केही समययता नेपालमा निराशाका कुरा धेरै सुनिन थालेका छन्। के भनिँदै आएको छ भने मानिसहरू निराश छन्। नागरिक समाजका धेरै मानिस निराशाकै कुरा गरिरहेका सुनिन्छन्। श्रम आप्रवासनमा जान लागेकाहरूसँग कुरा गरेर पत्रकारहरू हामीसम्म ल्याउँछन्। निराशाकै कुरा सुनाएर सुकसुकाउँदै उनीहरू पनि बिदेसिन्छन्। सडक व्यापार गरेर जीविका धानिरहेकाहरू त्यसै भन्छन्। सञ्जालमा चिकित्सा क्षेत्रका जान्नेमान्ने नामहरू पनि निराशाको कुरा गरिरहेका भेटिन्छन्। राजनीति गरिहिँड्नेको ठूलो पंक्तिसँग व्यक्तिगत कुरा गरिहेर्नूस्—ऊ पनि निराशाकै कुरा गर्छ।
मेरो एउटा साथी छ। दुई वर्षपहिले संसद्मा टिकट पायो र निर्वाचित पनि भयो। अहिले हरेक पटक भेट हुँदा व्यक्तिगत रूपमा निराशाकै कुरा गरिरहेको सुन्छु। सबैजसो निराशाका कुरा गर्नेले पुराना राजनीतिक दल र त्यसको नेतृत्वलाई यो निराशाको ‘प्रमुख कारण’का रूपमा गाली गरिरहन्छन्। नाम लिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ धेरैजसो विरोधका मुख्य निशाना बनाइएका हुन्छन्। निराशाको कारणका रूपमा चाहिँ देशको शिक्षा क्षेत्र बिग्रेको, अर्थतन्त्र मन्दीमा गएको, रोजगारी सिर्जना नभएको, भएको रोजगारीले खान लाउन नपुगेको भन्ने नै हुन्छ। व्यवसाय गरिखाने वातावरण भएन भन्ने पनि हुन्छ। कृषिमा बसेर टिक्न सकिएन भन्ने सुनिन्छ। त्यत्रो खर्च गरेर नर्स/डाक्टर बन्यो, सरकारले तोकेको न्यूनतम मजदुरी पनि पाइँदैन भन्ने गुनासो सुनिन्छ। यी सबै कठिनाइ नेताहरूले उब्जाएका हुन् भन्ने आम बुझाइ छ। अर्थात्, निराशा त आर्थिक–सामाजिक कारणले भयो। यो आर्थिक–सामाजिक समस्याको जगमा चाहिँ राजनीतिक नेतृत्व रहेको आम बुझाइ छ।
दुःखी विगत, निराश वर्तमान
केही अनुभवबाट कुरा शुरू गरौँ। म जन्मेको ६ दशकपहिलेको नेपालमा हो। नेपालको मध्य पहाडको एउटा गाउँ– कास्कीको मकैखोला। गाउँभन्दा उत्तरतिर हरिया पहाड, त्यस पर हिमाल भएकोले यो एउटा उच्च पहाडसँग सीमान्तको साइनो–सम्बन्ध भएको बेँसीको गाउँ हो। हुर्कँदा एउटा भोटो या दौरा लगाएको सम्झन्छु। जाँगे लगाएको स्कुल जान थालेपछि हो। नांगा खुट्टा दौडेर स्कुल जाने आउने गरेको हुँ। मध्यम किसान परिवारमा जन्मेकोले खान र समाज सुहाउँदो लाउनको दुःख थिएन। मभन्दा तल दुई जना भाइहरू जन्मे। तिनलाई काखमा लिँदै खेलाउँदै गाईभैँसी, घाँस र हुर्केपछि मेलापात गरेको हो।
नियमित पाइन्ट लगाएको एसएलसी दिन गएपछि हो। गाउँमा फाटेका भोटो र आस्कोट लगाएका, लँगौटी लगाउने र मैलो फाटेको टोपी लगाउने पुरुष धेरै देखिन्थे। सुकिलो लगाउनेहरू पनि थिए, निकै थोरै। दलित बस्ती कम्तिमा ६ महिना अनिकालग्रस्त हुन्थ्यो। निमेक गर्न पाए खायो, नत्र निकै कठिन। लाहुरे परिवारको भने फरक लवाइखवाइ हुन्थ्यो। तर ‘गोर्मेन्ट’मा होइन, सिभिलमा नोकरी गरेर आउने लाहुरेको त आउन्जेलको मात्रै चुरीफुरी! बाँकी जीवन ऐजन–ऐजन हुन्थ्यो। धेरैजसो सिभिलकालाई उडाउँथे तलबका बारेमा: ‘पगार (तनखा) त उइ त हो खाइलाई २०, माजनी राखे ३०।’
यातायात गाउँमा पुग्ने कुरै थिएन। काठमाडौँ आउन चार/पाँच दिन हिँड्थे। लेतेतिर पुगेर नुन खेप्नेहरूले सात दिनमा आउजाउ गर्थे। ठोरी जानेलाई पनि सातै दिन लाग्थ्यो। तिनले बाटोमा खाने, पकाउने र ओढ्ने पनि ढकारमै बोकेर लान्थे। कामले किसानलाई एकछिन फुर्सद हुन्थ्यो। त्यसमाथि सरकारी दबाब हुन्थ्यो, हिउँदभर झाराको टन्टा। विद्यालय भवन र खेल मैदान बनाउने, बाटो खन्ने। हाम्रा बाहरूको समयमा त एक दिनको बाटो पर ‘लमजुङको बागलुङपानी नजिक हवाई मैदान बनाउने’ भन्दै एक साता झारा जानुपरेको रहेछ, सामलतुमल बोकेर। राज्यको शासन कडा थियो र नागरिक अधिकार नभएको समाजमा त्यसविरुद्ध बोल्ने जागरूकता थिएन।
आम रूपमा सबैजसो घरमा ढिँडो, रोटो, ककरीमकरी मुख्य खाना थियो। ओछ्याउने त थाङ्ना (घरका पुराना र थोत्रा कपडा बटुलेर तगिएको डस्ना) नै हुन्थे अधिकांश घरमा। साँघुरा घरमा दुईतीन पुस्ताले निर्वाह गर्थे। तिनका लागि निजी गोपनीयता बडो कठिन हुन्थ्यो। दाजुभाइ, बाबुछोरा र सासू–बुहारीबीच झगडा सामान्य मानिन्थ्यो।
चर्पी बनाउँदा सधैँ कसरी एकै ठाउँमा दिसा गर्न सकिन्छ भनेर मान्छे तर्सन्थे। दशैँबाहेक भुमे पुज्दा या अँगेरभँगेर पुज्दा हो, मासुको बिलो भेट्टाउने र खाने। गुरूङ, तामाङ र दलितहरू माछा मार्थे, कुखुरा पाल्ने भएकोले बेलाबखत मासु खाँदा हुन्। दलितहरू सिनो कुरेर पनि लान्थे।
⁎⁎⁎
ऋणले लखेटिनेहरूको ठूलै संख्या हुन्थ्यो। जहान सुत्केरी हुँदा, परिवारको कोही बिरामी पर्दा मात्र हैन— भदौ/असोजमा खानाकै संकट टार्दा या चाडबाड मनाउँदा लागेको ऋण तिर्न ४० वर्ष पुगेकाहरू बम्बै (हालको मुम्बई) हानिन्थे। कति तराई झर्थे डोकामा थाङ्नाथरा हालेर। अधियाँ रोप्ने खेत पाउनसमेत मुस्किल थियो। सबै किसान थिए र परिवार संख्या ठूलो थियो। बाली या तिरो तिर्न पनि मुस्किल पर्नेहरू हुन्थे। तिरो उठाएर तिर्न नसकेपछि एक जना मुखियालाई प्रहरीले लछारपछार पारेको पनि सुनेको थिएँ।
हाम्रो बिमारको उपचारका तीन वटा स्रोत थिए। एक जना थिए —साआप (साहेब) दमाईं। झारफुक गर्थे। अर्का थिए वैद्य। पटना गएर पढेर आएका तामाङ। पैरेका माइला भनिन्थे। उनले बाँड्ने औषधिका पुरिया सम्झन्छु। ग्लुकोजको बट्टाबाट एउटा चक्कुको टुप्पोमा अटाउने धुलो झिकेर पुरिया बनाउँथे। नौ वटा पुरिया दिएर दिनको तीन पटक पानीमा हालेर खाऊ, गर्मी फाल्छ भनेर दिन्थे, हेराउँथे। पात्लो फाल्न लगाउँथे।
उनले ठीक हुन्छ भन्दाभन्दै र कुखुराको अण्डा दोबाटोमा चढाउँदै गर्दा एकबिहानै मेरो माइला बाको छोरो भाइ मरेको थियो। अरू पनि थिए हेरकोर गर्ने। उपचारको अर्को उपाय एक जना भारतीय सेनाका कम्पाउन्डर रहेका मगर थिए, दुई घण्टा पर पैरेमा। उनलाई सबैले पैरेली डाक्टर भन्थे। यता पैसा चामल या कुखुरा सक्दा पनि केही नलागेपछि बल्ल पुग्थे पोखरा। पाँच वर्ष मुनिकाको मृत्यु सामान्य घटना हुन्थ्यो हर परिवारमा। निकै पछि हो, खोप आएको। हैजा, झाडापखाला, दादुरा र आँठे ज्वरो हर वर्षजस्तो दोहोरिन्थ्यो। मैले नै ससाना नानीका तीन वटा शव गाड्न सहयोग गरेको छु। त्यो पनि म नहुर्कँदै, किशोरकालमै। मान्छेको औसत आयु नै पो कति थियो र?
जाली फटाहाहरूको बिगबिगी थियो। तिनले समाजलाई कज्याउँथे। 'राँडीफुँडी ठग्ने फटाहा' भनेर कन्नापछाडि कुरा काट्थे गाउँलेहरू। विधवालाई बात लगाएर लखेट्थे, गरिबलाई उठीबास लगाएर बसाइँ सर्न बाध्य पार्थे। चर्को ब्याजमा ऋण लगाउनेहरू उत्तिकै थिए।
तैपनि, एउटा पक्ष गजबको थियो। समाजको दैनिक जीवनमा धनी र मध्यमवर्गका बीचको, मध्यम वर्ग र गरिबका बीचको भिन्नता एकदम कम महसुस हुन्थ्यो। अत्यन्त अल्पसंख्याका धनीबाहेक अरू मानिस उस्तै अवस्थाको जीवन बिताउँथे। मेलापात सामूहिक काममा मध्यमवर्ग र गरिबहरू समान रूपले सहभागी हुन्थे। यसले समाजमा एक प्रकारको मनोविज्ञान निर्माण गर्दो हो। अरूसँग आफ्नो तुलना गर्दा धेरैजसोलाई चित्त बुझाउन सजिलो थियो।
२०४२ सालमा पहिलो पटक पर्सा, बारा र रौतहट तीन जिल्ला घुम्नै मौका पाएको थिएँ। गाउँ देहातदेखि वीरगन्ज र गौरजस्ता शहर बजारसम्म। विरक्तलाग्दो गरिबीले अँठ्याएजस्तो देखिन्थ्यो गाउँ। सीमित धनीहरूलाई बाँच्न सघाउने आम गरिबले भरिएको। मध्यमवर्गको उपस्थिति त थियो, तर त्यसको आवाज बलशाली भएको थिएन। दुले चोरहरूको बिगबिगी थियो। मुसहर बस्तीमा देखिने गरिबी र अभाव, नांगाभुतुंगा केटाकेटीहरू, एउटा मर्दानी (साडी)ले जीउ ढाकेका महिलाहरू। त्यहाँका घरहरूको बनावट। गौरछेउ बागमती किनारमा बिहानै लोटा लिएर दिसा बस्नेहरूको लाइन। मलाई उकुसमुकुस भएको थियो। पहाडमा बस्ती पातलो र खोला–खोल्सी, भिर–कान्लाले गर्दा दिसा बस्नेले गोप्यता कायम गर्न सक्थ्यो। तराईमा त्यस्तो होइन रहेछ।
⁎⁎⁎
त्यो समाज र अहिलेको तुलना गर्छु र मान्छेको निराशाका कारण के हुन भन्नेमा अलमलिन्छु। मानिस त्यतिबेला पनि अवश्य असन्तुष्ट थिए। तर तिनले सरकारलाई होइन, आफ्नो भाग्यलाई गाली गर्थे। कोही–कोही साहुलाई पनि सराप्थे पछाडिबाट। दलितमाथिको विभेद र छुवाछूत चर्को थियो। महिला दोस्रो दर्जाका पनि भइसकेका थिएनन्। लोग्नेमान्छे दोस्रो बिहे गर्नुलाई अधिकारजस्तो ठान्थे। ग्याल्ग्याल्ती वर्षौंटे सन्तान जन्माउनु र ढाड कुप्रिने गरी घरधन्दा गर्नु महिलाको भाग्य मानिन्थ्यो। महिला पेटभरी खान पाउन्नथे, कमसेकम बुहारीका रूपमा। कुनै घरमा छोराबुहारी छुट्टभिन्न भए भने बुहारीलाई ‘दालको काठो खान छुट्टिएकी’ भन्थे। १५–१६ वर्ष पुगेकी छोरीको बिहे गरिदिन्थे। स्कुलमा केहीकेही छोरीहरूले पढ्ने अवसर पनि पाए। तर, दश कक्षासम्म पढ्ने तिनको संख्या एकदुई प्रतिशत पनि पुग्थेन। तिनको असमयमै बिहे गरिदिन्थे या बीचैमा पढाइ छुटाइदिन्थे। र, गाईबाख्रा या घाँस दाउरामा लगाउँथे।
वास्तवमा अहिलेभन्दा बढी आक्रोश र निराशा उतिबेला हुनुपर्ने हो। मैले पो महसुस नगरेको हुँ कि? कम्युनिस्टहरू विद्रोह गर्दै थिए। जनवादी क्रान्तिको तयारी गर्ने भन्दै थिए। बुर्जुवा शिक्षा बहिस्कार गरेर हिँड्दै थिए गाउँगाउँतिर। जेल परेका पनि थिए। कांग्रेसहरू सशस्त्र संघर्षमा लागेका थिए। प्रवासिएका पनि थिए। तिनका पनि जनाधार थिए। यसको अर्थ समाजको सचेत पक्ष उतिबेला पनि निराश र विद्रोही थियो। यो कुरा पनि मैले गाउँ छाडेपछि अलि बढी थाहा पाएको हुँ।
२०१६ मा स्थापित भएको स्कुल हाम्रो भविष्य बदल्ने एउटा मुख्य संस्था बन्यो। त्यसपछि बेलायत र भारतीय सेनाको भर्ती पनि।
⁎⁎⁎
अहिले फर्केर हेर्दा लाग्छ— मान्छे राजनीतिक चेतयुक्त हुँदै गएपछि, देशदुनियाँसँग तुलना गरेर आफ्नो अवस्थाको मूल्यांकन गर्ने भएपछि यदि आफू ठगिएको हेपिएको महसुस गर्न पुग्यो भने बढी निराश हुने रहेछ। त्यतिबेला भारतमा नोकरी गर्नेहरूले देख्ने समाज पनि विभेद र गरिबीयुक्त नै थियो। थोरै मात्र धनीहरू देखिन्थे। आफूजस्तै अभाव र संघर्षमा धेरै मान्छे बाँचेको देखेकाले आममान्छे भने विद्रोहभन्दा भाग्यवादमा विश्वास गर्दै जाँदो हो।
हामी २०३६ को आन्दोलनमा सामेल हुँदा र पछि जनमत संग्रहकालमा हामीले उठाएका कुरा सम्झन्छु। विदेशी ऋणमा राजाले देश डुबायो भन्ने विषय त्यतिबेला पनि चर्चामा थियो। जनमत संग्रहभन्दा ठीकपहिले महेन्द्र पुलमा बहुदलवादीहरूले उभ्याएको ९० करोडको भुँडी (विदेशी ऋण) वाला बुख्याचा पल्टिरहेको अहिले पनि सम्झन्छु। भाषण र पत्रपत्रिकामा महँगीले आकाश त्यतिबेला पनि छुन्थ्यो। भ्रष्टाचारका काण्डैकाण्ड थिए। घुसखोरी खासगरी मालअड्डा र भूमिसुधार अनि नापीमा चर्को छ भन्थे। वन प्रशासनले दुःख दिन्थ्यो। प्रहरीले आत्महत्यालाई हत्या र हत्यालाई आत्महत्या बनाउँछ भन्ने विश्वास कतिपयमा थियो।
हामी नमिता–सुनिता काण्ड, धीरेन्द्रका मनपरी र ज्ञानेन्द्र शाहका मूर्ति चोरीबारेका चर्चा/हल्ला सुनेर आजित हुन्थ्यौँ। बेरोजगारी उत्तिकै थियो। उद्योग थिए पनि, थिएनन् पनि। देशमा त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, कोदारी राजमार्ग र पूर्व पश्चिम राजमार्गको केही भाग मात्र सडक थियो। काठमाडौँका काँठले मोटरेबल बाटो भोगेको मनमोहन अधिकारी सरकारको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ कार्यक्रमको बजेटले हो।
विद्युत् सेवा पनि थियो भन्नुपर्छ। विद्युत् नियमित थिएन। पोखराबाट काठमाडौँ आउन १२ घण्टा लाग्थ्यो बसमा। प्लेन टिकट पाउन थप मुस्किल थियो, त्यो पनि अनियमित। अञ्चलाधीश र सीडीओले टिकट रोकेर राख्थे। हरेक साँझ ९ बजेको समाचारपछि भोलिपल्टका लागि शाही नेपाल वायुसेवा निगमको जहाज उडान स्थगित भएकोबारे सूचना प्रसारण हुन्थ्यो।
आन्दोलनका समयमा हामी सरकारविरुद्ध मत बनाउँदा यिनै कुरा उठाउँथ्यौ। थपमा मानव अधिकार र राजनीतिक स्वतन्त्रताका विषयमा जोड दिन्थ्यौँ।
हो, आजको नेपालले हामी हुर्कँदाको समयभन्दा मानवीय विकास र भौतिक विकासका क्षेत्रमा ठूलो फड्को मारेको छ। मातृ शिशु स्वास्थ्यमा उल्लेख्य प्रगति भएको छ। औसत आयु नै ७० पुग्यो। खुला बजार नीतिसँगै खासगरी चीनबाट उपभोग्य सामग्री आउन थालेपछि चप्पल नलगाउने नेपाली भेट्न मुस्किल छ र टालेको लाउनेहरू त निकै नगण्य होलान्। बरु मोबाइल घरघरमा छ। चिया खाने चलन प्रायः घरमा पुगेको छ। चर्पी सबैजसो घरमा पुगेको छ। खानेपानी लिन आधा एक घण्टा पर पुग्नुपर्ने बाध्यतामा अब एकाध गाउँ होलान्। बजारले राम्रो–नराम्रो या मोटो–मसिनो चामल गाउँगाउँ पुर्याएको छ। कोदो/मकै बेसाएर खानुभन्दा चामल खाने चलन फैलिएको छ। खाद्य संस्कृति बदलिएको छ।
देश पहिलेभन्दा एकीकृत भएको छ। पूर्व र पश्चिमको उत्तर र दक्षिणको दूरी साँघुरिँदै गएको छ। तर यो अवस्था मानिसलाई निराश हुनबाट रोक्न पर्याप्त छैन। खाडीमा पसिना नबगाई, युक्रेनविरुद्ध नलडी, इजरायलको अत्यासलाग्दो युद्धको प्रभावमा नफसी, तल्लो बाटो अमेरिका नछिरेसम्म दैनिक आवश्यकताको माग पूरा गर्न र समाजमा इज्जतिलो जीवन जिउन सकिन्न भन्ने परेपछि मानिस निराश हुन अरू के चाहिन्छ र?
हो, यसैलाई हो हामीले, आक्रोशका लागि कारण छन् भनेको। निराशाका लागि कारण छन् भनेको।
⁎⁎⁎
जमाना बदलिएकै हो। सूचना र सञ्चारमा विस्तारित पहुँच। बढ्दो शैक्षिकस्तर। संसारका हर कुनाका मानिसले गरिरहेका सुविधाको उपभोगबारे जानकारी। सरकारले चाहे गर्न सक्छ, हाम्रो जीवन बदलिन्छ भन्ने ज्ञान र सूचना। यी यस्ता कुरा हुन्, जसले आजका मानिसलाई थप निराश र आक्रोशित बनाएको छ। निर्वाहमुखी समाजको तुलनामा अहिले जीविकाको लागि संघर्ष कठिन चुनौतीपूर्ण र जीवन जटिल बन्दै गएको छ। परम्परागत सांस्कृतिक सामाजिक सम्बन्ध र सुरक्षाका पातला पत्रहरू फाट्दै गएका छन्। मानिस एक्लो हुँदै पनि गएको छ। स्वतन्त्रताको बढ्दो उपभोगले परिवारका सम्बन्धलाई जटिल बनाइदिएको छ।
“जिन्दगी चल्न त चल्या छ पिरै पिरमा छ...” जस्ता गीतहरू किन लोकप्रिय भएका हुन्? निराशाले त हो।
हामीकहाँ अवश्य गरिबी र अभाव छ। ऋण र मिटरब्याजी साहुहरू छन्। संस्थागत ऋणका नाममा पनि गरिब चुस्ने वैधानिक संयन्त्रहरू फैलिएका छन्। ४० प्रतिशतभन्दा बढी जनसंख्या बहुआयामिक गरिबीमा छ। २० प्रतिशत त निरपेक्ष गरिब छ। अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको कामको सुरक्षा पनि छैन, सामाजिक सुरक्षा पनि छैन। मेरो घरछेउमा एक जना मजदुरको घरको काम गर्दागर्दै करेन्ट लागेर हात काटियो। उसले काम गर्न सकेन। उसकी पत्नीले उसलाई छाडिन्। ७ कक्षा पढ्दै गरेको छोराले पढाइ छाडेर सानोतिनो मजदुरी गर्दै आफूलाई र बाबुलाई पाल्नुपरेको देख्नुपर्यो।
यस्तो अवस्थामा मानिसहरूलाई सहयोग गर्न राज्य कहाँ छ भन्ने प्रश्न उठिहाल्छ, किनभने हाम्रो सारा उमेर राम्रो विचार भएको असल पार्टीले नै जनताका समस्या हल गर्छ भनेर मानिसहरूलाई जगाउँदैमा बितेको हो। तर परिणाममा मानिसका उकासिँदा आवश्यकता पूरा गर्ने सम्भावना भएर पनि सरकारहरूले काम गरेनन्। अहिले जे जति प्राप्त भएको छ, योभन्दा कैयन् गुणा राम्रो र अवसरयुक्त देश बन्न सम्भव थियो। कुनै समय हामीभन्दा कमजोर देशहरूले के कति गरे, कहाँ पुगे, अनि हामीले किन सकेनौँ? यसको उत्तरले राजनीति र राज्यप्रणाली खोज्छ। नेतृत्वको भूमिका खोज्छ। यसका उत्तरहरू निराशालाग्दा छन्।
अनि मजस्तै कुनै मध्यमवर्गबाट राजनीतिमा छिरेको नेताले बिताइरहेको राजसी जीवनसँग सामान्य पेसा गरिबस्ने र श्रम गरिखाने मैले तुलना गरिबस्ने हो भने मलाई पनि उत्तिकै निराशा र आक्रोश उत्पन्न हुनु स्वाभाविक हुन्छ। अरूले पनि त्यसै त गर्दा हुन्। दक्षिण कोरिया या मलेसिया, सिंगापुर या कतार हेरेर आफ्नो देश त्यसरी विकास भएको भए देशमै काम गर्थेँ, आफ्नो देशको नेतृत्वका कारण जहान बच्चा छाडेर विदेश आउनुपरेको हो भन्ने महसुस हुँदा केही युवायुवतीमा आक्रोश छ भने परिवारका प्रियजन कामका लागि बिदेसिनुको कारण राजनीतिक नेतृत्व हो भन्ने पर्दा पनि मानिसमा निराशा र आक्रोश असामान्य रूपमा बढ्ने नै भयो।
शैक्षिक योग्यता भएर यहीँ केही गरिखान्छु भनेर बसेको तर हर संस्थामा राजनीतिक हस्तक्षेपका कारण बेथिति बढ्दै जाँदा योग्यता बेचेर खान नपाइने, नेतृत्वसँगको निकटता र दलसँगको आबद्धता अनिवार्य बन्ने अवस्था आएपछि कोही युवा या अधबैँसे देशप्रति निराश भयो र नेतृत्वप्रति आक्रोशित भयो भने त्यसलाई कसरी अन्यथा भन्ने?
नैराश्यबारे यति लेखियो। तर माथिका निराश हुनुपर्ने कारण भएकैले आक्रोशित मानिसहरूले के गरौँ भनेर मसँग सोधे भने त्यसको विश्वसनीय उत्तर मसँग पनि छैन। किनभने यी मेरा पनि प्रश्नहरू हुन्। सके कोही उत्तर दिन सक्ने भेटिएला कि?
No comments:
Post a Comment