आइतबार अपराह्न । म आफैँभित्र उठिरहेको एउटा हुन्डरीबाट एकदम निराश भएर बसपार्कमा पुगेको थिएँ । मनभित्र आत्मग्लानि र अपमानबोधको एउटा भयानक छटपटी उम्लिरहेको थियो । बसपार्कको वातावरण यसैपनि डिप्रेसन निम्त्याउने खालको थियो । गाउँतिर जाने पहिलो बसमा ठेलमठेल भएर चढ्न सकिनँ । अर्को बस आयो । सहजै सिट मिल्यो र सबैभन्दा पछिल्लो सिटको एउटा कर्नरमा गएर बसेँ । साँझ पर्न नलाग्दै काठमाडौं धमिलो र चिसो बन्दै गएको थियो । बसपार्कमा साधन पर्खिरहेका मानिस र उपलब्ध बसका बीच निकै ठूलो ग्याप थियो । थानकोट जाने बसमा छतभर यात्रुहरू चढेर पनि अटाइरहेका थिएनन् । धक्कम धक्का र तँछाडमछाडले यात्रुहरू यात्रु कम प्रतिस्पर्धी बढी देखिन्थे । यस्तो लाग्थ्यो हरेक यात्रु त्यही बसमा चढ्न नपाए उसको जीवनमा ठूलै संकट आउनेछ ।
म बसेको मच्छेगाउँ जाने बसको पनि त्यही हालत थियो । धक्कामुक्का गर्दै केही यात्रु चढे । सदाझैँ यात्रु र बसको सहचालकबीच केही संवाद भए तितामिठा । बस अगाडि बढ्यो तर, त्रिपुरेश्वरबाट कालिमाटी निस्कन मात्रै पौनेघन्टा लाग्यो । बाटोको दुवैतिर रहेका केही पेट्रोलपम्पले तेल बाँड्ने भएकाले बस, कार, ट्याक्सी र मोटरसाइकलसहितका चारपांग्रे र दुईपांग्रेको लाइनले सामान्य यातायातलाई अवरोध पुर्याइरहेको थियो । मानिसहरू कहिले चालकलाई गाली गर्थे कहिले नाकाबन्दीलाई सराप हाल्थे । उभिनेहरूलाई उभिन नै कठिन थियो ।
कलंकी आएपछि केही मानिस झरे र त्योभन्दा बढी चढे । केही पछि मेरो सिट छेउमा एउटा पातलो स्कुले केटो आएर बस्यो । म झ्यालबाहिर बढ्दै गएको साँझ, गन्तव्यमा जान हतार गरिरहेका मानिस, नाकाबन्दीलाई बिर्साउने गाडीका लाम, हर्नको कर्कस ध्वनि र धुलोधुवाँले फैलाएको साम्राज्यका बीच मनपरी बाटो काटिरहेका पैदल यात्रुलाई हेर्दै थिएँ ।
यात्रु अट्ने ठाउँ नभए पनि बसको खलाँसी एकोहोरो कराइरहेको थियो ‘ओ..नैकाप.. सतुंगल.. मच्छेगाउँ.. । नैकाप… सतुंगल.. मच्छेगाउँ ..।’
बस सामान्यभन्दा निकै ढिलो गरी ढुंगेअड्डा पुग्यो । त्यहाँबाट उत्तरतर्फ देखिने बस्ती र केही मात्र खाली जमिनलाई हेर्दै मेरो छेउको स्कुले पोसाकको केटो केही बोल्यो । उसको भनाइ आफूतर्फ लक्षित नभएकाले सुनेको नसुन्यै गरेँ । तर, फेरि केटोले मतर्फ फर्कंदै तर आफैँसँग संवाद गरेझैँ भन्यो, ‘जमिन नै खाली रहेनछ । घरैघर ।’ उसको अनुहार निर्दोष तर जिज्ञासाले भरिएको गम्भीर देखिन्थ्यो । मैले आफ्नो आत्मालाप भंग गर्ने मनसायले केटातर्फ फर्केर भनेँ, ‘बाबु † यहाँ जग्गा दलाल आयो भने जमिन खाली–खाली मात्रै देख्छ र अरूले घरैघर । आ–आफ्नो हेराइ पो हो त ।’ उसले मेरो भनाइप्रति कुनै प्रतिक्रिया देखाएन । मेरो ध्यान खिचिएको देखेर उसले मैसँग सोध्यो, ‘यहाँको जमिन कठ्ठाको कति पर्छ होला ?’ सोधाइले थाहा हुन्थ्यो केटो मधेसतिरको हो । उसको जिज्ञासासँग एकछिन बहकिन मनलाग्यो ।
‘यहाँ कठ्ठामा बेच्दैनन् । यता त आनाको मूल्य हुन्छ । यो सडकछेउको जग्गालाई आनाको बीस–पच्चीस लाख भन्छन् होला ।’ अब ऊ र म सहयात्री भइसकेका थियौँ । मलाई त्यस केटाको जिज्ञासाको भोलापनले तानिरहेको थियो । यतातिर कुनै पनि स्कुले केटोकेटीले त्यस्तो जमिनको भाउको कुरा गरेको मैले सुनेको थिइनँ । मान्छेको विचारलाई उसको वर्ग र आर्थिक सामाजिक परिवेशले प्रभाव पार्छ । जस्तो परिवार र समाजमा हुक्र्यो, त्यसकै विचार र व्यवहारको पुनरुत्पादन न हो मान्छेको विचार पनि ।
हाम्रो संवाद अगाडि बढ्न थाल्यो ।
लौ, आनाको कुरा त मलाई थाहा नै छैन । एक कठ्ठामा कति आना हुन्छ होला ?
त्यस्तै ११ आनाजति हुन्छ होला । मलाई पनि ठ्याक्कै त थाह छैन है ।
त्यसो भए कठ्ठाको कति पर्यो त ?
त्यस्तै डेढ–दुई करोड ।
ओहो † त्यत्रो पो पर्छ हगि ?
हो परिहाल्छ त ।
हाम्रो तिर त कठ्ठाको दश लाखमा पाइन्छ
कहाँ हो र घर ?
चितवन…..नगर (उसको गोपनीयताका लागि म यहाँ नाम भन्न सक्दिनँ)
त्यति मोलमा के बाटो पुगेको ठाउँमा नै मिल्छ त ?
हो, मोहडा सडकतिर परेको घडेरीको जग्गालाई त्यति भन्छन् । केटो घरव्यवहारबारे निकै चासो राख्ने उमेरभन्दा पाकोजस्तो लाग्थ्यो ।
मेरो उत्सुकता सकिएको थिएन । उसले नैकापनिर आएपछि बाहिर हेर्यो र भन्यो अब सतुंगल आउँछ हैन त ? म त पहिलोपटक काठमाडांै आएको अस्ति मात्र । यताको बारेमा त्यति थाहा पनि छैन ।
किन आएको त काठमाडांै ?
‘आइएल्स’ दिन भनेर आएको । हिजो दिइयो । अब रिजल्ट कुर्ने हो ।
त्यसो भए तिमीले पनि लाहुर ताक्यौ हैन त यति सानै उमेरमा । आइएल्स दिएपछि अमेरिका पक्कै हैन, अस्ट्ेिरलिया ताक्यौ कि बेलायत ?
अस्ट्रिेलिया । दाइले बेल्जियमका लागि ट्राई गर्दै छ ।
के पढेको नि प्लस टुमा ?
म्यानेजमेन्ट पढेको ?
कहाँबाट ?
…नगरको स्कुलबाट । नजिकै छ । साइकलमा १५ मिनेटमा पुगिन्छ । स्कुल पनि त्यही बोर्डिङमा पढेको हो ।
कति प्रतिशत छ त माक्र्स ?
सेभेन्टी टु पर्सेन्ट छ । अलि कम भयो ।
माक्र्स त राम्रै हो तर तिमी ब्याचलरसम्म यतै पढेर गएको भए राम्रो हुन्थ्यो होला नि ? ब्याचलर पढ्न उतै जानेले त अलि दु:ख पाउँछन् भन्छन् । मैले उसलाई अलिकति करापेँ ।
‘हेर्नुस् बुबा, जीवनमा एकपटक संघर्ष गर्नैपर्छ । पछि गए पनि संघर्ष नगरी हुन्न । बरु अहिले नै गयो, संघर्ष गर्यो भने सजिलो हुन्छ एकोहोरो ।’ केटोमा आफ्नो भविष्यका बारेमा अनेक सपना र भय दुवै थियो तर ऊ सबै चुनौतीको सामना गर्न तम्तयार देखिन्थ्यो ।
बस नैकापमा केही थान यात्रु झारेर अगाडि बढ्यो । केटाका अनेक जिज्ञासा ऊ सहज रूपमा सोध्दै थियो । म उसको जीवनको भित्री पाटासम्म प्रवेश गरेर उसको परिवार, समाज र मनोविज्ञानबारे जान्न उत्सुक हुँदै गएँ । तिम्रो बाआमा के गर्नुहुन्छ नि ?
उसले यसपछि बेलिविस्तार लगायो । उसको बाबुले दोस्रो बिहे गरेर पहिली पत्नी अर्थात् केटाकी आमालाई छाडेको रहेछ । दुवैतिर दुईथान सन्तान रहेछन् । ‘बाबु त के बाबु भन्ने खराब छन् । अर्की आमा लिएर बसेका छन् । हामीलाई हेर्दैनन् । सबै जे–जति हामीलाई गर्नुभयो आमाले गर्नुभयो । बरु हजुरआमाले हाम्रो रेखदेख गर्नुभयो । बाबुको बाउको सम्पत्ति थिएन । सबै हजुरआमाको हो । हजुरआमाले अर्कीपट्टिकालाई पनि जमिन दिनुभयो हामीलाई पनि । १४ कठ्ठा जमिन छ । त्यतिले हामी पढियो भनौँ न ।’
केटो खुल्दै गयो । उसले एउटा पातलो स्वेटर र त्यसभित्र स्कुले कमिज लगाएको थियो । हिजो मात्र आइएल्स परीक्षा दिएको उसको रिजल्ट ३१ डिसेम्बरका लागि तोकिएको छ । उसको क्लासबाट ऊ र उसको एउटा साथीले मात्र सरासर प्लस टु पास गरेका छन् । उसको साथीले केही दिनपहिले नै आइएल्सको परीक्षा दिएको छ । उनीहरू दुवै अस्ट्रिेलिया जान चाहन्छन् । मैले चितवनका बारेमा केही जीज्ञासा राखेँ ।
उसका बाजे कास्कीको मेरो छिमेकी गाउँबाट बसाइँ सरेका रहेछन् । ऊ आफ्नो पुख्र्यौली गाउँमा एकपटक पुगेको रहेछ । अब पुगिन्न होला भन्दै थियो । ‘जान त मन लाग्छ नेपाल राम्ररी चिनेको पनि छैन । यता बसेर जिन्दगी राम्रो हुन्न । त्यही भएर विदेश जानै पर्यो नि ?’ उसका यस्तै तर्क थिए । आमालाई एक्लै छाड्ने त ? म उसलाई अप्ठेरोमा पार्छु । ‘हैन, सेटल भएपछि आमालाई लगिहालिन्छ नि †’ ऊ आत्मविश्वासका साथ भन्छ ।
काठमाडांैमा फुपूको घरमा बस्छ । फुपाजु काठमाडांैको कुनै सरकारी संस्थानमा काम गर्छन् । विशाल काठमाडांैमा ऊ पहिलोपटक आउँदा केही नर्भस भएको छ । ओठ निचोरे आमाको दुधको गन्ध आउलाजस्तो उक्त केटोमा आफ्नो भविष्य यो देशमा छैन भन्ने विश्वास भरिएको छ र अस्ट्रिेलियाको सपना पालेको छ ।
‘अब भोलि पशुपतिनाथको दर्शन गरेर घर जान्छु । बैंक ब्यालेन्स देखाउने सबै कागज प्रमाण तयार पारेर राख्नु छ । के गर्ने सजिलो कहाँ छ र ? बैंकमा पैसा भएको प्रमाण जुटाउन पैसा नै चाहिन्छ । अब त्यता लागिहाल्नुपर्छ ।’ ऊ मसँग हो कि आफैँसँग हो जस्तो गरी संवाद गरिरहेको छ ।
‘चितवनमा त यताभन्दा जाडो पो छ त यतिवेला । घाम राम्रो लाग्दैन । बिहान त चिसोले रुझाउँछ भन्या । दिनमा पनि घाम मधुरो लाग्छ । यता त घाम डाँडाले छेकेर होला छिटो अस्ताउँदो रहेछ ।’ ऊ मेरो छेउमा बसेर आफ्नो सुरमा बोलिरहेको छ । उसलाई आफ्नै ‘लोकालिटी’बारे समेत धेरै थाहा छैन । आफ्नी हजुरआमाप्रति ऊ कृतज्ञ छ । ‘हजुरआमा अहिले ७४ वर्षको हुनुभो । तैपनि दरी हुनुहुन्छ । कति लामो बाटो सजिलै हिँड्नुहुन्छ । हामीलाई बरु साइकल चाहिन्छ, आमालाई चाहिन्न ।’ बाबुप्रतिको घृणा घरीघरी व्यक्त गर्छ ।
‘यता बसभाडा भने सस्तो रहेछ । जता गए पनि २० रुपैयाँमा पुर्याउँदो रहेछ । उता त हाम्रो गाउँबाट नारायणगढ जम्मा १० किलोमिटर छ भाडा भने ३० रुपैयाँ ठटाउँछ ।’ पहिलोपटक काठमाडौं आएको ऊ देश चिन्न आफूले चिनेको दुनियाँसँग यता देखेको दुनियाँको तुलना गर्छ । घरीघरी भन्छ, अहिले बिदेसिए पनि पछि जीवन बिताउने त आफ्नै देशमा हो । अर्काको मुलुकमा के हुने हो कसो हुने हो ?
ऊ जीवनका समस्या र जटिलताबारे मात्र सचेत छैन, आफ्नो भविष्य संघर्ष गरेर पनि राम्रो बनाउनेमा पूर्ण कटिबद्ध छ । उसको उत्साह नेपालमा नै केही गर्नसक्ने आत्मविश्वासमा नबदलुन्जेल हाम्रो देश कसरी राम्रो होला र ? म ०३६ सालमा देश बदल्न देखेका सपना र त्यसयताका यात्रा सम्झन्छु । यो केटो मेरो छोरोभन्दा कम्तीमा चार वर्ष कान्छो छ तर उही पुस्ताको हो । यतिका वर्षमा राजनीतिले देशलाई, यो नयाँ पुस्तालाई के सपना देखाउन सक्यो ? यो कल्पनाले मलाई आफ्नो यात्राप्रति निराशा उत्पन्न गराउँछ । अहिलेको राजनीति र तिनका पात्र तथा नीति निर्माण तहमा बस्नेहरूका दैनिक कार्यकलाप देखेर हैरान छु । भूकम्पपीडितहरूको पीडामा खेलिरहेका राजनीतिक दल, पीडितको कोटामा आफ्ना सन्तानको विदेश भ्रमण गराउने मन्त्री र नेताहरू, नाकाबन्दी र आमहडतालले देशका कलिला नानीको जीवन बरबाद गरेर सत्ता र शक्तिको मोलमोलाइ गरिरहेका आन्दोलनकारी र अल्पकालीन स्वार्थका लागि देशलाई बन्धक बनाइरहेका नेता र तिनको दलाली गर्ने बौद्धिकता देखेर बान्ता होलाजस्तो हुन्छ । यो केटो र केटाहरू, सोही उमेरका केटीहरू एउटै सपना देखिरहेछन् विदेशको । सक्नेले आइएल्स या टफेल दिएर बिदेसिने र नसक्नेहरू म्यानपावर कम्पनीमार्फत खाडी र मलेसिया ।
पौडेल थर भएको त्यो केटो आफ्नो ओर्लने ठाउँ आउनुपहिले नै सिटबाट उठ्छ र मतिर फर्केर भन्छ, ‘बुबा अब झर्छु है ।’
‘लौ बाबु अस्ट्रिेलिया गए पनि नगए पनि राम्रो गर्नू ।’ म अनायास एउटा मूर्ख बुढोझैँ अर्तीमा ओर्लन्छु र पछि आफैँ पछुताउँछु । म आफ्ना आन्तरिक पीडा एकछिन केटोसँगको संवादले बिर्सन पुग्छु । ऊ झरेर जान्छ, म आफ्नै पीडातिर फर्कन्छु ।
No comments:
Post a Comment