Wednesday, November 6, 2024

निर्यातमा आधारित विकासको पक्षमा

 

एक बिहान बाथरुम पस्दा विचार गरिहेरें, त्यहाँ प्रयोग हुने कमोड, स्प्रे, बेसिन, धाराको टुटी, सावर, टुथपेस्ट, टुथब्रस, ट्वाइलेट पेपर, साबुन, स्याम्पु, टावेल, अन्डर गार्मेन्ट्स सबैजसो आयातित रहेछन् । पानीचाहिँ  यहीँको । त्यसपछि किचनमा चिया बनाउन गएँ । पानी र चियापत्ती नेपाली रहेछ ।

चिनी नेपाली हुन पनि सक्छ, नहुन पनि । स्टिलको ताप्के विदेशी । इन्डक्सन चुलो या ग्यास चुलो विदेशी । ग्यास विदेशी । बिजुलीचाहिँ नेपाली । चियाको कप विदेशी नै रहेछ । तेल, प्याज, मसलाहरू धेरैजसो विदेशी । तरकारी घरकै । केरा, स्याउ विदेशी । फ्रिज विदेशी । नुन पनि विदेशी । धाराको टुटी र सिंक विदेशी । वासिङ मेसिन विदेशी ।

चिया पिउँदै बस्ने सोफा आयातित सामानले बनेको रहेछ । टीभी खोल्यो विदेशी, टीभीमा हेरिने ९० प्रतिशत च्यानल विदेशी उत्पादन । टीभी आउने इन्टरनेटको माउ स्रोत विदेशी । भुइँमा राखेको कार्पेट नेपाली भए पनि प्रयोग भएको ऊन विदेशी । घरको भित्तामा लगाएको रङ विदेशी । हरसमय हातमा साथमा हुने मोबाइल विदेशी । फेसबुक विदेशी, ट्वीटर, मेसेन्जर, वाट्सएप, भाइबर, विच्याट सबै एप विदेशी ।

घरबाहिर जाँदा लगाइने जुत्ता, मोजा, पाइन्ट र सर्ट विदेशी । बोकिने ल्यापटप विदेशी । पैसा राख्ने पर्स विदेशी । छोराले चढ्ने बाइक विदेशी । मैले यात्रा गर्ने बस विदेशी । बसमा लाग्ने इन्धन विदेशी । अफिसमा पुगेपछि पानी छान्ने र तातो, चिसो बनाउने फिल्टर विदेशी । कफी खाने ग्लास विदेशी । अफिसमा हुने नेस्क्याफे कफी पाउडर विदेशी । डेस्कटप विदेशी, माउस विदेशी, किबोर्ड विदेशी ।

साँझ घरमा फर्केर उही विदेशी च्यानलका क्रिकेट, समाचार, सिनेमा या अरू उत्पादनको उपभोग । सुत्नुअगाडि खानैपर्ने प्रेसरको दबाई बनेको नेपालमा तर त्यसमा प्रयोग हुने इन्ग्रेडियन्ट विदेशी । सुत्ने क्रममा ओढ्ने, ओछ्याउनेकपडाहरू विदेशी ।

तपाईंहरूको जीवनमा यी जस्ता के के अरू कुराहरू दैनिक उपभोगमा आउँछन्, थाहा भएन, तर मैले सामान्य नोट गरेको मेरो घरमा प्रयोग हुने चामल स्थानीय हुन्छ । अधिकांश बेला तरकारी बारीको हुन्छ । पछिल्लो समय तोरीको तेल प्रायः देशभित्रकै उत्पादन प्रयोग गरिन्छ । तर नेपालीले भात खान २५ अर्बभन्दा बढीको चामल आयात हुन्छ । अलि पैसा हुनेले प्रयोग गर्ने आयातित मदिरा विदेशी हुने नै भयो । मःम मा प्रयोग हुने राँगाको मासु विदेशी । बंगुरमा नेपाल आत्मनिर्भर छ कि जस्तो लाग्छ । ब्रोइलर नेपाली त्यसलाई प्रयोग गरिने दानाको कच्चापदार्थ, औषधि र भिटामिन विदेशी । चाउचाउ र मःम नेपाली, मैदा विदेशी । मसला विदेशी । तामा र बोडी सबै विदेशी ।

हामी हुर्कंदाको समय सम्झन्छु । घरभित्रका भाँडाकुँडा सबै स्वदेशमा बनेका हुन्थे । यद्यपि फलाम, तामा र ढलौटको कच्चापदार्थ विदेशी हुँदो हो । अन्यथा ओदान, ताउली, गाग्री, मकै भुट्ने हाँडी, गाग्रो, गुन्द्री, मान्द्रो, भकारी, डोको, डालो, कराई, भुजुंगो, आँसी, बाउसो, जोतारा, हलो, जुवा, डोरी, दाम्ला, खोटो, रातो माटो, कमेरो, दही, मही, दूध, घिउ, चामल, खुदो, च्युरा, गुन्द्रुक, बफाको गाभा, मस्यौरा, तोरीको तेल, मास, भटमास, गहत, मस्याङ, आलु, पिँडालु, हरियो परियो तरकारी, मासु, निउरो, केरा, चुत्रो, आगेरी, ऐंसेलु, काफल, स्कुलका बेन्च, छालाका जुत्ता जे जे प्रयोग गरियो, अधिकांश स्थानीय या घरेलु उत्पादन नै थियो । नुन र मट्टीतेल विदेशी हुन्थ्यो । घरबुनाका जे कपडा किनिन्थे, ती बन्दीपुरतिरबाट बुनेका ल्याइन्थे । केही नेपाली, अधिकांश भारतीय कपडा र एक समय हेटौंडा कपडा आउँथ्यो । बेसाहा खानेले पनि त्यही गाउँमै त हो बेसाउने । पैसा गाउँमै बस्थ्यो ।

त्यति हुँदाहुँदै पनि, हामीले थाहा पाउनु पहिले नै नेपालमा आन्तरिक उत्पादनले भन्दा आयातित वस्तुले अर्थतन्त्रलाई प्रभावित गरेको रहेछ । सन् १९२० तिर, पहिलो विश्वयुद्धबाट फर्केका लाहुरेहरूले ल्याएको १३ करोड जति नगदले त्यतिबेलाको नेपालमा जापानी आयातित सामानको माग बढेको र नेपाली घरेलु उद्योगको उत्पादन स्वाट्टै घटेकोबारे ‘त्यस बखतको नेपाल’ मा सरदार भीमबहादुर पाँडेले उल्लेख गरेका छन् । अहिले पनि हामी जे उपभोग गरिरहेका छौं, ती अधिकांश सामान आयातित रहेछन् । यसका लागि हामी विदेशी उद्योग र सेवा क्षेत्रका धनकुवेरहरूलाई पैसा तिरिरहेका छौं ।

हाम्रो कमाइको ठूलो हिस्सा विदेशतिर गइरहेको छ । गाउँमा उत्पादन हुने घरेलु वस्तुहरू ‘राई माइलाले छाडेको गाउँ’ मा जस्तो बजारमा प्राप्त आयातित कच्चापदार्थमा आधारित या बाहिरै बनेर आएका सामानले विस्थापित गरिसकेको छ । यस्ता आयातित सामान बिक्री गर्ने आयातकर्तादेखि थोक र खुद्रा विक्रेताले केही रोजगारी पाएका छन्, कमाएका छन् । भन्सार छल्ने र न्यून बीजकीकरण गरेर आयात गर्नेहरूले त देशलाई र उपभोक्तालाई समेत ठगेर मालामाल भएकै छन् । आयात सरकारका लागि कर उठाएर खर्च चलाउने सजिलो उपाय भएको छ । तर यसैले हाम्रो देशको अर्थतन्त्रलाई उकास्नबाट रोकिरहेको छ ।

गाउँमा भनिन्थ्यो, घरबाट बेच्नका लागि पाखुरा र सीपमात्र हुने र बेसाहा खाइरहनेले धन जोगाउन सक्दैन । देश पनि त आखिर त्यस्तै हो । बेच्न नसक्ने किनेर खाने भएपछि घरको ढुकुटी जहिले पनि रित्तो रहन्छ । जे जति रेमिट्यान्स भित्रिएको छ, त्यो सबैजसो वस्तु तथा सेवा आयातमा सकिएको छ । दुनियाँको जुनसुकै देश हेर्दा हुन्छ, जसले धेरै सामान या सेवा विदेशीलाई बिक्री गर्छ, त्यो धनी छ । परिवार होस् या देश, जो आयात गरेर उपभोग गर्छ तर आफू सामान बेच्दैन, त्यो गरिब छ ।

नेपालको अवस्था

चारवर्ष पहिलेको विश्व वैंकको रिपोर्टअनुसार नेपालले १२६ देशमा ७६४ प्रकारका वस्तु तथा सेवा बेच्छ । १७० देशबाट ४१३७ प्रकारका वस्तु तथा सेवा खरिद गर्दोरहेछ । आर्थिक वर्ष २०७९/८० को तथ्यांकअनुसार उक्त आर्थिक वर्षमा नेपालले कुल १७ खर्ब ६८ अर्बको व्यापार गरेको थियो । त्यसमा आयात १४ खर्ब ५४ अर्ब र निर्यात १ खर्ब ५७ अर्ब थियो । आयात र निर्यात अनुपातचाहिँ १०ः १ रहेको थियो । १ रुपैयाँको बेचेर १० रुपैयाँको बेसाहा किन्ने देशले कहिले गर्छ उन्नति ? आ

यातित वस्तुको सानो हिस्सा मात्र लक्जरी वस्तुको होला बाँकी सबै दैनिक रूपमा उपभोग गर्नुपर्ने वस्तुहरू, इन्धन, उत्पादनमूलक क्षेत्रमा प्रयोग हुने ठूला मेसिनरी या औद्योगिक कच्चापदार्थ हुन् । यस्तो आयात रोक्न सकिन्न, हुन्न पनि । यसरी आयात हुने वस्तु तथा सेवा कुनै नेपालमै उत्पादन गर्न सकिने खालका होलान्, त्यस्तोमा आफैं उत्पादन गर्दा आयात घटाउन सकिन्छ । तर विश्वलाई एकीकृत बजारले जोडेको युगमा सानो स्केलमा हुने उत्पादनभन्दा मास स्केलको उत्पादनको लागत कम हुन्छ ।

जसले गर्दा हेटौंडा कपडा उद्योगले चीन या भारतमा उत्पादन हुने उही गुणस्तरको कपडाको मूल्यसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले आयात प्रतिस्थापन गर्ने वस्तु तथा सेवामा लगानी गर्नु घाटाकै व्यापार हो । जे कुरा सस्तोमा उत्पादन गर्न सकिन्छ, त्यही उत्पादन गरेर बेच्नु र कमाउनु मात्र उपाय हो । नेपालले त्यस्तो वस्तु तथा सेवा उत्पादन र निर्यातमा अहिले अत्यधिक शक्ति लगाउनुपर्छ, जसले हामीलाई निर्यात वृद्धिको बाटोमा लैजाओस् ।

निर्यातमुखी वृद्धि

सन् १९८० को वरपरका २० वर्षमा विकासोन्मुख देशबाट मध्यम आयस्तरका देशमा उक्लेका र एसियाली टाइगर भनिने देशहरू दक्षिण कोरिया, ताइवान, सिंगापुर र हङकङको विकासको मुख्य आधार पनि निर्यातमुखी उद्योगहरू नै थिए । सिंगापुर र हङकङले म्यानुफ्याक्चरिङभन्दा पनि सेवा उद्योग र वित्तीय केन्द्रका रूपमा पर्याप्त फाइदा उठाएका थिए । यसमा शीतयुद्धकालीन अमेरिकी विदेश नीतिको पनि अवश्य भूमिका छ । पछिल्लो समय उन्नति गरिरहेका भियतनाम, मलेसिया र बंगलादेशको विकास पनि निर्यातमा आधारित छ । खासगरी भियतनामले वस्तु निर्माण उद्योगहरूको व्यापक विस्तार गरेपछि अहिलेको उन्नति हासिल गरेको हो । ती सबै देशमा वैदेशिक लगानीको महत्त्वपूर्ण हात छ ।

सन् १९७८ यताका ४० वर्षमा ७० करोड जनसंख्यालाई गरिबीबाट मुक्त गरेको चीनको मुख्य औद्योगिक उन्नति पनि उसले सन् १९७८ पछि अपनाएको निर्यातमुखी विकासबाटै भएको हो । र यसमा वैदेशिक लगानीको महत्त्वपूर्ण हात छ । एउटा अध्ययनअनुसार सन् २०११ मा चीनको कुल निर्यातको ५२.४ प्रतिशत विदेशी स्वामित्वका उद्योगहरूको थियो, जुन उसको कुल व्यापार नाफाको ८४ प्रतिशत हुन आउँथ्यो ।

निर्यातमूलक नीति लिनेले पहिलो चरणमा सामान्य उपभोग्य वस्तुबाट सुरु गरेर उच्च प्रविधि आधारित वस्तु उत्पादन र निर्यात गर्ने आधार तयार पार्छन् । पुँजी निर्माणले गति लिन्छ । प्रविधि र ज्ञानमा पहुँच स्थापित हुँदै जान्छ । आवश्यकताअनुसार गुणस्तरयुक्त शिक्षाको विकाससँग जोड्न सक्दा यसले वृद्धिको चक्र निर्माण गर्छ । जस्तो चीनले कपडा, जुत्ता, मोजा या अरू उपभोगका एकदम सस्ता सामान उत्पादन र निर्यात गर्दै अहिले उच्च प्रविधियुक्त सवारीसाधन र उच्च मूल्यका इलेक्ट्रोनिक्स वस्तुहरू निर्यात गर्ने देश बनेको छ । ताइवान र दक्षिण कोरिया उच्चप्रविधिको निर्यातमा लागेका छन् । दुवै देशका कतिपय उद्योगहरू बहुराष्ट्रिय ब्रान्ड बनेका छन् । ताइवानको फक्सकनले सफ्टवेयर र हार्डवेयर दुवैमा विश्वव्यापी प्रभाव जमाएको छ । यी सबै विकास आरम्भमा निर्यातमुखी विकासका नीतिहरू र वैदेशिक लगानीका लागि ढोका खोलेपछि सम्भव भएका थिए ।

नेपालले पनि केही कारणले अहिले निर्यातमुखी वस्तु उत्पादन तथा सेवा उद्योगबाट प्रगति हासिल गर्न सक्छ । पहिलो, हामीकहाँ श्रमको पर्याप्त उपलब्धता छ । सामान्य व्यावसायिक तालिमको व्यवस्था गर्दा म्यानुफ्याक्चरिङ उद्योगका लागि आवश्यक पर्ने जनशक्ति पर्याप्त हुन सक्छ । हाम्रो श्रमको मूल्य अरूको तुलनामा सस्तो पनि छ । दोस्रो, हाम्रो मुद्राको मूल्य हामीभन्दा विकास गरिसकेका देशको तुलनामा सस्तो छ ।

यसले हामीकहाँ उत्पादित वस्तुको मूल्य सस्तो हुन्छ र प्रतिस्पर्धात्मक क्षमता बढी हुन्छ । अहिले नेपाली युवाहरूले आईटीका क्षेत्रमा गरिरहेको काम दक्ष श्रम हो तर नेपालको आईटी इन्जिनियर यहाँ बस्दा महिनाको दुई हजार डलर पाउँदा खुसीले काम गर्छ, उही व्यक्ति अमेरिका छिरेपछि मासिक कम्तीमा ५ हजार डलरको बन्छ । अर्थात् नेपालमा काम लगाउँदा आईटी उद्योगको उत्पादन सस्तो पर्छ । त्यही भएर हो, नेपालले गतवर्ष मात्र ६५ करोड डलर जतिको आईटी सेवा निर्यात गरेको ।

चीनले प्रारम्भिककालका उद्योगहरू सिफ्ट गर्ने विकल्प खोजेको छ जसको गन्तव्य नेपाल हुन सक्छ । चीनबाट भियतनाम, बंगलादेश, भारत र इन्डोनेसियामा उद्योगहरू स्थानान्तरण भइरहेका छन् । हामीले त्यसको केही हिस्सा आकर्षित गर्न सक्छौं । यसका लागि तिव्बतको उच्च गतिको रेल सेवासम्म जोड्न सडक यातायात भरपर्दो बनाउँदा मात्र हुन्छ ।

यता पछिल्लो समय जलविद्युत् नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा परिणत हुँदै छ । भारतले मात्र नेपालबाट यसै वर्ष एक हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ भने १० हजार मेगावाट खरिद गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । बंगलादेशसँग ४० मेगावाट विद्युत् निर्यातका लागि सम्झौता हुँदै छ । सिमेन्ट उद्योगहरूले पछिल्ला वर्षहरूमा निर्यात बढाउँदै लगेका छन् । गत आर्थिक वर्षको ११ महिनामा साढे तीन अर्बको सिमेन्ट र क्लिंकर भारत निर्यात भएको थियो । वायु सेवाबाट विदेशी कम्पनीले लिइरहेको फाइदाको सेयर नेपालले तानेर पनि पर्याप्त मुद्रा आर्जन गर्न सम्भव छ । सँगै पर्यटन उद्योगसँग सम्बन्धित सेवा क्षेत्र, हाइअल्टिच्युड खेलहरू, एडभेन्चर टुरिजम पनि नेपालले अरूसँग प्रतिस्पर्धा गरेर बेच्न सक्नेछ ।

कृषि उत्पादनबाट चिया, अलैंची, छुर्पी, अदुवा जस्ता केही उत्पादन निर्यात भएको छ । यस्तो प्राथमिक उत्पादनको निर्यातबाट आर्थिक वृद्धिमा खासै योगदान पुग्दैन । कृषि क्षेत्रमा प्रविधि र ज्ञान तथा पुँजीसहित वैदेशिक लगानी भित्र्याएर ठूला फर्म स्थापना गर्ने र उत्पादनको वृद्धिपछि प्रशोधन उद्योगमार्फत अन्तिम प्रडक्ट निर्यात गर्ने हो भने मात्र पर्याप्त आम्दानी लिन सकिने हो । नेपालले केही वर्ष पहल गर्ने हो भने स्याउ, सुन्तला जस्ता फलफूलजन्य उत्पादन विश्व बजारसम्म पुर्‍याउन सक्छ ।

निर्यातमुखी विकासको एउटा चुनौती भने विभिन्न देशहरूले अपनाउँदै गएको संरक्षणमुखी नीति हो । कर तथा गैरकर नीतिगत व्यवस्थाबाट आयात घटाउने, कोटा लगाउने र आफ्नो उद्योगको संरक्षण गर्ने नीतिले यस्तो अप्ठेरो पार्न सक्छ । हालै अमेरिका, क्यानडा र ईयूले चिनियाँ ईभीमाथि शतप्रतिशतसम्म कर लगाएर यस्तो अभ्यास गरेका छन् ।

एक चरण निर्यात आधारित भएर विदेशी मुद्रा आर्जन गर्ने चक्र तयार भएपछि त्यसले आफ्नै ‘इकोसिस्टम’ निर्माण गर्छ– जनशक्तिको उत्पादन, अन्तर्राष्ट्रिय श्रम विभाजनमा आफ्नो विशिष्टताको क्षेत्रको पहिचान र विस्तार । त्यसपछि मात्र हाम्रो आत्मविश्वास पनि बढ्छ र हामी औद्योगिकीकरणको दिशातिर जान सक्छौं । यसका लागि अहिले त सरकार र निजी क्षेत्रको पनि ध्यानचाहिँ विदेशी पुँजी र प्रविधि भित्र्याउनमा लाग्नुपर्छ । हाम्रो औद्योगिकीकरणको जग पनि यही हो ।

भाद्र २५, २०८१,कान्तिपुर 

No comments:

Post a Comment