासगरी कास्कीको अनेरास्ववियु पंक्ति मलाई जबर्जस्त तान्न खोजिरहेका थिए । रवीन्द्र अधिकारीको पनि दबाब थियो, पार्टी केन्द्रमा केही निकटकामित्रहरू पुगेका थिए । पुष्पज्योति ढुंगाना, सुधीर पौडेल, दिलीपविक्रम शाही, जीवन अधिकारी लगायत साथीहरू कोठामा आएर दबाब दिइरहन्थे ।
जिल्ला कमिटी बनाउने भेला आयोजना गर्ने दिनमा म र शिव बिहानै निस्केर बेगनास तालतिर बरालिन गयौँ । साँझ फर्कँदा त हामीलाई समेत राखेर जिल्ला कमिटी गठन भएछ । लामो समय पदाधिकारी बनाउन अप्ठ्यारो परेपछि मैले सचिव बन्न सहमति जनाएँ । त्यतिबेला जिल्लामा सचिव नै पार्टी प्रमुख रहन्थ्यो ।
यसरी फेरि कृष्ण थापासँग एउटै कमिटीमा काम गर्न थालियो । तर पार्टी गठनको केही महिनापछि नै थापाले जिम्मेवारीबाट पन्छिने, अफिसमा नआउने गर्न थाले । बिस्तारै फेरि उनी एमालेमा फर्के ।
चार वर्षपछि एमालेको सातौँ महाधिवेशन जनकपुरमा आयोजना गरिँदै थियो । मैले त्यतिबेला माधव नेपालभन्दा ओली पो पार्टीका लागि योग्य हुन् कि भन्ने सोचेको थिएँ । महाधिवेशन प्रतिनिधि बन्न काठमाडौंबाटै उम्मेदवारी पठाएर पोखरा गएँ । आफैँले बनाएको पार्टीको नयाँ टिम र मतदाताका रूपमा आएका पार्टी सदस्यहरू देखेपछि मलाई व्यर्थै आएछु जस्तो लाग्यो । आफ्नो मत दिएर पोखरातिर लागेँ ।
साँझ कृष्ण थापाको घरमा बास बस्न पुगियो । उनको मेयरको पदावधि सकिएको थियो । डिकी अमेरिकातिर । मोहन बेलायततिर । बहिनी बिहे गरेर आफ्नै दुःखसुखतिर । छोरो प्रतीक सायद गण्डकी बोर्डिङतिर थियो । घरमा कृष्णजी एक्लै भएजस्तो लाग्छ । साँझ आधा गिलास वाइन ल्याएर दिए । त्यही पिएर म सुत्न गएँ । बिहानमात्रै थाहा भयो प्रतिनिधिमा थापा त चुनिए म भने शालिग्राम पौडेलसँग एक मतले पराजित भएछु । प्रतिनिधि हुने अवसर मिलेन । बडो टाउको हलुंगो भयो । आफ्नै गलत निर्णयबाट फस्न लागेको थिएँ, अब उम्केँ भन्ने लाग्यो । म भोलिपल्टै काठमाडौँ फर्केँ ।
त्यसयता भने उनको र मेरो बीच खासै संवाद हुँदैनथ्यो । भेट हुँदा हाइहेलो मात्र । रवीन्द्र अधिकारीको मृत्युपछिको उपनिर्वाचनका बेला बाटुलेचौरसम्म म पनि पुगेको थिएँ । थापाकै सक्रियतामा बनेको पोखरा कोमागाने अस्पतालमा उनैले लिएर गए । अस्पतालका विषयमा कुराकानी भए । बाटुलेचौरको राजनीतिक अवस्थाका बारेमा थोरै विमर्श पनि ।
थापाजीसँग २०५५ पछि खासै सहकार्य भएन । उनी पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भए । प्रदेश सभा सदस्य भए । २०७९ को निर्वाचनमा फेरि मेयरमा उठे र पराजित भए । तर राजनीतिमा सक्रियता भने छाडेनन् । यसपालि चुनावको टिकट त पहिले उनैलाई दिने निर्णय भएको थियो । पछि जिल्लादेखि केन्द्रसम्मको गुट राजनीतिको शिकार भए ।
यसपटकको निर्वाचन अगाडि पोखरामा एउटा सन्ध्याकालीन जमघटमा कृष्णजीसँग अन्तिम पटक भेट भयो । मेयर धनराज आचार्य, पुष्पज्योति ढुंगाना, पत्रकारहरू दीपेन्द्र र रामकृष्ण, पार्टीका नगर अध्यक्ष जीवन आचार्य लगायतका साथीहरू संयोगले भेट भए । लामो समयपछि उनी मसँग अलि खुलेर कुरा गर्ने अवसर खोजिरहेका थिए । एकछिन हामी बात मार्यौँ । चुनावपछि बसेर अलि लामो भलाकुसारी गर्ने भनेर छुट्टिएका थियौँ । फेरि फोन भेट नहुँदै उनको मृत्यु भयो ।
उनी वैचारिक नेता होइनन्, तर सक्रिय कार्यकर्ता हुन् । महानगर प्रमुख भएको समयमा केही आलोचना पनि हुन्थे । महत्त्वाकांक्षी पनि थिए ।
मलाई लाग्छ उनी पार्टीको चरित्र अनुरूप बदलिँदै गए । जहिलेसम्म पार्टी क्रान्तिकारी थियो तहिलेसम्म उनी पनि क्रान्तिकारी थिए । जेल जान, जोखिम उठाएर पार्टीको काम गर्न, पार्टीलाई आर्थिक योगदान गर्न, संगठन बनाउन सक्रिय रहे । जहिलेदेखि पार्टीमा पदका लागि जे सुकै पनि गर्ने संस्कृति हावी भयो उनी पनि त्यसलाई अंगिकार गरेर त्यस्तै बन्दै गए ।
उनी पार्टीप्रति सधैँ निष्ठावान रहे । अवसरहरू खोजिरहे । पाइरहे । अगाडि बढिरहे । यसले उनलाई केही अलोकप्रिय पनि बनायो । अलिकति आफूलाई अनुकूल पर्दा क्षेत्रीवादी पनि भइदिन्छन् भनेर पछिल्लो समय उनको कुरा काटेको सुनेको थिएँ ।
पहिले बोल्ने अनि सोच्ने गर्थे । मनमा लागेको कुरा रोकेर राख्नै नसक्ने प्याच्च बोल्ने बानी थियो ।
अप्ठ्यारो समयमा पोखरामा कम्युनिस्ट पार्टी बनाउन, जनतालाई संगठित गर्न उनले महत्त्वपूर्ण योगदान गरेका थिए । पोखराको कम्युनिस्ट आन्दोलनले उनको यो गुनको सम्झना गरिरहनुपर्छ, सम्मान गरिरहनुपर्छ ।
उनै कमरेड कृष्ण थापाप्रति हार्दिक श्रद्धाञ्जली ।
डिकीजी, छोरा प्रतीक, भाइ मोहन र बहिनी समेत परिवारजनमा हार्दिक समवेदना ।
दुःख सुखको एउटा साथी गुम्यो । तर बाटुले चौर जाँदा कोमागाने अस्पतालबाट माथि लाग्नेबित्तिकै देव्रेतिर अनायास ढल्कने मुन्टोले आफ्नो बानी कहिल्यै छाड्नेछैन ।
अलबिदा कृष्णजी ।
SAMADHAN NEWS pokhara.
Comments
Post a Comment