कमरेड केसी र ‘कम’रेड भेटवाल
म आफूलाई अहिले पनि सगर्व एमाले हुँ भन्न रुचाउँछु । भ्रम नरहोस् यहाँ विमल निभाको परिभाषाअनुसारको एमाले भनिएको हो । हो म एमाले नै हुँ : ‘एउटा माक्र्सवादी लेखक’ । यो विचित्रको संसारमा मेरो राजनीतिक हैसियत पनि विचित्रसँग एमाले अर्थात् एकीकृत माक्र्सवादी लेनिनवादी पार्टीसँग भूतदेखि वर्तमानसम्म गाँसिएको छ । मैले ०५९ सालपछि लुसुक्क अर्थात् विनाहल्लाखल्ला पार्टीसँगको औपचारिक सम्बन्ध त्यागेको थिएँ । कुनै अर्को पार्टीमा प्रवेश गरेर या एमालेसँग कुनै झ्वाँक फेर्न परित्यागको वक्तव्य दिएर म एमाले भन्ने पार्टीमा नरहेको होइन । बरु विशुद्ध एमाले (एउटा माक्र्सवादी लेखक) बन्न सकिन्छ कि भनेर म यसरी एक अर्थमा एउटा एमालेबाट अर्कोमा ‘पलायन’ भएको थिएँ । तर, म लेखक एमालेलाई पार्टी एमालेले भने आफ्नो नियन्त्रणमा राख्ने प्रयास अझै छाडेको छैन । कसैले पोखरा बैरागी वनछेउमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीको कास्की जिल्ला पार्टी कार्यालय भवनको कुनै दराजमा थन्क्याइएको ०६५ साल वैशाखको जिल्ला कमिटी बैठकको माइन्युट पल्टाएर हेर्यो भने म अझै पनि सांगठनिक रूपले एमालेमै देखिनेछु । उक्त निर्णयबारे...