Friday, June 14, 2024

डाक्टर जीवागो : युद्ध, क्रान्ति र सामान्यजनका भुक्तमान

 


पास्तरनाक

वोरिस पास्तरनाक रूसी क्लासिक साहित्यका एकजना विख्यात सर्जक हुन् । मूलतः कविका रूपमा स्थापित पास्तरनाक १८९० मा मस्कोको एउटा सम्भ्रान्त परिवारमा जन्मे-हुर्केका थिए । उनी किशोर अवस्थामा पुग्दै गर्दा रूसमा सन् १९०५ को क्रान्ति भएको थियो । उनको किशोर र युवावयमा रूस-जापान युद्ध, सन् १९०५ को रूसी क्रान्ति, दोस्रो विश्वयुद्ध, रूसका फेब्रुअरी र अक्टोबर क्रान्ति, त्यसपछिको चारवर्षे गृहयुद्ध भएका थिए ।

यी सबै घटनाले साधारण रसियालीहरूको जीवनमा उथलपुथल ल्याएको थियो । सम्भ्रान्त परिवारको परम्परागत उच्च वर्गीय जीवनशैली हठात् भताभुङ्ग भएको थियो । लेखक, कलाकार, चिकित्सक, प्रोफेसर सबै-सबैको जीवनमा क्रान्तिको एउटा आँधीले धक्का दिएको थियो । क्रान्ति र प्रतिक्रान्तिका शक्तिहरूका अनावश्यक दबाब, साइवेरिया निष्काशन, विदेश पलायन या दमनको सामना गर्नु परिरहेको थियो । पास्तरनाक भन्छन्- ‘जब तल्लो वर्ग जाग्यो उठ्यो अनि उच्च वर्गको अधिकार खत्तम भयो । कति छिटै सबै ओइलाए । अफसोस नगरिकनै सबै आफ्ना विचारबाट पछि हट्दै गए’ । (यहाँ उद्धृत गरिएका सबै पुस्तकांश हिन्दीमा अनूदित र प्रकाशित : डा. जीवागो, अनुवाद चारुमती रामदास, संवाद प्रकाशन मुम्बई, जनवरी २०२३ बाट लिइएका हुन् ।)

झलक सुवेदी ।

सन् १९२२ मा लेनिनले नयाँ आर्थिक नीति (नेप) लागू गरे । तर यसबाट व्यापारीहरूको सानो समूहलाई मात्र फाइदा भयो । उपन्यासमा यो काललाई सोभियत इतिहासको सबैभन्दा संदिग्ध र भ्रामक कालखण्ड भनिएको छ (पेज ५३६) । सन् १९२४ मा लेनिनको मृत्युपछि त स्टालिनको दमनकाल सुरु भइहाल्यो । उनले जबर्जस्ती रूपमा सामूहिकीकरण लागू गरे । सर्वसाधारण मानिसहरू मात्र हैन अक्टोबर क्रान्तिका हजारौं नायकहरू समेत यातना, दमन र हत्याको शिकार भए । यो उथलपुथलमा पनि क्रान्तिका समर्थक र सोभियत सत्ताका प्रशंसक रहेका पास्तरनाक आफ्नो परिवारसँग पेरिस निर्वासन जान अस्वीकार गरेका थिए । उनी लेनिनका प्रशंसक थिए । रूसी लेखक संघमा आवद्ध थिए र लेखककै रूपमा आजीविका चलाएका थिए ।उनैले आफ्नो प्रतिरूपको नायकका रूपमा डा. जीवागो उपन्यास लेखेका हुन् भनिन्छ । सम्भवतः स्टालिनकालीन दमनको काला दिनहरूपछि उनी निराशातिर धकेलिएका थिए । उनको उपन्यास उनले भोगेका समयको दुःख-सुख, उदात्त प्रेममा लुकेको मानवीय सौन्दर्य, राजनीतिले व्यक्तिको जीवनमा पारेको नकारात्मक प्रभावबाट उत्पन्न मनोवेगको उपज थियो । सन् १९५६ मा उनले लेखेर छाप्न पठाएको यो उपन्यास सेन्सरले पास गरेको थिएन । पछि इटालीबाट इटालियन भाषामा पहिलो पटक छापिएपछि सन् १९५८ को साहित्यतर्फको नोवल पुरस्कार पास्तरनाकलाई दिइएको थियो । यो पुरस्कार लिन उनलाई सोभियत सरकारले रोक लगायो । उनलाई लेखक संघले कारबाही गर्‍यो । जीविकाको स्रोत खोसियो । परित्यक्त र सत्ताबाट खेदिएका विलक्षण प्रतिभासम्पन्न सर्जक वोरिस पास्तरनाकको ७० वर्षको उमेरमा सन् १९६० मा मस्कोमा निधन भएको थियो ।

सन् १९८७ मा गोर्वाचोभले पास्तरनाकमाथिको कारबाही उल्ट्याएपछि १९८८ मा मात्र डा. जीवागो रूसमा प्रकाशित भएको थियो । त्यसअघि नै यसका दर्जनौं भाषामा संस्करणहरू निस्केका थिए । सन् १९६५ मा अमेरिकामा यो उपन्यासमा आधारित रहेर डा. जीवागो सिनेमा बनेको थियो ।

उपन्यास

हालैको एक दिन डा. जीवागो माथि बनेको सिनेमा हेर्न मन लाग्यो । रसियामा यसमाथि सिनेमा बनेको हुनुपर्छ भन्ने लागेर सर्च गरेको थिएँ भेटियो हलिउडमा बनेको सिनेमा । त्यो पनि सन् १९६५ मा । सिनेमा हेरेपछि उपन्यास फेरि पढ्न मन लाग्यो ।

यस उपन्यासको कथा सरल र जटिल दुवै छ । यस मानेमा कि यसको कथा र पात्रहरू बोधगम्य छन् । तर तिनले व्यहोरेको जीवनचाहिं असामान्य छ । उपन्यासले सन् १९०० देखि १९५० तिरसम्मको लामो कालखण्डको रसियाली समाजको कथा भन्छ । रूस-जापान युद्ध र त्यसमा रूसको पराजय, सन् १९०५ को क्रान्ति, ब्लडी सन्डेमा आन्दोलनकारीहरू माथि भएको दमन र सयौं महिला, केटाकेटी सहित मजदुरको हत्याको घटना, त्यसक्रमका बौद्धिक बहसहरू, पहिलो र दोस्रो विश्वयुद्धमा रूसको सहभागिता र त्यसले निम्त्याएको ध्वंस, सन् १९१७ को फेब्रुअरी क्रान्ति र अक्टोबर समाजवादी क्रान्ति, क्रान्तिले मस्कोको शान्त र समृद्ध बुर्जुवा वर्गको जीवनमा ल्याएको भयानक उथलपुथल, मजदुर सैनिकहरूको कष्टकर जीवन र विद्रोहमा उनीहरूको सहभागिता, क्रान्तिपछिको रूसमा भएको गृहयुद्धको भयानक विभीषिका, लेनिन र स्टालिनको समयमा भएका नीतिका प्रभावहरूको प्रतिबिम्व उतारेको छ । त्यसैले उपन्यास पढ्दा रसियाली इतिहासको त्यो समय नबुझेका पाठकका लागि यो जटिल र अबोधगम्य पनि हुनसक्छ ।

सयौं पात्रहरू मार्फत पास्तरनाकले उपन्यास कथेका छन् । यो उपन्यास दोस्तोब्स्की, चेखव, तोलस्तोय र गोर्कीकै परम्पराको एउटा शास्त्रीय रूसी साहित्य हो । यसले रूसको महानताको गीत गाएको छ सँगै क्रान्ति र युद्धले थोपर्ने ज्यादतीको विरोधमा आवाज उठाएको छ

डा. जीवागो अर्थात् युरी यसको मुख्य चरित्र हो । ऊ एक कवि हो र मस्कोमा मेडिसिन पढ्दै र कविता लेख्दै हुर्केको भावुक व्यक्तित्वको छ । उसको जीवन तीनवटा पक्षबाट अघि बढेको छ– पेशाले चिकित्सक, रुचिले कवि र भावनाले प्रेमी । ऊ कमजोर र उदार स्वभावको छ सामान्यतः साहित्यमा भेटिने रसियाली पुरुषको धीर-गम्भीर, चर्को राष्ट्रवादी र बहादुर चरित्र उसमा छैन ।

युरीको बाबु करोडपति व्यापारी थियो, युराल पर्वतको पूर्वतिर साइवेरियाली क्षेत्रमा उसको व्यापार छ । युरीकी आमा छँदाछँदै एकजना राजकुमारीसँग प्रेममा परेर उतै बस्न थालेको हुन्छ । विस्तारै व्यवसाय डुब्दै जान्छ । कमारोब्स्की नामको छट्टु वकिलले उसलाई परिबन्दमा पार्दै रेलबाट हाम फालेर मर्न बाध्य पार्छ । त्यसको केही समयपछि युरीकी आमाको पनि मृत्यु हुन्छ । आमाको मृत्युपछि सुरु भएको सारा कथा युरीकै वरपर रहेर सकिएको छ ।

आमाको शव सद्गतका लागि चर्चबाट हिमाच्छादित मैदानमा लिएर जाँदै गरेको, खाडलमा बाकस राखेर माटोले पुरेको र असह्य पीडामा रुँदै गरेको युरीबाट उपन्यास सुरु हुन्छ । त्यसपछि जीवागो परिवारमा उसलाई संरक्षण दिने कोही नभएर मामाले उसलाई लिएर जान्छ । केही समय मामासँग बिताएपछि उसलाई ग्रमिको परिवारमा राखेर पढ्न लगाइन्छ । कृषि वैज्ञानिक अलेसान्द्र ग्रमिकोको परिवारमा तीनजना मात्र छन् । युरीकै उमेरकी छोरी तोन्या, उसकी आमा या ग्रमिकोकी पत्नी र ग्रमिको । यो धनी र व्यवस्थित परिवार देखिन्छ । आफू व्यथाले मर्ने सम्भावना बढेपछि तोन्याकी आमाले युरी र तोन्याको बिहेको प्रस्ताव राख्छिन् र स्वीकृति लिन्छिन् ।

संगीत र कवितामा डुब्दै, विन्दास तरिकाले युरीले डाक्टरको पढाइ पूरा गर्छ । तोन्याले कानुन पढेर सक्छे । उनीहरूको पहिलो बच्चा जन्मेको भोलिपल्टै युरीलाई मेडिकल टिमका लागि युद्ध मोर्चामा पठाइन्छ । दुई वर्षपछि मात्र ऊ घर फर्किन पाउँछ ।

युद्धले जीवनको लय भत्काउँछ । जब क्रान्तिको उभार आउँछ अनि समाज नराम्ररी धु्रवीकृत हुन्छ : तपाईं या त क्रान्तिको पक्षमा लाग्नुस् या विपक्षमा । बीचमा बसेर रमिता हेर्ने सुविधा तपाईंले अचानक गुमाउनुहुन्छ । डा. जीवागो यस्तै घनचक्करमा फँसेको एउटा पात्र हो जो युद्धमा घाइते सैनिकहरूलाई उपचार गर्न मोर्चामा खटिन्छ । दुई वर्षपछि फर्केर सामान्य जीवन बिताउन नपाउँदै अक्टोबर क्रान्तिले ल्याएको उथलपुथलबाट जोगिन सम्पूर्ण परिवार सहित युराल पर्वत पारि, एशियायी भागतिर तोन्याकी आमाको माइतीतिरको पुरानो जमिनदारीमा जान्छ । तर, त्यहाँ पनि उसले लाल सेनाको सेवामा जबर्जस्ती जानुपर्छ । त्यसपछि त उसको जीवनको सबै लय कहिल्यै नजोडिने गरी फुस्किन्छ ।

क्रान्तिको लपेटामा परेर यो पात्र रूसका अनेक भागमा पुग्छ । युद्ध मोर्चाबाट मस्को फर्किंदाको रेलयात्राका अनुभूति, परिवार सहित मस्कोबाट विरिनिका पुग्दा झण्डै महिना दिन गरिएको रेलयात्राका अनेक प्रसंग, विरिनिकाबाट साइवेरिया, साइवेरियाबाट पैदल युर्यातिन फर्कंदाका सास्ती, बाटोमा भेटिएका अनेक मानिसहरू । युरी मार्फत लेखकले रूसको विशाल भूगोल र त्यहाँका महान् मानिसहरूको कथा भनेका छन् ।

कसरी मानिसले अकल्पनीय दुःख सहनुपर्छ, जिजीविषाले उसलाई कसरी बचाइरहन्छ, राम्ररी खाना नखाई, सुत्ने–बस्ने ठेगान नभई, लुक्दैछिप्दै महिनौं पैदल हिंड्दा, हिउँको विशाल मैदान छिचोल्दा, पाकेको अन्न स्याहार्ने कोही नभएर खेतमा सडिरहेको अन्न देख्दा, मान्छेले छाडेको बस्तीका कुकुरहरूको मनोदशा नियाल्दा, मान्छेकै मासु खान विवश भोकाहरूको अवस्थाको वर्णन गर्दा युद्ध र क्रान्तिले सिर्जना गर्ने बीभत्सताको हृदयविदारक तस्बिर उतारेका छन् ।

डा. जीवागोमा अक्टोबर क्रान्तिको महानताका बारेमा कुनै भ्रम छैन । ऊ क्रान्तिको अनिवार्यताको गीत गाइरहन्छ । त्यसले ल्याएको परिवर्तनलाई स्वीकार गर्छ । उपन्यासमा लेनिनको नयाँ आर्थिक नीतिका असफलताको चर्चा पनि छ ।

लेखकले स्टालिनकालमा लागू गरिएको सामूहिकीकरणको असफलताको मज्जाले आलोचना गरेका छन् । लेख्छन्, ‘मेरो विचारमा सामूहिकीकरण एउटा झुटो, असफल उपाय थियो र (शासकहरूबाट) गल्ती स्वीकार्न सम्भव थिएन । असफलता छोप्नका लागि मानिसहरूलाई डराउने, धम्क्याउने सबै साधन प्रयोग गरेर उसको सोच्ने प्रवृत्तिलाई नै उल्ट्याउनु जरूरी छ ताकि ऊ अस्तित्वहीन कुरा देख्न थालोस्, अप्रमाणित कुराहरूलाई विश्वास गर्न थालोस् (पृष्ठ ५८०, ५८१) ।’ अधिनायकवादी शासकको योभन्दा बढी आलोचना के हुनसक्छ र ?

यसरी हेर्दा उपन्यास क्रान्तिमाथिको विचारधारात्मक बहस जस्तो पनि देखिन्छ । तर, लेखकले बडो मिहिन पाराले, पात्रहरूलाई राजनीतिक प्राणीका रूपमा नदेखाएर, सामान्य मानिसहरूका मूल्याङ्कनका रूपमा यी कुरालाई घुसाएका छन् । मूलतः राजनीतिमाथि लेखिएको भए पनि एकाध ठाउँमा बाहेक उपन्यासमा कतै पनि राजनीतिक रूपमा सक्रिय पात्र र घटनासँग भेट गराउँदैनन् । बरु घटनाले लतारेर सेनामा र राजनीतिक जीवनमा तानेका साधारण मानिसका कथा छन् । यसले सामान्य रूसी नागरिकले क्रान्तिकालीन समयमा व्यहोरेका दुःख र सामना गरेका चुनौतीलाई साधारण पात्रहरू मार्फत दुनियाँलाई बताउने प्रयास गरेको छ ।

युरीको चरित्रको अर्को पाटो भनेको उसको साधु तरिकाको जीवन–दृष्टि हो । युरी आफ्नो बाबुको हत्याको कारण बनेको, आफ्नी प्रेमिका/पत्नीलाई आफूबाट खोस्न आएको कामारोब्स्कीप्रति तटस्थ भाव देखाउँछ । यो खालको तटस्थ पुरुषको उपस्थिति समाजले सामन्तवादबाट उदारवादी विचारतिर संक्रमण गरिरहेको संकेत पनि हो । सामान्यतया हामीले सिनेमा या उपन्यासमा देखिने प्रोटागोनिष्ट पुरुष चरित्र बाहुबल या पराक्रमको भरमा आफ्नो प्रेम जोगाउन कुदेका या बलिदान दिन तयार देखिन्छन् । युरी त्यसको ठिक विपरीत चरित्रको छ ।

घरमा गर्भवती पत्नी र सन्तानहरू हुँदाहुँदै प्रेमिका लारासँग रात बिताएपछि पछुताएर माफी माग्न फर्केकै बेला लालसेनाको टुकडीले युरीलाई अपहरण गर्छ । त्यसपछि उसको जीवनबाट तोन्या र सन्तानसँगको सम्बन्ध टुट्छ । साइवेरियाबाट फर्केपछि युर्यातिनमा प्रेमिका लारासँग केही समय गुजार्छ । कमजोर स्वभावकी लारा छोरी र आफ्नो पेटमा हुर्कंदै गरेको युरीको सन्तानको भविष्य रक्षाका लागि भनेर कामारोब्स्कीले थापेको जालमा फँस्छे र उसलाई छाडेर जान्छे । त्यसपछि एक्लिएको युरी मस्को फर्कन्छ ।

उपन्यासले व्यक्त गरेको राजनीति, दर्शन र इतिहासको उथलपुथलपूर्ण समयका ऐतिहासिकतालाई व्यक्त गर्न सिनेमालाई मौका थियो । कमसेकम सन् १९०५ र १९१७ का क्रान्तिहरूको राजनीतिक अर्थप्रति उपन्यासले जे व्यक्त गरेको छ त्यो सिनेमामा कलात्मक रूपमा प्रस्तुत गर्न सम्भव थियो । सिनेमाले त्यसलाई जस्टिफाई गरेको छैन

सन् १९२२ मा गृहयुद्ध सकिएर नयाँ आर्थिक नीति लागू गरिएपछिको शान्त मस्कोमा फर्कंदा पनि ऊ लुक्दैछिप्दै पश्चिम उत्तरतिरको विशाल रूसमा पैदल हिंड्छ । जहाँ युद्ध र क्रान्तिप्रति क्रान्तिका धक्काले उजाड बनाएका मानिस र गाउँ तथा खेत–खलिहानका कथा छन् ।

अब जीवागोसँग न पत्नी रहन्छे न प्रेमिका । न उसको सम्मानपूर्ण पेशा नै उसलाई नसिव हुन्छ । केही लाञ्छना, वियोग र कविताले भने उसलाई साथ दिइरहन्छन् । ऊ लामो समय अवसादमा फस्छ । त्यही क्रममा ऊसँग मरिना भन्ने युवती आकर्षित हुन्छे । उनीहरूले बिहे गर्छन् जसको कानुनी हैसियत हुँदैन । दुइटा सन्तान हुन्छन् । सौतेलो भाइ एब्ग्राफ जीवागोले उसलाई अव्यवस्थित र अवसादग्रस्त जीवनबाट बाहिर निकाल्न मद्दत गर्छ । अन्तिममा जब ऊ कामका लागि तयार हुन्छ र अस्पतालमा कामका लागि जान निस्कन्छ, त्यही पहिलो बिहान हार्ट अट्याकका कारण सडकमै उसको मृत्यु हुन्छ । यसरी सामान्य कुरा बुझ्ने हुनलाग्दा बाबु आमा मरेर टुहुरो भएको, शान्त र सहज किशोरावस्था पार गरेर डाक्टरी पढेको, उच्च घरानाकी युवतीसँग बिहे गरेर कविता मार्फत आफूलाई व्यक्त गरिरहेको युरीको जीवन युद्ध र क्रान्तिको हुरीमा परेपछि वियोगान्तमा टुंगिएको छ । उपन्यासको सार यही हो ।

उपन्यासको अर्को पात्र लारा पनि मानसिक विषादमा पुगेर आत्महत्याको प्रयास गर्छे । अस्पताल बस्छे र बाँच्छे । छोरो जन्मन्छ तर उसलाई छोराछोरीको मायाले तान्दैन । छोराछोरी रेलवे स्टेशनको सिग्नलको काम गर्ने महिलाको जिम्मामा हुन्छन् । छोरो कुपोषणग्रस्त हुन्छ । उसका दुवै खुट्टा सुकेका हुन्छन् । तीन वर्षको हुँदा ऊ डाँकुबाट मारिन्छ । छोरी लावारिस भएर हुर्कन्छे र अन्त्यमा दोस्रो विश्वयुद्धका समयमा सेनाको टुकडीमा तोन्या नामकी धोबिनी बनेकी हुन्छे । जहाँ युरीको भाइ मेजर जनरल एब्ग्राफ जीवागोले उसलाई भेटाउँछ र युद्धपछि उसलाई संरक्षण गर्ने आश्वासन दिन्छ ।

उपन्यासमा मलाई रोचक लागेको अर्को पात्र हो-अन्तिपव पाशा । ऊ मस्कोको साधारण मजदुर परिवारमा हुर्कन्छ । बाबु मजदुर नेता छ र निर्वासनमा गएको छ । प्रेममा चुर्लुम्म डुबेर पनि लारासँगको सम्बन्धमा ऊभित्र एउटा मनोवैज्ञानिक समस्या हुर्कंदैछ । लारा उसलाई पतिका रूपमा मात्र हैन आफ्नो छोराको जस्तो या आफूभन्दा जुनियर पुरुषलाई गरिने सहानुभूतिपूर्ण माया र स्याहार गर्छे । यसले पाशालाई एकप्रकारको हीनताबोेध गराउँछ । यसबाट उम्कने उपायको रूपमा ऊ पहिलो विश्वयुद्धमा सामेल हुन सेनामा भर्ती भएर जान्छ । जर्मनीहरूले युद्धबन्दी बनाउँछन् । छुटेपछि लालसेनामा भर्ती हुन्छ । आफ्नो नाम स्त्रेल्निकोव राख्छ । लालसेनाले उसलाई कोर्टमार्शल गर्ने भएपछि साइवेरियाबाट भाग्दै हिंडेर रिविकिनामा आएर लुकेर बस्छ । ऊ युरीलाई आफ्नो जीवन कहानी सुनाउँछ । लारासँगको प्रेमको कुरा गर्छ । लाराले उसलाई अझै प्रेम गर्छे भन्ने सुनेपछि ऊ आश्चर्यचकित बन्छ, एकप्रकारको प्रायश्चित्तको मूडमा पुग्छ । अन्तिममा, युरी सुतिसकेपछि पाशा आँगनमा निस्केर आफैंलाई गोलीले उडाउँछ ।

यी बाहेक पनि सयौं पात्रहरू मार्फत पास्तरनाकले उपन्यास कथेका छन् । यो उपन्यास दोस्तोब्स्की, चेखव, तोलस्तोय र गोर्कीकै परम्पराको एउटा शास्त्रीय रूसी साहित्य हो । यसले रूसको महानताको गीत गाएको छ सँगै क्रान्ति र युद्धले थोपर्ने ज्यादतीको विरोधमा आवाज उठाएको छ ।

लेखन आफैंमा काव्यात्मक छ र दार्शनिक अवधारणाहरू उत्तिकै बलशाली छन् जसमा पास्तरनाकले आफ्नो जीवन र रसियाका इतिहासका भोगाइहरूलाई विस्तारमा चर्चा गरेका छन् ।

कथा बिगारेको सिनेमालाई पाँच विधामा ओस्कार !

सन् १९६५ मा अमेरिकी निर्देशक डेभिड लिनले डा. जीवागो उपन्यासमा आधारित रहेर सिनेमा बनाएका थिए । रूसमा छायांकन गर्न अनुमति नपाएपछि उस्तै लाग्ने लोकेसन बनाएर स्पेनमा यसको छायांकन गरियो । केही भाग भने फिनल्याण्डमा छायांकन गरिएको थियो ।

सिनेमामा डा. जीवागोको भूमिका ओमर सरिफले, उनकी प्रेमिका लाराको भूमिका जुली क्रिष्टिले, पत्नी तोन्याको भूमिका जेराल्डिन च्याप्लिनले, कोमारोब्स्कीको भूमिका रोड स्टिगरले र पाशाको भूमिका टोम कुर्टेनेइले निर्वाह गरेका छन् ।

सिनेमा उपन्यासमा आधारित भए पनि यसमा निर्देशकले आफ्नो कल्पनाशीलताको भरपूर प्रयोग गरेका छन् ।

यो सिनेमाले १९६७ मा पाँचवटा विधामा एकेडेमी अवार्ड (अस्कर अवार्ड) जितेको थियो । उपन्यासको कथालाई सिनेमा र पुरस्कार मिलेर थप राजनीतिक बनाएका थिए ।

उपन्यासको कथा र सिनेमामा निर्देशकले उतारेको कथा अतुलनीय रूपमा भिन्न देखिन्छन् । मुख्य कथा उही हो । आन्दोलन, क्रान्ति, युद्ध र अभावका अनेक दृश्य सिनेमामा पनि छन् । सम्भ्रान्त वर्ग र मजदुरहरूका बस्तीका दृश्यहरू पनि छन् । तर, ती सबै युरीको जीवनलाई अथ्र्याउन आवश्यक भएको ठाउँमा मात्र समावेश गरिएका जस्ता लाग्छन् । निर्देशकले ३ घण्टा ४५ मिनेटको सिनेमामा युरी, लारा, तोन्या, कमारोब्स्कीका वरपर राखेर कथा तन्काएका छन् । प्लटहरू यसरी सिर्जना गरिएको छ जसले युरी अर्थात् डा. जीवागोको जीवन महिलाको पछि कुद्दैमा र कविता लेख्दैमा बितेको छ । लाराको जीवन पुरुषहरूको साथ खोज्दैमा र प्रेम गर्दैमा बितेको छ । तोन्याको जीवन एउटी निष्फिक्री बाल्यकाल विताएकी सम्भ्रान्त परिवारकी अनुशासित छोरी र पति र सन्तानको खुशी खोजीरहेकी गृहिणीको रूपमा देखाइएको छ । त्रिकोणात्मक सम्बन्ध (लाराका हकमा त ऊ तीन जना पुरुषका बीच डालोयमान छे) का जटिलताका केही पक्ष भने यसमा केलाइएको छ ।

तर, यी मानिसहरूका भित्र भइरहेको उथलपुथलका कारण र समाजमा घटिरहेका घटनाहरूका अन्तर्य केलाउनेतिर सिनेमाले ध्यान दिएको छैन । मूल कथामा रहेको प्रेम प्रसंगलाई लेखकले लामो दृश्यमा तन्काएर देखाउन खोज्दा कथाको मर्ममाथि खेलबाड भएको छ ।

सय वर्ष अगाडिको रूसको भए पनि कतिपय सन्दर्भहरू, हामीले भोगेको समयका दिक्दारीहरू र हाम्रा आकांक्षा र सपनाहरूको दर्दनाक मृत्युका हामी जसरी साक्षी भइरहेका छौं त्यसरी नै पास्तरनाक आफ्नो समयका साक्षी थिए । उनका र आफ्ना अनुभूतिहरू मिल्दा, उनका चरित्रहरूमा साधारण मानिसका जीवनदृष्टि र जिजीविषाका लागि गरेका संघर्षहरू पढ्दा आफैंले व्यहोरेको जीवनसँग तादात्म्य मिलेको जस्तो लाग्छ

उपन्यासले व्यक्त गरेको राजनीति, दर्शन र इतिहासको उथलपुथलपूर्ण समयका ऐतिहासिकतालाई व्यक्त गर्न सिनेमालाई मौका थियो । कमसेकम सन् १९०५ र १९१७ का क्रान्तिहरूको राजनीतिक अर्थप्रति उपन्यासले जे व्यक्त गरेको छ त्यो सिनेमामा कलात्मक रूपमा प्रस्तुत गर्न सम्भव थियो । सिनेमाले त्यसलाई जस्टिफाई गरेको छैन ।

बरु सिनेमा त एउटा रोमान्टिक प्रेम कहानी वरपर अघि बढाएर र परम्परागत समाजमा रूसी कुलीन वर्गले उपभोग गरेको सुविधा खोसिनुका रूपमा मात्र समग्र क्रान्ति र प्रतिक्रान्तिका घटनालाई न्यूनीकरण गर्दैमा सकिएको छ । रूसी अक्टोबर क्रान्ति विश्व राजनीतिको इतिहासलाई नयाँ मोड दिने फ्रेन्च क्रान्ति जत्तिकै महत्वको बीसौं शताब्दीको ऐतिहासिक घटना हो । सय वर्षपछि पनि विश्व राजनीतिका विचारधारात्मक बहसहरू अक्टोबर क्रान्ति र समाजवादका पक्ष या विपक्षमा बहस गर्दैछन् । एउटा स्कुल अफ थटका रूपमा त्यसको अध्ययन र चर्चा भइरहेको छ । त्यसको महत्व र अर्थलाई पनि उपन्यासले अर्थपूर्ण रूपमा अघि सारेको छ । तर सिनेमा त्यता प्रवेश गर्न चाहेको छैन ।

डेभिड लिनले यो सिनेमा बनाउन चासो दिनु र पास्तरनाकलाई पश्चिमाहरूले प्रशस्त सम्मान गर्नुका पछि कुनै साइनो छ कि छैन बुझ्न गाह्रो छ । यो सिनेमामा निर्देशकले पश्चिमाहरूलाई रसियाली क्रान्ति र त्यसले व्यक्तिको जीवनमा ल्याएको उथलपुथलको नितान्त वैयक्तिक भोगाइलाई देखाएका छन् । युद्धका बीभत्स दृश्यहरू, भग्नावशेष बनेका गाउँहरू, तत्कालीन समयको राजनीतिक दृश्य झल्काउने आन्दोलन र विद्रोहका झिल्काहरू र श्वेत सेनाको अन्तिम पराजयका अवस्था सहितका केही राजनीतिक सन्दर्भहरू सिनेमालाई अगाडि बढाउने उपक्रमलाई सहयोग गर्न मात्र आइपुगेका छन् ।

कमारोब्स्कीको चरित्रलाई भने सिनेमाले न्याय गरेको छ । छट्टु, सत्ताको चाल बुझेर चल्ने, हरदम महिलाहरूको शिकार गर्न हिंडे जस्तो, क्रान्ति अघि र पछि पनि आफूलाई सुविधायुक्त जीवनको बन्दोबस्त गर्न सक्ने दुष्ट प्रकृतिको व्यक्तित्व छ उसको । कमारोब्स्की मार्फत सिनेमाले शक्तिपूजक र अवसरवादीहरूले कसरी हरेक प्रतिकूलतामा पनि अनुकूल अवस्था सिर्जना गर्छन् भन्ने देखाउँछ ।

सिनेमाको अन्त्यलाई उपन्यासको अन्त्य भन्दा भिन्न अवस्थामा देखाइएको छ र नाटकीय मोडमा पुगेको छ ।

कुनै सहारा र पेशा नभएको, मुटु सम्बन्धी रोगले जीवनको अन्त्यतिर पुगेको तर लाराका नाममा आफ्नै लागि, प्रेम र दुनियाँका कविता लेखिबस्ने युरीको अवस्था दयनीय छ । एकदिन युरी मस्कोको एउटा सडकमा ट्राममा यात्रा गरिरहेको बेला झ्यालबाट लारालाई सडकमा हिंडिरहेको देख्छ । गाडीबाट ओर्लेर लारालाई बोलाउन निस्कन खोज्दै गरेको युरी हृदयघातका कारण भेट हुनु अगाडि नै मर्छ । लारा र छोराले उसको अन्तिम बिदाइ गर्छन् । युरीका कविताको पाण्डुलिपि कसैले लारालाई दिन्छ जहाँ लारालाई समर्पित कविताहरूको सँगालो हुन्छ । प्रहरी लाराको पिछा गरिरहेको छ । लारा छोराको खोकिलामा कविताको कपी थमाएर भाग्न खोज्छे तर प्रहरीले पक्राउ गर्छ । छोरो आफ्नो बाबुको कविता संग्रहको कपी हातमा लिएर अनिश्चित भविष्यतिर भागिरहेको छ । लारा प्रहरीको नियन्त्रणमा गाडीमा बसेर यो दृश्य हेरिरहेकी छ । यहींनेर गएर सिनेमा सकिएको छ ।

फिल्मको अन्तिम दृश्यले सोभियतकालीन समाजमा भएका अमानवीय दमन र स्वतन्त्रता हननको अवस्थातिर संकेत गरेको छ । बिम्वात्मक रूपमा यो मलाई सबैभन्दा मनपरेको दृश्य पनि हो ।

उपन्यासको अन्तिम दृश्य यस्तो छैन, त्यहाँ लाराकी छोरीका दुःखद् स्मृतिहरूको कथा छ ।

उपन्यासले एकजना साधारण मानिसको भुक्तमानको आँखाबाट तत्कालीन रसियाली समाजले व्यहोरेको राजनीतिक उथलपुथलका कथा भनेको छ । सिनेमाले चाहिं एउटा तटस्थ व्यक्तिले उसको इच्छा विपरितको घटनाक्रमका बीच परिवार र प्रेम सम्बन्धहरूको व्यवस्थापना कसरी गर्छ, दुःख सामना गर्ने विकल्पहरू कसरी खोज्छ भन्ने देखाउँछ । जमिनदारीको आधार नगुमाएको तर पूँजीवादी उत्पादन सम्बन्धमा प्रवेश गरेको तप्का र सरकारी सेवाले निर्माण गरेको रसियाली कुलीन वर्गको सदस्यका रूपमा डा. जीवागोको परिवारका दुःख-सुखका वरपर सिनेमाले यात्रा गर्छ ।

कथा भन्ने शैली, सिनेमाटोग्राफी, पात्रहरूको जीवन्त भूमिका, रसियाली हिउँद र कुलीनहरूको एरिष्टोक्रेटिक जीवनशैली देखाएको पक्षबाट हेर्दाचाहिं फिल्म गज्जबको छ ।

र, हामी

जीवन र समाज दुवै गतिशील छन् । आज भनेका सत्यहरू सधैं सत्य नहुन सक्छन् । तर यिनै क्रान्ति, घात-प्रतिघात, संघर्ष, पलायन, आलोचना र वैचारिक विमर्शहरूले समाजलाई अर्थपूर्ण बनाउन, मानिसको जीवनलाई सार्थक बनाउन सहयोग गरिरहन्छन् ।

म यहाँ उपन्यासमा पास्तरनाकले उभ्याएको पात्र डा. जीवागो र अरू पात्र मार्फत आफ्नो समयका सन्दर्भमा राखेका विचार र आफ्नो समयबीच केही तालमेल भेटाउँछु । हाम्रो समयको नापो पञ्चायत विरुद्ध गरिएको संघर्षदेखि गणतन्त्रको स्थापनासम्म हामीले गरेका प्रयास, साँचेका सपना, भूकम्प, नाकाबन्दी, कोरोना त्रासदीका कारण व्यहोरेका झञ्झावात र अहिले देखिएका परिणामका सन्दर्भ अनुसार तोक्न मिल्ने कालको कुरा हो । यसैमा पर्छन् कैयन्का जेल यात्रा, हत्या, सर्वस्वहरण, निर्वासन, भूमिगत जीवन र व्यहोरेका भुक्तमानहरू । सशस्त्र विद्रोहका समयमा भएका हत्या, अपहरण, दमन, घर–गाउँ निकाला, विस्थापन र गणतन्त्र प्राप्तिपछि विथोलिएका सपनाहरूको समुच्च सन्दर्भ पनि । सत्ता र विद्रोही पक्षका सशस्त्र फौजबाट भएका निर्दोष मानिसहरूको हत्या, टुहुरा भएका, घाइते र अपांगता भएका, बेपत्ता पारिएका, घर जलाइएका अनेक मानिसका पीडाको कोही एकजना भोक्ता राखेर लेख्न बस्यो भने हामीकहाँ डा. जीवागो जस्तै डा. चौधरी, डा. पुन, डा. विश्वकर्मा, डा. सुवेदी र त्यस्तै पात्रहरू बन्न सक्छन् ।

क्रान्ति, त्यसले स्थापित गर्ने नयाँ विचारधारात्मक वर्चस्व, त्यसलाई जस्टिफाई गर्न दिइने तर्कहरू र त्यसको नेतृत्वको सन्दर्भमा उनले व्यक्त गरेको विचार हाम्रो सन्दर्भमा पनि उतिकै मेल खान्छ । ‘तर अनुभवबाट थाहा हुन्छ कि विचार भन्नाले उनीहरूको तात्पर्य सिर्फ उनीहरूको प्रदर्शन, क्रान्ति र शासकहरूको गौरव गान मात्र बुझिन्छ जुन बहुत दुःखदायी लाग्छ । म यस मामिलामा त्यति चलाख छैन’ भनेर क्रान्तिका नाममा भएका घटना र त्यसको नेतृत्वको खोक्रोपनाका चित्र उतारेका छन् जुन हाम्रो सन्दर्भमा भनिएको हो कि जस्तो लाग्न सक्छ । म यस मामिलामा त्यति चलाख छैन भन्ने उनको भनाइमा म आफ्नो पनि उपस्थिति देख्छु ।

यसैगरी ‘मलाई यस्तो कुरा स्वीकार गर्न कठिन हुन्छ कि उनीहरू महान् हुन्, उज्ज्वल व्यक्तित्वहरू हुन् र म विचरा सामान्य मानिस हुँ’ (पृष्ठ ४७१) भनेर पास्तरनाकले साधारण नागरिकसँग टाढिंदै आफूलाई विशिष्ट भएको घमण्ड गर्ने नेतृत्वसँगको असहमति हाकाहाकी व्यक्त गरेका छन् । यी दुवै भनाइले नेपाली राजनीतिमा २०४६ र २०६३ पछि स्थापित भएको नेतृत्वको चरित्र निरुपण गरेको जस्तो लाग्छ ।

यदि केही नयाँ बनाउनु छ भने पुरानो नष्ट हुनैपर्छ (२३४) । हामी यही भनेर हिंडेको त हो । पुरानो नष्ट गरौं नयाँ बनाउँ । तर हाम्रा आन्दोलनहरू हरेक पटक अनेक सम्झौतामा गएर यसरी बिसाइए कि पुरानो पूरै नष्ट कहिल्यै भएन । नयाँले पुरानो व्यवस्थाको सड्दै गएको र मक्किएको संरचना र संस्थाहरूलाई मरम्मत गरेर नयाँ हो भन्दै हिंडिरह्यो । यसले गर्दा हरेक परिवर्तन पछि हामी भन्न बाध्य छौं कि व्यवस्था परिवर्तन त भयो अवस्था परिवर्तन भएन ।

उपन्यासका विभिन्न भागमा लेखकले आफ्नो दार्शनिक मत या विश्वदृष्टिलाई व्यक्त गरेका छन् । ‘तथ्यको त्यतिबेलासम्म अस्तित्व हुँदैन जबसम्म मानिस त्यसमा आफ्नो स्वतन्त्र विचार शक्तिको, प्रतिभाको थोरै अंश या कुनै परिकथा थप्दैन’ (पेज १५४, १५५) । जीवागोको यो भनाइले अस्तित्ववादको प्रतिनिधित्व गरेको छ ।

भयानक कष्ट र हण्डर सहेर पनि जीवनप्रति आशा जागिरहोस् भन्नेमा उनी सचेत छन् । आफैं अवसादपूर्ण जीवन विताइरहेको अवस्थामा युरी साथीहरूसँग भन्छ ‘जिउनुको अर्थ हो हमेसा अगाडि बढ्दै जानु, उँचाइतिर, परिपूर्णतातिर लम्कनु र त्यसलाई प्राप्त गर्नु ’(५५६) ।

‘…(क्रान्तिको) हरेक बिसौनी कैयन् अवस्थाबाट गुज्रन्छ, आरम्भमा त तर्कको जित, आलोचनात्मक प्रवृत्ति र पूर्वाग्रहहरूसँगको संघर्षको हो । …यसपछि दोस्रो अवस्था आउँछ, पिछलग्गुहरू, बनावटी सहानुभूति देखाउनेहरूको । कालो शक्तिको पल्ला भारी भएर आउँछ । सन्देह, षडयन्त्र, भत्र्सना, नफरतको बोलवाला हुन्छ’ (४७२) ।

जेलनेल भोगेको, सशस्त्र युद्ध गरेको साम्यवाद र उदारवादको राजनीति गर्न हिंडेको हाम्रै नेतृत्व आज के गर्दैछ, कसको सेवा गर्दैछ र कसले क्रान्तिको फाइदा लिइरहेको छ भनेर आजको नेपालको अवस्थाका बारेमा बुझाउन योभन्दा बढी के नै भन्नु आवश्यक छ र ?

हो, समय सय वर्ष अगाडिको रूसको भए पनि कतिपय सन्दर्भहरू, हामीले भोगेको समयका दिक्दारीहरू र हाम्रा आकांक्षा र सपनाहरूको दर्दनाक मृत्युका हामी जसरी साक्षी भइरहेका छौं त्यसरी नै पास्तरनाक आफ्नो समयका साक्षी थिए । उनका र आफ्ना अनुभूतिहरू मिल्दा, उनका चरित्रहरूमा साधारण मानिसका जीवनदृष्टि र जिजीविषाका लागि गरेका संघर्षहरू पढ्दा मलाई आफ्नो समयसँग आफैंले व्यहोरेको जीवनसँग तादात्म्य मिलेको जस्तो लाग्छ ।

जीवन र समाज दुवै गतिशील छन् । आज भनेका सत्यहरू सधैं सत्य नहुन सक्छन् । तर यिनै क्रान्ति, घात-प्रतिघात, संघर्ष, पलायन, आलोचना र वैचारिक विमर्शहरूले समाजलाई अर्थपूर्ण बनाउन, मानिसको जीवनलाई सार्थक बनाउन सहयोग गरिरहन्छन् ।

क्रान्ति जति सत्य र भ्रम हो जीवन त्योभन्दा बढी नै सत्य हो । समयले ल्याउने झञ्झावात र हान्ने झापडले नै त जीवन र समाजलाई परिपक्व बनाउँछन् ।

published in onlinekhabar.com

Saturday, June 1, 2024

गगनले गरिरहेको एउटा गल्ती !

 मैले गगन थापाका विषयमा लेख्नु र उनीप्रति सहानुभूति देखाउनुको अर्थ के हुनसक्छ भन्ने मलाई खासै अनुमान छैन । यसअघि पनि मैले उनका बारेमा सहानुभूति प्रकट गर्दै र राजनीतिक शक्ति हासिल गर्ने उनका प्रयासको समर्थन गर्दै लेखेको छु ।

तर, म उनको मतदाता हैन, उनको दलको पराजय र त्यसको साटो छिर्केमिर्के जस्ता वामपन्थी या कम्युनिष्ट पार्टीहरूले जितून् भन्ने चाहन्छु । उनी र म फरक डुंगामा यात्रारत छौँ र यो अविकास, लम्पट शासकीय शैली र मुलुकको दुरावस्था हटोस् भन्नेमा केही हाम्रा समान आकाङ्क्षा छन् ।

उनी नेपाली कांग्रेसको सभापति र देशको प्रधानमन्त्री हुने योजनासहित सक्रिय छन् र अहिले नै पार्टी महामन्त्री छन् । म अहिले पनि कुनै दलको नेतृत्वमा छैन । कमसेकम अहिले भन्न सकिन्छ कि भविष्यमा पनि कुनै दलको नेता हुने, प्रधानमन्त्री त के कुनै पनि तहको जनप्रतिनिधि बन्ने सम्भावनासमेत छैन । (गत निर्वाचनका समयमा मलाई प्रतिनिधिसभा सदस्यका रूपमा जान मन लागेको साँच्चै हो । आफ्नो किशोर र युवावय राजनीतिमा बिताएको र एमाले निर्माणमा भूमिका खेलेको हुनाले पनि म आग्रहवश त्यस्तो मनोदशामा पुगेको हुँदो हुँ । अहिले फर्केर हेर्दा एमालेमा आफ्ना लागि स्पेस खोज्न जाने मेरो बुझाइ नै गलत रहेछ, आफ्नै मूल्याङ्कन बढाइचढाइ गरेछु जस्तो लाग्छ । कमरेड केपी ओलीलाई मेरो उपस्थिती फिटिक्कै रुचिकर लागेन । सायद उनी मप्रति निकै पूर्वाग्रह राख्थे होला। मैले लेखनमार्फत उनका कतिपय राजनीतिक दृष्टिकोण र निर्णयहरूको आलोचना गरेकोमा प्रतिशोधको भावना पनि हुँदो हो । उनले टिकट नदिएका मात्र हैनन्, पार्टीको मैदानमा प्रवेश गर्न पनि दिएनन् । अहिलेचाहिँ नकारात्मक रूपमा भएपनि उनले मेरो हित नै गरेछन् भनेर मनमनै धन्यवाद दिने गर्छु । कमसेकम अहिलेको संसदमा भइरहेका गैरसंसदीय चलखेलको मूक साक्षी बस्नुपर्दा हुने हीनताबोधबाट म बचेको छु । दलको मर्यादाहीन स्वार्थी चलखेलको बचाउ गर्ने बाध्यताबाट बच्न पाएकोमा खुसी छु) ।

मेरो लेखनले गगनको राजनीतिक यात्रामा सहयोग या असहयोग गर्न सक्छ भन्ने कुरा पनि कुनै प्रमाणित सत्य हैन । तर, उदीयमान नेताका रूपमा उनले गरिरहेका प्रयासहरू सफल हुँदा कमसेकम अहिलेको जस्तो निराशा केही चिर्न सम्भव छ कि भन्ने आशा राख्छु । यसैगरी राजा ज्ञानेन्द्रको शासनको अन्त्य गर्न भएका आन्दोलनमा हामी सँगै थियौं भन्ने राजनीतिक साइनो पनि धमिलो धमिलो रूपमा कायमै छ । त्यसैले यो लेख लेख्न लागेको हुँ । यहाँ गगनले हालैका दिनमा देखाइरहेको सक्रियताका राजनीतिक प्रभाववारे चर्चा गरिने छ ।

गगनले कोर्न खोजेको रेखा

महामन्त्री बन्ने क्रममा र त्यसयता पनि गगनले नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा तय गर्न केही हस्तक्षेप गरेका छन् । पार्टीको आन्तरिक साङ्गठानिक जीवनलाई गति दिन उनले गरेका प्रयासले कांग्रेसलाई अलिकति जीवन्त बनाएको देखिन्छ । पार्टीभित्र र बाहिरका अनेक तह र तप्कालाई पार्टीमा जोड्ने र त्यस्तो शक्तिमूलतः कांग्रेसप्रति भन्दा पनि आफूप्रति बढी बफादार रहोस् भन्ने उनको प्रयास रहेको देखिन्छ ।

आजको व्यक्तिवादी राजनीतिमा यो प्रयासलाई अन्यथा लिनुपर्ने हुँदैन् । यसमा नोटेबल कामचाहिँ बीपि साहित्य मेला र जनतासँग कांग्रेसका नाममा उनले गरेको अभियान पर्छन् । योचाहिँ आन्तरिक जीवनको कुरा हो, जसले प्रकारान्तरले समाजलाई पनि गतिशील बनाइरहेको हुन्छ ।

उनले राजनीतिक विचारधाराका क्षेत्रमा गरिरहेको देखिने काम भने २०४६ सालमा गणेशमान सिंह, मदन भण्डारी तथा मनमोहन अधिकारीहरूले थालेको कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीचको सहकार्यको परम्परालाई तोड्न गरिरहेको प्रयास हो । यसका लागि पहिलो त उनले महाधिवेशनमा आफ्नो दललाई सामाजिक प्रजातन्त्रवादी पार्टीका रूपमा प्रस्तुत गर्न प्रयास गरेका थिए (यद्यपी त्यसमा महाधिवेशन हलमा चर्चा भएन)।

बीपिले कांग्रेसलाई २०१२ सालको वीरगञ्ज महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादको अनुयायी दलका रूपमा उभ्याएका थिए । त्यस यता कांग्रेसले आफ्नो दस्तावेज र नेताहरूको भाषणमा जहिले पनि बिपिको त्यही परम्परालाई धानेको दाबी गर्दै आएको छ । उक्त कार्यक्रममा आर्थतन्त्रका क्षेत्रमा मार्क्सवादका प्रभावहरू थिए । राजनीतिक क्षेत्रमा उदारवादलाई सहि ठहर्‍याइएको थियो । यद्यपी कांग्रेसले २०४८ पछि उक्त कार्यक्रमलाई खोपामा थन्क्याएर नवउदारवादतिरको यात्रा तय गरेको थियो । गगनले अघि सारेको सामाजिक प्रजातन्त्रले अर्थतन्त्रका क्षेत्रमा नवउदारवादी दृष्टिकोण र सामाजिक सेवाका क्षेत्रमा लोककल्याणकारी राज्यको अवधारणा बोकेको छ।

अलिकति यूरोपेली लेबर पार्टीहरूको धारणाको नजिक भएपनि आर्थिक दृष्टिले यसले पच्छ्याउने भनेको मिल्टन फ्रायडम्यानहरूको नव–शास्त्रीय अर्थशास्त्रको अवधारणा हो । सारतः यो अहिलेको अमेरिकी बेलायती अर्थनीतिहरूकै प्रतिलिपि हो । कम्युनिष्ट पार्टीहरूले लिने आर्थिक नीतिहरू या त्यसको व्याकरण र गगनले अगाडी सारेका आर्थिक नीतिहरूमा अवधारणागत प्रभावका दृष्टिले फरक कोणहरू निर्माण हुनेछन् र यसले वैचारिक ध्रुवीकरणलाई गति दिने छ ।

गगन किन गठबन्धनका विपक्षमा छन् त ? प्रष्ट छ उनी देशमा तीव्र राजनीतिक ध्रवीकरण होस् र त्यस्तो ध्रुवीकरणले वामपन्थी भनिनेहरू एकातिर र दक्षिणपन्थी या मध्यदक्षिणपन्थी शक्तिहरू सबै कांग्रेसको वरपर जाने बाध्यता आओस् भन्ने चाहन्छन् । उनको निकटका सहयोगीहरूले सामाजिक सञ्जालमा कम्युनिष्टहरूविरुद्ध गर्ने निकृष्ट टिप्पणी हेर्दा पनि गगनको समूह कम्युनिष्टहरूप्रति घृणा फैलाएर आफ्नो राजनीतिक ‘स्पेस’ विस्तार गर्न चाहन्छ भन्ने देखाउँछ ।

व्यावहारिक राजनीतिका क्षेत्रमा गगनले पहिलो आक्रमण निर्वाचन पूर्वदलहरूका बीच सहकार्यको कांग्रेस संस्थापनको नीतिमाथि गरे । माओवादी र एकीकृत समाजवादीहरूसहितको गठबन्धनमा अघिल्लोपटक निर्वाचन लडेको कांग्रेसले त्यस्तो गठबन्धनकै कारण निर्वाचनमा पहिलो दल बन्ने अवसर पाएको थियो । माओवादी र नेकपा एकीकृतले ल्याएको समानुपातिक मत १५ प्रतिशत थियो । त्यो मतको ८० प्रतिशत प्रत्यक्षतर्फ कांग्रेसलाई गएको अनुमान गर्दा पनि कांग्रेसले जितेको ८९ सिटको महत्त्वपूर्ण हिस्सा गठवन्धनकै परिणाम थियो भन्ने अनुमान गर्न सकिन्छ । अहिले गठवन्धन नगरि उपनिर्वाचनमा जाँदा इलाममा र बझाङमा कांग्रेसले ल्याएको मत हेर्दा पनि त्यो कुरा पुष्टि हुन्छ।

त्यति हुँदाहुँदै पनि गगन किन गठबन्धनका विपक्षमा छन् त ? प्रष्ट छ उनी देशमा तीव्र राजनीतिक ध्रवीकरण होस् र त्यस्तो ध्रुवीकरणले वामपन्थी भनिनेहरू एकातिर र दक्षिणपन्थी या मध्यदक्षिणपन्थी शक्तिहरू सबै कांग्रेसको वरपर जाने बाध्यता आओस् भन्ने चाहन्छन् । उनको निकटका सहयोगीहरूले सामाजिक सञ्जालमा कम्युनिष्टहरूविरुद्ध गर्ने निकृष्ट टिप्पणी हेर्दा पनि गगनको समूह कम्युनिष्टहरूप्रति घृणा फैलाएर आफ्नो राजनीतिक ‘स्पेस’ विस्तार गर्न चाहन्छ भन्ने देखाउँछ । उनी वामपन्थीहरूसँग सहकार्य गर्नबाट तर्किरहेको अनूभव व्यक्तिगत रुपमा मसँग पनि छ ।

निर्वाचनहरूमा खसेको मतको प्रवृर्ति हेर्दा २०६४ र २०७४ को निर्वाचनमा बाहेक वामपन्थीहरूको कुल मतभन्दा गैरवामपन्थीले प्राप्त गरेको कुल मत संख्या बढी छ । यो मतको ठुलो हिस्सा आफूतिर तान्ने वातावरण बनेपछि मात्रै कांग्रेसले मुख्य दलका रूपमा विकास गर्न र सत्ता चलाउन सक्छ भन्ने उनको निष्कर्ष हुनसक्छ । यद्यपी नेपालको क्षेत्रीय तथा जातीय विविधतामा आधारित जनमतको एउटा हिस्सा सबैलाई यस्तो ध्रवीकरणमा सामेल गर्न सहज छैन ।

हाम्रो राजनीतिमा यस्तो ध्रुवीकरणको प्रयास केपी ओलीले पनि गरिरहेका छन् । केपी ओली र उनका महासचिव शंकर पोखरेलले राष्ट्रिय एकता र विकासका लागि बलियो शक्ति चाहिन्छ भन्दै गरिरहेको वकालत, वामपन्थी ध्रवीकरण हैन वामपन्थीहरूको एमालेमा सम्मिलनका लागि गरिएका प्रयासले यस्तो ध्रवीकरणलाई प्रोत्साहन दिन खोजेको प्रष्ट हुन्छ ।

योचाहिँ निश्चित हो कि अहिले कांग्रेस र कम्युनिष्टकाबीचका सहकार्य या जुनसुकै दल अर्को जुनसुकै दलसँग मिल्न सक्ने दिक्कलाग्दो राजनीतिक दाउपेच केवल सत्तामा पुग्न र त्यसमार्फत आफ्नाहरूले लुटखसोट गर्न पाउन भन्नेमा बढी लक्षित देखिन्छ । यस्तो स्वार्थको एकता र मोर्चाबन्दीको साटो विचारधाराका आधारमा प्रष्टाप्रष्टी रूपमा ध्रुवीकृत हुनु नराम्रो चैं होइन ।

यी दुवै पक्ष नेपाली राजनीतिमा राजतन्त्रका विपक्षमा मोर्चावन्दी गर्ने क्रममा स्थापित भएको कम्युनिष्ट कांग्रेस सहकार्यको परम्परा भत्काउने दाउमा छन् । देशभित्र बढ्दो निराशा र राजनीतिक दलहरूकाप्रति बढ्दो वितृष्णको शिकार हुनबाट बच्न यी दुवै पक्षले साना राजनीतिक दलहरूलाई दोष दिने र आफुलाई बलियो बनाउन अपिल गर्ने एकप्रकारको कपटी खेल पनि यही नारामा भेटेका छन् ।

योचाहिँ निश्चित हो कि अहिले कांग्रेस र कम्युनिष्टकाबीचका सहकार्य या जुनसुकै दल अर्को जुनसुकै दलसँग मिल्न सक्ने दिक्कलाग्दो राजनीतिक दाउपेच केवल सत्तामा पुग्न र त्यसमार्फत आफ्नाहरूले लुटखसोट गर्न पाउन भन्नेमा बढी लक्षित देखिन्छ । यस्तो स्वार्थको एकता र मोर्चाबन्दीको साटो विचारधाराका आधारमा प्रष्टाप्रष्टी रूपमा ध्रुवीकृत हुनु नराम्रो चैं होइन ।

गगनले गरिरहेको गल्ती

पछिल्लो समय सत्ताबाट बाहिरिएपछि कांग्रेस एकपटक बञ्चरो लागेर नढलेको राँगोझैँ रन्थनिएर यता र उता भागिरहेको जस्तो देखिन्छ । संसदमा आफू अल्पमतमा परिसकेपछि प्रतिपक्षको भूमिकामा रहनु र जनताका दैनिक सरोकारका विषयहरू तथा सत्ताका अनुचित निर्णयहरू उठाएर जनमत आफ्नो पक्षमा पार्नु स्वाभाविक हुन्थ्यो ।

तर, कांग्रेस संसदीय प्रक्रियालाई अवरुद्ध पारेर सरकार असफल बनाउने दाउमा लागेको छ । उसले यसबारेमा एमालेका गल्तीबाट राम्रो शिक्षा लिन नसकेको जस्तो लाग्छ । राष्ट्रपतिलाई दिइने धन्यवादलाई समेत संसदीय अल्पमत पक्षले बार्गेनिङको विषय बनाउनु संसदीय प्रणालीको नैतिक मापदण्डअनुरूप हैन भन्ने कांग्रेसलाई थाहा नभएको होइन ।

र, यो विवादको केन्द्रमा गगनले व्यवस्थित रुपमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई पारिरहेका छन् । संसदमा उनी जुरुक्क उठेर चर्को स्वरमा बोलिरहेका, पत्रकार सम्मेलन गरिरहेका र सामाजिक सञ्जालमा रविकै विरुद्ध लेखिरहेका देखिन्छन् । जेठ ९ गतेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले रवि लामिछानेको राजीनामा माग गर्दैै सडकमा ओर्लने निर्णयसमेत गरेको छ । तत्कालीन राजनीतिक दाउपेचका दृष्टिले यसलाई अन्यथा नमाने पनि गगनका लागि यो एउटा प्रत्युत्पादक कदम सावित हुने देखिन्छ ।

रवि लामिछाने गृह तथा उपप्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री, संसद र जनताप्रति उत्तरदायी छन् । उनले सहकारीको ब्रम्हलुटमा सामेल भएको भनेर आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ । आवस्यक परे कानूनी रूपमा सफाइ पनि लिनुपर्छ ।

उनलाई उत्तरदायी बनाउने काममा प्रतिपक्षका रूपमा कांग्रेसले र त्यसको एकजना नेताका रूपमा गगनले आवाज उठाउनु अस्वाभाविक हैन । तर, गगन रविका विपक्षमा यसरी लागिरहेका छन्, मानौं- रवि नै आगामी निर्वाचनमा गगन र कांग्रेसको प्रतिस्पर्धी हुन् । पहिलो त रविको दल रास्वपाको भविष्य त्यति उज्यालो छैन, जति एकवर्ष पहिले उपनिर्वाचनका समयमा थियो । दोस्रो रविको दलले मत बढाउँदा कांग्रेसलाई मात्र नोक्सान पर्ने हैन ।

रविको दल कमजोर हुँदा पनि या रवि नै कमजोर हुँदा पनि त्यसको प्रत्यक्ष लाभ सबै सोहोरिएर गगनको पोल्टामा जाने हैन । उदाहरणका लागि चितवनमा रवि हार्दा त्यसको लाभ नेकपा एमालेलाई जान्छ कांग्रेसलाई हैन । व्यक्तिका रूपमा पनि रवि गगनको प्रतिस्पर्धी हैनन् । कहाँ ८९ सिटको कांग्रेस, कहाँ २१ सिटको रास्वपा ।

तेस्रो रविको दल कमजोर हुँदा पनि या रवि नै कमजोर हुँदा पनि त्यसको प्रत्यक्ष लाभ सबै सोहोरिएर गगनको पोल्टामा जाने हैन । उदाहरणका लागि चितवनमा रवि हार्दा त्यसको लाभ नेकपा एमालेलाई जान्छ कांग्रेसलाई हैन । व्यक्तिका रूपमा पनि रवि गगनको प्रतिस्पर्धी हैनन् । कहाँ ८९ सिटको कांग्रेस, कहाँ २१ सिटको रास्वपा । उसले जति मत र सिट बढाएपनि अर्को निर्वाचनमा पहिलो दल बन्ने सम्भावना छैन । कांग्रेसले ढंग पुर्‍याउँदा त्यस्तो सम्भावना अझै राख्छ ।

अर्को कुरा नेपाली राजनीतिमा व्यक्तिका दृष्टिले गगनको प्रतिस्पर्धामा आउनुपर्ने एमालेका महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन हुन्। घनश्याम भुसाल र वर्षमान पुन तत्काल यस्तो प्रतिपस्पर्धामा आउन उनीहरूको दलको मताधारले दिँदैन । शंकर पोखरेल अहिले पनि एमालेका निर्णायक नेता हैनन् र निकट भविष्यमा अर्थात् आउने ८ वर्षसम्म ओलीबाट शंकरमा नेतृत्व आउने सम्भावना पनि छैन । एमालेको साङ्गठनिक तागतको भरबाहेक शंकरलाई गगनको जस्तो गैरपार्टी जनमतको लोकप्रिय समर्थन पनि हासिल भएको देखिँदैन ।

प्रचण्डको राजनीतिक तागत उनले अरु दलहरूसँग खेल्ने दाउपेचको खेलमा छ । जनमतलाई प्रभावित गर्ने साँगठनिक आधार माओवादीले गुमाइसकेको छ ।

शेरबहादुर देउवाको राजनीतिक आधार उनको उदारवादी विचार र काठमाडौंको सत्तारुढ वर्गसँगको उनको सम्बन्धमा आधारित छ । तर, उमेरका कारण उनी पनि आउने दिनमा नेपाली राजनीतिमा आफ्नो सान्दर्भिकता गुमाउने अवस्थाको सन्निकट छन् ।

यसरी हेर्दा आउने निर्वाचनमा गगनले, यदि उनी कांग्रेस सभापति बन्नसके भने  प्रतिस्पर्धा गर्ने भनेको एमाले अध्यक्ष केपी ओलीसँग नै हो । ओलीसँग गगनको भन्दा राजनीतिक पुँजी निकै धेरै छ । पार्टीभित्र अहिले कसैले पनि ओलीको राजनीतिक ‘अथोरिटी’लाई चुनौती दिन सक्दैन, दिने व्यक्तित्व तयार भएको छैन । इतिहासले पनि र वर्तमानमा जनमतको दृष्टिले (०७९को निर्वाचनमा प्राप्त मत) सबैभन्दा बढी मताधार भएको दलका नेताका हैसियतले पनि ओली नै समकालीन राजनीतिका बलशाली नेता हुन् । यसर्थ, गगनले आगामी निर्वाचनमा, प्रधानमन्त्रीको उम्मेदवारका रूपमा कांग्रेसबाट अनुमोदन पाए भने पनि उनको चुनौती हुन् केपी ओली ।

तर, गगन अहिले जे गरिरहेका छन्, जो ओलीप्रति कतै लक्षित छैन् । आफूभन्दा धेरै जुनीयर र राजनीतिक पुँजी नभएका एकजना पपुलिष्ट रवि लामिछानेको पछि सुरुवाल खैंचेर दौडिरहेका देखिन्छन् । उनको प्रयासले रवि लामिछानेको पद तत्कालका लागि धरापमा परेछ नै भने पनि या रास्वपाको प्रभाव विस्तार स्थिर भएछ भने पनि त्यसको राजनीतिक लाभ गगनलाई मात्र हात लाग्ने होइन । कांग्रेस, एमाले र माओवादीबाट आजित भएर रविका पछि लागेको जनमतले जति कांग्रेसको मताधार भत्केको छ, त्यति नै एमालेको पनि भत्केको छ । यसरी बाहिरिएको जनमत आफ्ना घरतिर फर्क्यो भने त्यसको लाभ कांग्रेसलाई जति एमालेलाई पनि हुन्छ ।

तत्काल हेर्दा रवि र ओलीको स्वार्थ एकै ठाउँमा गाँसिएको देखिएपनि यो दुवैको राजनीतिक दाउपेचको विषय मात्र हो । दिर्घकालीन सहयात्राको गठबन्धन होइन । अन्तिममा रवि र प्रतिपक्षमध्ये एउटा रोज्नुपर्ने भयो या रविको छविको भारी बोक्न गाह्रो भयो भने ओलीले कुनैपनि बेला उनलाई काखबाट हुत्याइदिन सक्छन् ।

तत्काल हेर्दा रवि र ओलीको स्वार्थ एकै ठाउँमा गाँसिएको देखिएपनि यो दुवैको राजनीतिक दाउपेचको विषय मात्र हो । दिर्घकालीन सहयात्राको गठबन्धन होइन । अन्तिममा रवि र प्रतिपक्षमध्ये एउटा रोज्नुपर्ने भयो या रविको छविको भारी बोक्न गाह्रो भयो भने ओलीले कुनैपनि बेला उनलाई काखबाट हुत्याइदिन सक्छन् । आफ्नै सहकर्मी माधव नेपालहरूसँग पनि मिल्न नसक्ने ओलीले रविलाई अर्को निर्वाचनमा साथ लिएर जाने सम्भावना पनि छैन । त्यस्तो भयो भने पनि त्यो कमल थापा या राजेन्द्र लिङ्देनसँगको सहकार्यको हैसियतभन्दा माथि जाने सम्भावना झनै छैन । उनका लागि रवि लामिछानेसँग भन्दा प्रचण्डसँगको सहकार्य सहज हुनेछ ।

यस्तो अवस्थामा ओलीलाई छाडेर रविमाथि बर्साइरहेको लाठीले गगनलाई नै कमजोर हैसियतको देखाउने छ । यो मैले यसै भनेको पनि हैन । केहीदिन पहिले एकजना गगनका शुभचिन्तक पत्रकारले सोधेका थिए कि रवि र गगनजस्ता युवाका बीच प्रतिस्पर्धा देखिनुलाई कसरी लिनुहुन्छ ? यसको अर्थ कांग्रेसकै तल्लो तहमा पनि गगनले रविलाई देखाइदियो कमजोर बनायो भन्ने सन्देश जाला । तर, गगनको प्रतिस्पर्धा आफूभन्दा कमजोर व्यक्तिसँग भएको स्वीकार गर्दा उनको हैसियत पनि एक तह तल झरेको सन्देश जानेछ । उनले गरिरहेको गल्ती यही हो ।

रवि साथमा नभएपनि ओलीको शक्ति घट्ने हैन । ओली सत्ता र शक्तिका पुराना खेलाडी हुन् र उनी हारलाई कानूनी रुपमा बाहेक स्वीकार्ने मानसिकताका छोटो दूरीका यात्रु हैनन् । आउने माहाधिवेशनबाट पनि ओली अध्यक्ष हुने निश्चितजस्तो देखिएको छ । एमालेले आउने निर्वाचन ओलीकै नेतृत्वमा या उनलाई प्रधानमन्त्री मानेर लड्ने पनि पक्का छ । त्यतिबेला गगनले ओलीलाई इतिहासमा गरेका काम र व्यवहारका लागि आलोचना गर्न त पाउलान् तर, कांग्रेसले इतिहासमा गरेको गल्तीहरूको भारी पनि गगनको थाप्लोमा बोझ बनेर बसिरहने छ ।

यस्तो अवस्थामा अहिले नै गगनले आफूलाई रविको स्तरमा राखेर प्रतिस्पर्धा गरेको देखिनुले उनलाई कमजोर बनाएको छ । उनले त अब आफ्नो सम्पूर्ण ध्यान ओलीसँगको प्रतिस्पर्धाका लागि लगाउनुपर्ने हो । एकजना पर्यवेक्षकका रूपमा म गगनको ध्यान यतातिर आकर्षित गर्न चाहन्छु ।

 १० जेठ २०८१ १८:५०

Nepalviews.com