सहयात्राका उकाली ओरालीमा कृष्ण थापा


Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button



पृथ्वीनारायण क्याम्पसलाई आधार बनाएर हुर्केका तत्कालीन मालेका कार्यकर्ताहरूमध्येका एकजना नेता कमरेड कृष्ण थापाको फागुन २८ गते हृदयाघातका कारण असामयिक निधन भयो । उनी मेरा सहकर्मी समकालीनहरूमध्येका एकजना थिए । यसअघि उक्त पुस्ताका रामनाथ ढकाल, रवीन्द्र अधिकारी र आनन्द सुवेदी अल्पायुमै बितेका थिए । मित्र मानबहादुर जिसी ब्रेन ह्यामरेज र पक्षघातको सिकार भएर जीवन घिसारिरहेका छन् । अरू सीमित संख्यामा राजनीतिका सिँढी चढेर लाभ लिएकाहरू छन् । बाँकी कोही कता कोही कता जीजीविषाले तानेर छरिएका छन् । लगभग साठी कटेको यो पुस्ता आफूले बिताएका युवा वयका दिनहरू सम्झेर के कस्तो ठानी बस्तो हो भनेर जान्ने रहर पालिबसेको छु । हरेक व्यक्तिसँग संवाद गर्न नसकिने । एक थापा थिए कहिले कहिले पुराना साथीहरूको पुनर्मिलन गरौँ भन्थे उनी पनि बिदा भए ।

कृष्ण थापा राजनीतिमा हाम फालेदेखि नै कहिल्यै निष्क्रिय भएनन् । झन्डै ४७ वर्ष निरन्तर कम्युनिस्ट पार्टी र आन्दोलनमा सक्रिय रहेर पार्टीकै काम गरिरहेको समयमा पार्टी अफिसमै बस्दा बस्दै मृत्यु हुनुले बताउँछ उनको राजनीतिका जीवन सफल भयो । यस्तो अनुभव धेरैले गर्न पाउँदैनन् । यद्यपि यो हाम्रालागि र कास्कीको एमालेका लागि एउटा दुःख र अपूरणीय क्षतिको कुरा हो । यहाँ म उनीसँगका केही सम्झनाहरू अभिलिखित गर्न गइरहेको छु ।


मैले कृष्ण थापालाई कहिले भेटेँ भन्ने कुनै खास तिथिमिति सम्झना छैन । ठ्याक्कै मिति नसम्झे पनि २०३६÷३७ सालतिरको कुरा हुनुपर्छ । उनको घर संगठनका साथीहरू जतिबेला मनलाग्छ त्यतिबेला जम्मा हुने सेल्टर थियो । उमेर पाक्दै गरेकी आमा हुनुहुन्थ्यो । दुःखजिलो गरेर आफ्ना सन्तानहरू हुर्काइरहनुभएको । बाटुलेचौरको गन्धर्व टोलसँगै उत्तरतिर फर्केको सेपिलो गल्लीको मुखैमा एउटा सानो झुपडीजस्तो घर थियो । भाइ मोहन र बहिनी भर्खर स्कुल पढ्दै थिए । बहिनी अलि लजालु र कम खुल्ने खालकी मायालाग्दी सानी नानी थिइन् ।



कृष्ण थापा सुर्खेत पुगेर सीएमए पढेर फर्केपछि २०४० सालको जिल्ला सम्मेलनबाट हामी एउटै जिल्ला कमिटीमा बसेर काम गर्न थाल्यौँ । म अध्यक्ष थिएँ । उनी सदस्य । उनी पार्ट टाइमवाला जागिर पनि गर्दै थिए । गण्डकी अस्पतालको अगाडि एउटा फार्मेसीमा निश्चित समय काम गर्ने र बाँकी समय संगठनमा सक्रिय हुने । केही न केही कमाइ नगरी नहुने पारिवारिक स्थिति थियो । उनी साइकल चढेर बाटुलेचौर रामघाट ओहोर दोहोर गर्थे । संगठनको काममा पनि सक्रिय रहन्थे । म उनको साइकलको क्यारियरमा बसेर तालबाराही, बाराही, बाटुलेचौर र हेमजासम्मका विद्यालय पुगेको छु । अर्थात् विद्यालयस्तरका काम गर्न हामी सँगै जान्थ्यौँ ।


उनी स्वास्थ्यको राम्रो ख्याल राख्थे । सफा हुनुपर्ने । खानपिनमा पनि स्वास्थ्यको चासो राख्ने । उनी सुर्खेतमा अध्ययन गर्दा भेट भएकी (त्यस्तै लाग्छ) डिकी छिरिङसँग प्रेममा थिए । नेपाली र तिब्बती आमाबुवाकी सन्तान डिकी गोरखा मकैसिङको स्वास्थ्यचौकीमा कार्यरत हुनुहुन्थ्यो । थापा कहिलेकाहीँ भेट्न पुगिरहन्थे ।


गीत रचना गर्ने र गाउनेमा पनि उनको रुचि थियो । वैचारिक अध्ययनमा पटक्कै रुचि राख्दैनथे । लो प्रेसर थियो या के समस्या थियो प्रायः बैठकमा निदाउँथे । अलि चञ्चल स्वभाव थियो । इतिहास र माक्र्सवादी साहित्यको ज्ञान थोरै भए पनि सम्भवतः आफ्नो हुर्काइको वर्गीय आधारका कारण पनि वर्ग सचेत थिए, यस्तो चेतना पनि वर्गोत्थान भएसँगै बदलिने नै भयो । उनकी आमा हंसपुर स्याकलुङतिरकी गुरुङसेनी बाबु बाटुलेचौरका थापा क्षेत्री । उनको अनुहारमा त्यसको मिश्रण झल्किन्थ्यो । आमा असक्त हुनु पहिलेदेखि नै पारिवारिक भूमिका निर्वाह गर्नुपर्ने थापाले भाइ मोहन र बहिनीको हुर्काइको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

२०४२ भदौमा म बीए दोस्रो वर्षको परीक्षाको तयारी गरिरहेको थिएँ । अनेरास्ववियु कास्कीको छैटौँ जिल्ला अधिवेशन आयोजना गर्ने समय आएको थियो । म परीक्षापछि पारिवारिक जिम्मेवारीका कारण घर फर्केर शिक्षक हुने सोचाइमा थिएँ । त्यही भएर पनि मैले २०४१ फागुनमा भएको स्ववियु निर्वाचनमा उम्मेदवार हुन अस्वीकार गरेको थिएँ । थापा सदस्यमा निर्वाचित भएका थिए । पार्टी मलाई गोरखाको कुनै विद्यालयमा पुगेर शिक्षक बन्ने र गोरखाको पार्टी काम अघि बढाउने गरी तयार हुन भनिरहेको थियो । म त्यसमा राजी थिइनँ । यस्तैमा पार्टी नेतृत्व भने सदस्यता लिन अस्वीकार गरेको निम्न पुँजीवादी चरित्रको, अराजक हुँदै गएको, पार्टीका विषयमा पनि ठट्टा गर्ने भन्दै मलाई जानकारी नदिईकनै जिम्मेवारी मुक्त गर्ने निर्णयमा पुगेको रहेछ । पार्टीको नेतृत्व गर्थे कमरेड जीवराज आश्रित, त्रिलोचन ढकाल र शारदा सुवेदी ।

यस्तैमा पोखराबाट पश्चिमोत्तरतिर पर्ने एउटा गाउँमा अनेरास्ववियुको एउटा भेला आयोजना गरियो । अनेरास्ववियुको जिल्ला कमिटीको अध्यक्ष, क्षेत्रीय कमिटीको पदाधिकारी रहेको र नगर युवा लिग (वाईएल) को अध्यक्ष समेत रहेको मलाई भने उक्त भेलाबारे जानकारी दिइएन (म जानकार त थिएँ तर औपचारिक खबर थिएन) ।


भेलाले जिल्ला कमिटीका सदस्य थापालाई संयोजक बनाएर जिल्ला सम्मेलन आयोजक कमिटी गर्ने निर्णय गरेछ । यस्तो निर्णय प्रायः पार्टीले गरेर कार्यान्वयन गर्ने चलन थियो ।


भेलाबाट फर्केपछि केन्द्रीय कमिटीका सदस्य रहेका गणेश तिमिल्सिनाले मसँग भने ’आज दिउँसो कार्यकर्ता भेला आयोजना गरिएको छ । कृष्ण थापालाई संयोजक बनाउने प्रस्ताव तैंले राखिदिनुपर्छ ।’


मलाई थाहा भयो पार्टीले मलाई कारबाही गरिसकेको छ । त्यो पनि मलाई भनिएन, कहिल्यै भनिएन । मैले गणेशलाई आफ्नो मनका कुरा कत्ति खोलिनँ । ’तपाईं केन्द्रीय सदस्यले पो यस्तो प्रस्ताव राख्नु उपयुक्त हुन्छ । मलाई नलगाउनुस् न यस्तो महत्त्वपूर्ण जिम्मेवारीको काम त केन्द्रीय सदस्यले पूरा गर्नु राम्रो हुन्छ’ भनेर कन्भिन्स गरेँ । यसरी उक्त दिन क्याम्पसको ’ल’ भवनमा कुनै कोठामा आयोजित भेलाबाट कृष्ण थापाले म पछि अखिल कास्कीको नेतृत्व गर्न पुगे । यो पनि मलाई थाहा थियो कि मलाई हटाउनुमा कृष्ण थापाको कुनै भूमिका थिएन । हटाएकोमा मलाई कुनै चिन्ता पनि थिएन ।


त्यसको पाँच महिना नपुग्दै म सैमराङको राष्ट्रज्योति निमाविमा शिक्षकका रूपमा काम गर्न थालिसकेको थिएँ । पार्टीले राष्ट्रिय पंचायतको निर्वाचन उपयोगको नीति लिएको थियो । एकदिन कमरेड शिव पौडेल पार्टी नेता कुशलको पत्र लिएर विद्यालयमा नै पुग्यो । पत्रमा मलाई पार्टीको निर्वाचन उपयोगको नीति र मैले गर्नुपर्ने कामबारे विस्तारमा लेखेर पठाइएको थियो ।

केही दिनमा जिल्लास्तरीय प्रचार समिति बन्यो । म पनि त्यसको सचिवालयमा सामेल गराइएँ । यसरी मेरो कारबाहीलाई पार्टीको आवश्यकताले जित्यो र म पार्टी काममा पहिलेजस्तै सक्रिय हुनथालेँ । कृष्ण थापा र म एउटै समितिमा बसेर फेरि सक्रिय भइहालियो । सोमनाथ प्यासी उम्मेदवार बन्नुभएको थियो । सबैको सक्रियताले वहाँलाई जिताएर पठाउन सम्भव भयो ।


एक वर्ष नपुग्दै उनी जेल परे र सम्भवतः दुई वर्षपछि छुटे । त्यतिबेलासम्म पृथ्वीनारायण क्याम्पसमा अपहरण काण्ड भइसकेको थियो । विद्यार्थी नेताहरू तुलबहादुर गुरुङ, रामनाथ ढकाल र विजय गुरुङ अपहरणमा परेका थिए । लक्ष्मी कार्की उपचारका लागि भारततिर जानुभएको बेला थियो । क्याम्पसमा नेतृत्वको अभाव भयो भन्दै फेरि पार्टीले एकजना भूमिगत नेता शिव सुवेदीहस्ते पत्र पठाएर मलाई बोलायो । म एमए भर्ना भएँ र ब्याकसाइडमा बसेर विद्यार्थी संगठनमा सक्रिय भइहालेँ ।


नियति केही फरक थियो सायद । पार्टीले भूमिगत पठाउने चाहना राखेको भए पनि नवौँ सम्मेलनले प्रतिनिधि नै नभएको मलाई अनेरास्ववियुको केन्द्रीय सदस्य बनायो । लगत्तै म क्याम्पस स्ववियुको सभापति पनि निर्वाचित भएँ । यसबीचमा जेलबाट छुटेपछि थापाले बिहे गर्नुभयो । राति सीमित मानिसहरूका बीच आयोजित विवाहमा हामी सामेल भएका थियौँ । बाटुलेचौर प्रवेश गर्ने बेलाको बाटो मुनि वहाँको भाउजूको घरमा ।


२०४७ भदौमा बाटुलेचौरमा नै पार्टीको पहिलो जिल्ला अधिवेशन आयोजना गरियो, झन्डै अर्धभूमिगत जस्तो । त्यस अगाडि जेठमा जिल्ला कमिटी बनेको थियो । अधिवेशन पछि थापा पनि जिल्ला कमिटीमा सदस्य बन्नुभयो । फेरि हामी सँगै काम गर्न थाल्यौँ । २०४९ मा उपमेयर उठेर पराजित हुनुभएको कृष्ण थापालाई २०५४ मा मेयरमा उम्मेदवार बनाइयो । म पार्टीका कुनै कमिटीमा पनि थिइनँ, एकप्रकारले आउटसाइडर भइसकेको थिएँ । तर मेयरमा थापालाई उठाउने त्यतिबेला साथीहरूले निकै पापड बेलेका थिए जसको लबिइङ र षड्यन्त्रहरूमा म पनि सामेल थिएँ ।

वामदेव गौतमको महाकाली सन्धि विरोधी समूहमा हुनेहरूको जिल्लामा बहुमत थियो, सायद किरण गुरुङ इन्चार्ज हुनुहुन्थ्यो । रातारात पार्टी कार्यालयको ढोका फोडेर माइन्युट निकालेर काठमाडौँ पुर्‍याएपछि मात्र थापाले टिकट पाउनुभएको थियो । पार्टी विभाजित भइसकेको थिएन ।


२०५४ फागुन २१ मा पार्टी विभाजित भयो । कास्कीमा पनि जिल्ला सभापति पुण्य पौडेल, पोखरा उपमहानगरपालिकाका मेयर थापा, उपमेयर मानबहादुर गुरुङ, लेखनाथका मेयर शालिग्राम पौडेल र रामराज रेग्मीहरूको नेतृत्वमा जिल्ला कमिटी विभाजित भयो । नयाँ कमिटी बनाउनुपर्ने दबाब थियो । राधाकृष्ण मैनाली मलाई सम्झाउन फकाउन घरमै आइरहनुहुन्थ्यो ।


मलाई पार्टीमा सक्रिय हुने न कुनै रुचि थियो न आर्थिक रूपले सहज अवस्था । बेरोजगारीले निम्त्याउने निम्छरो जीवन बिताइरहेको थिएँ । उता पार्टीका लाइकमाइन्डेड साथीहरू, खासगरी कास्कीको अनेरास्ववियु पंक्ति मलाई जबर्जस्त तान्न खोजिरहेका थिए । रवीन्द्र अधिकारीको पनि दबाब थियो, पार्टी केन्द्रमा केही निकटकामित्रहरू पुगेका थिए । पुष्पज्योति ढुंगाना, सुधीर पौडेल, दिलीपविक्रम शाही, जीवन अधिकारी लगायत साथीहरू कोठामा आएर दबाब दिइरहन्थे ।

जिल्ला कमिटी बनाउने भेला आयोजना गर्ने दिनमा म र शिव बिहानै निस्केर बेगनास तालतिर बरालिन गयौँ । साँझ फर्कँदा त हामीलाई समेत राखेर जिल्ला कमिटी गठन भएछ । लामो समय पदाधिकारी बनाउन अप्ठ्यारो परेपछि मैले सचिव बन्न सहमति जनाएँ । त्यतिबेला जिल्लामा सचिव नै पार्टी प्रमुख रहन्थ्यो ।


यसरी फेरि कृष्ण थापासँग एउटै कमिटीमा काम गर्न थालियो । तर पार्टी गठनको केही महिनापछि नै थापाले जिम्मेवारीबाट पन्छिने, अफिसमा नआउने गर्न थाले । बिस्तारै फेरि उनी एमालेमा फर्के ।


चार वर्षपछि एमालेको सातौँ महाधिवेशन जनकपुरमा आयोजना गरिँदै थियो । मैले त्यतिबेला माधव नेपालभन्दा ओली पो पार्टीका लागि योग्य हुन् कि भन्ने सोचेको थिएँ । महाधिवेशन प्रतिनिधि बन्न काठमाडौंबाटै उम्मेदवारी पठाएर पोखरा गएँ । आफैँले बनाएको पार्टीको नयाँ टिम र मतदाताका रूपमा आएका पार्टी सदस्यहरू देखेपछि मलाई व्यर्थै आएछु जस्तो लाग्यो । आफ्नो मत दिएर पोखरातिर लागेँ ।


साँझ कृष्ण थापाको घरमा बास बस्न पुगियो । उनको मेयरको पदावधि सकिएको थियो । डिकी अमेरिकातिर । मोहन बेलायततिर । बहिनी बिहे गरेर आफ्नै दुःखसुखतिर । छोरो प्रतीक सायद गण्डकी बोर्डिङतिर थियो । घरमा कृष्णजी एक्लै भएजस्तो लाग्छ । साँझ आधा गिलास वाइन ल्याएर दिए । त्यही पिएर म सुत्न गएँ । बिहानमात्रै थाहा भयो प्रतिनिधिमा थापा त चुनिए म भने शालिग्राम पौडेलसँग एक मतले पराजित भएछु । प्रतिनिधि हुने अवसर मिलेन । बडो टाउको हलुंगो भयो । आफ्नै गलत निर्णयबाट फस्न लागेको थिएँ, अब उम्केँ भन्ने लाग्यो । म भोलिपल्टै काठमाडौँ फर्केँ ।


त्यसयता भने उनको र मेरो बीच खासै संवाद हुँदैनथ्यो । भेट हुँदा हाइहेलो मात्र । रवीन्द्र अधिकारीको मृत्युपछिको उपनिर्वाचनका बेला बाटुलेचौरसम्म म पनि पुगेको थिएँ । थापाकै सक्रियतामा बनेको पोखरा कोमागाने अस्पतालमा उनैले लिएर गए । अस्पतालका विषयमा कुराकानी भए । बाटुलेचौरको राजनीतिक अवस्थाका बारेमा थोरै विमर्श पनि ।


थापाजीसँग २०५५ पछि खासै सहकार्य भएन । उनी पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भए । प्रदेश सभा सदस्य भए । २०७९ को निर्वाचनमा फेरि मेयरमा उठे र पराजित भए । तर राजनीतिमा सक्रियता भने छाडेनन् । यसपालि चुनावको टिकट त पहिले उनैलाई दिने निर्णय भएको थियो । पछि जिल्लादेखि केन्द्रसम्मको गुट राजनीतिको शिकार भए ।


यसपटकको निर्वाचन अगाडि पोखरामा एउटा सन्ध्याकालीन जमघटमा कृष्णजीसँग अन्तिम पटक भेट भयो । मेयर धनराज आचार्य, पुष्पज्योति ढुंगाना, पत्रकारहरू दीपेन्द्र र रामकृष्ण, पार्टीका नगर अध्यक्ष जीवन आचार्य लगायतका साथीहरू संयोगले भेट भए । लामो समयपछि उनी मसँग अलि खुलेर कुरा गर्ने अवसर खोजिरहेका थिए । एकछिन हामी बात मार्यौँ । चुनावपछि बसेर अलि लामो भलाकुसारी गर्ने भनेर छुट्टिएका थियौँ । फेरि फोन भेट नहुँदै उनको मृत्यु भयो ।


उनी वैचारिक नेता होइनन्, तर सक्रिय कार्यकर्ता हुन् । महानगर प्रमुख भएको समयमा केही आलोचना पनि हुन्थे । महत्त्वाकांक्षी पनि थिए ।


मलाई लाग्छ उनी पार्टीको चरित्र अनुरूप बदलिँदै गए । जहिलेसम्म पार्टी क्रान्तिकारी थियो तहिलेसम्म उनी पनि क्रान्तिकारी थिए । जेल जान, जोखिम उठाएर पार्टीको काम गर्न, पार्टीलाई आर्थिक योगदान गर्न, संगठन बनाउन सक्रिय रहे । जहिलेदेखि पार्टीमा पदका लागि जे सुकै पनि गर्ने संस्कृति हावी भयो उनी पनि त्यसलाई अंगिकार गरेर त्यस्तै बन्दै गए ।

उनी पार्टीप्रति सधैँ निष्ठावान रहे । अवसरहरू खोजिरहे । पाइरहे । अगाडि बढिरहे । यसले उनलाई केही अलोकप्रिय पनि बनायो । अलिकति आफूलाई अनुकूल पर्दा क्षेत्रीवादी पनि भइदिन्छन् भनेर पछिल्लो समय उनको कुरा काटेको सुनेको थिएँ ।
पहिले बोल्ने अनि सोच्ने गर्थे । मनमा लागेको कुरा रोकेर राख्नै नसक्ने प्याच्च बोल्ने बानी थियो ।


अप्ठ्यारो समयमा पोखरामा कम्युनिस्ट पार्टी बनाउन, जनतालाई संगठित गर्न उनले महत्त्वपूर्ण योगदान गरेका थिए । पोखराको कम्युनिस्ट आन्दोलनले उनको यो गुनको सम्झना गरिरहनुपर्छ, सम्मान गरिरहनुपर्छ ।


उनै कमरेड कृष्ण थापाप्रति हार्दिक श्रद्धाञ्जली ।


डिकीजी, छोरा प्रतीक, भाइ मोहन र बहिनी समेत परिवारजनमा हार्दिक समवेदना ।


दुःख सुखको एउटा साथी गुम्यो । तर बाटुले चौर जाँदा कोमागाने अस्पतालबाट माथि लाग्नेबित्तिकै देव्रेतिर अनायास ढल्कने मुन्टोले आफ्नो बानी कहिल्यै छाड्नेछैन ।


अलबिदा कृष्णजी ।

SAMADHAN NEWS pokhara.

Comments

Popular posts from this blog

खेर गएको एउटा लेख

‘जग्गा बाँडेर भूमिहीनको समस्या समाधान हुँदैन’