वास्तवमा यो लेखको शिर्षक यस्तो नलेख्न पनि सकिन्थ्यो । बरु यसलाई हिउँको गीत, नेपाली उपन्यासको नयाँ उचाइ भनेको भएपनि केही बिग्रन्नथ्यो । लेखकले त हिँउको गीत भनेर यसलाई एउटा प्राकृतिक र आसावादी नाम दिएका छन् । रोमाञ्चीत बनाउने नाम । कभरमा भएको हिउँ चितुवाको चित्रले उपान्यासको खास भाव उतार्दैन । पढ्दै जाँदा हिउँसँग जोडिएका क्होलावासीका दुःख हण्डर र खुशीका अनेक प्रसंग छन् । वास्तवमा यो हिँउको गीत नभएर मान्छेहरुका खुशी र विरहका अनेक गीतहरुको संगालोजस्तो छ । त्यसैले गीत भनेर शिर्षक लेख्न पनि मलाई अप्ठेरो लागेको हो ।
गीत भन्ने नै हो भनेपनि यो एउटा ब्लुज हो क्होलावासी साधारण मानिसहरुको, बाबुको पहिचान नखुलेर केटीहरुले नपत्याएका प्रख्यहरुको, बोक्सी भनेर लाञ्छित उक्र्या र पाते पुइलाहरुको, पुरुषले वैंश लुटेर छाडेका युवतीहरुको, शासकहरुको तारो बनेका साँला पस्को क्रोमी र कारहरुको । कचः लुतुहरु, नानी छ्यामिरी, क्रोंस्योहरुको । मृत्युले आँट नगरिदिएर शरिरमा लेउ लागुञ्जेल बाँच्न विवश बाजे म्युउराहरुको । मारटः र अलिदेवहरुको ब्लुज । हिमालको चिसो सिरेटो या हिउँको बाक्लो च्यादरले लपेटिएका गाउँलेहरुको सुस्केरा हो ।
यती स्पष्टिकरण पछि आउनोस एकछिन् नेपाली उपन्यासमा भिन्न भिन्न विषय र कथ्यहरुका सन्दर्भमा एउटा अर्थपूर्ण उचाइको उपन्यास हिउँको गीतबारे चर्चा गरौं । र यति त थपौं कि, लाष्ट वास्टर्डस् शब्दहरु यसै उपन्यास भित्र लेखकले स्थापित गरेको न्यारेटिव र प्रयोग गरेको वाक्यांसबाटै पैंचो लिइएको हो ।
कथा भूगोल
तिर्थ गुरुङ मेरा गाउँ भन्दा अलि परका तर राजनीतिक नाप नक्साले एउटै पालिकाका वासिन्दा भएपनि मेरो कम संगत भएका नवोदित आख्यानकार हुन् । पोखरा जाँदा रिडर्स कर्नरमा कहिलेकहिँ चुपचाप र शान्त भावमा आँखाले प्रश्न र जिज्ञासा व्यक्त गरिरहेको, सुनाउन चासो नराख्ने र सुन्न उत्सुक हुने तिर्थसँग चिया र कफिको चुस्कीसँग थोरै गफ मैले पनि लडाएको छु, मानौ आख्यानमा उ विद्यार्थी हो र म शिक्षक (अब अहिले लाज लाग्ने कुरा बन्यो त के गरौं) । उसको यस अगाडीको उपन्यास पाठशाला किनेर ल्याएको वर्षौं हुँदा पनि पढेको छैन । पढ्दिन या राम्रो छैन भनेर हैन । कतिपय पुस्तक यस्तै हुन पुग्छ जस्तो गनेश पौडेलको पाइताला । तिर्थको कथासंग्रह आपा क्हार्प चैं पढेको छु । त्यसैबाट थाहा भएको थियो एउटा गम्भिर लेखक यतै सिक्लेस (च्यिइली) को धप्राङ थरबाट उठेर काठमाण्डौका डबलीहरुसम्म विस्तार हुँदैछ भनेर ।
धप्राङ थर टाढाबाट जानेका लागि गाउँकै एउटा हिस्सा हो । परम्परागत ठेलो हान्ने फराकिलो बाटोले यो टोललाई सिक्लेसका अरु वस्तीहरुबाट धेरैकुरामा अलग्याउँछ । त्यसलाई बुझ्न भने स्थानीय गुरुङ समाजको मानवशास्त्रीय या समाजशास्त्रीय अध्ययन गर्नु आवस्यक हुन्छ । उहिले मञ्जुश्रीले दि व्याइ फ्रम सिक्लेस पुस्तकबाट चिनाएको सिक्लेसको ठिटो चन्द्रबहादुरको आँगनको डिलमुनी (गाउँको सिरानबाट दोस्रो) पूर्वदक्षिण कोणमा यिनको घर छ । चन्द्रबहादुरका पुर्खा सिक्लेसका शासक थिए । त्यस अगाडी क्होला देखि नै घलेहरु उनीहरुका राजा थिए । घले राजालाई कुनै बेला स्थानीयले लघारेका थिए । उनको उपन्यासको भावभूमि यही सिक्लेसका पाखा पाँधेरा लेक, गोरेटा तथा गल्ली र घरहरुमा बुनीएको छ ।
अन्नपूर्ण र लमजुङ हिमालको सिरेटो यो गाउँमा सिधा पर्दैन थोरै छेलिएको छ । छोँचधिँबाट अलिकति देखिन्छ । खुलेको हिमाल हेर्न कि पार्चेको डिल तिर कि गाउँमाथिको खर्कतिर पुग्नुपर्छ । हिउँदमा लेकबाट भेडिगोठहरु गाउँमा झर्छन् र तलतल खिलाङ हुँदै मादी किनारको सोँधा चाँसुसम्म पुग्दाहुन् । गाइ भैंसीका गोठ र भेडिगोठको संख्या विस्तारै सिमित हुँदै गएका छन् । मादीका पारीपट्टी पहराका अक्करे भिरहरुमा भिरमौरीका घारहरु प्रसस्त छन् (अहिले हाइड्रो योजनाको शिकार पो भएकी ?) । सोँधासम्म फैलिएको खेतमा काम गर्न गाम वेसी गर्ने लामो उकालो ओह्रालो हिँड्ने यहाँका पुरानो पुस्ताका वासिन्दाका पाइताला चेप्टा र पिँडुलाहरु बटारिएका बलिया देखिन्छन् । अहिले पर्यटकीय महत्व बोेकेको कफुचे र कोरी जाने बाटो पनि यही भएर जान्छ ।
उहिले यहाँबाट नुन लिन नामुन भञ्ज्याङ हुँदै मनाङ जाने गर्थे । पाहा र माछा, मह, मृग र थारल तथा चरा च्याखुराहरुको शिकार खाद्य संस्कृतिको अनिवार्य हिस्सा थियो । यो मैले यहाँ उल्लेख गर्नुको अर्थ के भने उपन्यासका पात्रहरुको दिनचर्या यिनै कुराबाट बनेको छ । यस्तो लाग्छ उनले सिक्लेसको भित्तामा पारदर्शी क्यान्भास राखेर त्यहीँ क्होला सिर्जना गरेका छन् । क्होला लमजुङ हिमालको दक्षिणमा पर्ने लेकाली भिरालो पाखोे हो जहाँ गुरुङहरुको पहिलो व्यवस्थित बस्ती बसेको थियो । उनीहरु तिब्बतबाट मुस्ताङ मनाङ हुँदै नामुन कटेर यहाँ आएका थिए भन्ने भनिन्छ । क्होलामा तिन टोल थिए र त्यसैले क्होलासोँथरका नामले जानिन्छ । यही वस्तीका मानिसहरु सुविधाजनक वासस्थान खोज्दै बसाँइ सर्दै कम्तीमा ३०० वर्ष यता छरिएर मादी मस्र्याङ्दी मात्र हैन कालीगण्डकी देखि बुढी गण्डकीसम्मका लेकाली वस्ती र तल कछाडतिर विस्तारित भएका थिए । तिनै वासिन्दा, त्यही भूगोल र त्यहाँको ग्रामिण जीवनका शक्ति सम्बन्धहरु, स्त्रिपूरुष सम्बन्धहरु र जीवनका लयहरु यो उपन्यासमा उनिएको छ । गुरुङहरु सहित केही तिब्बतीयन समुदायमा बाहेक अरु नेपाली समाजमा नभेटिने एउटा सामाजिक समस्यालाइ उपन्यासले आफ्नो मुख्य विषय बनाएको छ ।
आख्यान र इतिहासको मिसमास, यथार्थ र मिथहरुको मिसमास र अलौकिक कथाहरुलाई यथार्थ समयसँग जोडेर कथा भन्ने शैली हेर्दा उनको उपन्यासमा मार्खेज, मो यान र मुराकामीका उपन्यासहरुमा प्रयुक्त म्याजिकल रियालिजमको राम्रो छाप देखिन्छ । सायद नानी कुचिरीले पाल्ने विरालाहरु सिधै मुराकामीकहाँबाट ल्याएर पालिएका हुन् कि जस्तो लाग्छन् ।
थोरै चर्चा कथाको
कथा केही व्रिटिश लाहुरेहरुको आफ्नो पुख्र्यौली थलो क्होलासोंथर घुम्ने योजनामा सामेल भएर गएको लेखकले गर्ने अनुभवबाट थालिएको छ । पोखराबाट आफ्ना दौंतरी उमेरका लाहुरेहरुको रमाइलो यात्रामा एउटा हिउँबहादुर (हिमेश) या डिस्को नामकोे व्रिटिश आर्मीको पूर्व लाहुरे छ जो अरुभन्दा अलि अनौठो व्यबहार गर्छ । विभिन्न लाहुरेहरुका कोसोभो, सियरालियोन, इराक र अफगान युद्धमा सामेल भएका व्रिटिश गोर्खाका अनुभव त छन् तर यो डिस्को (राम्रो नाच्ने भएकोले पाएको उपनाम) चैं युद्धको नाम सुन्न, बन्दुक देख्न र त्यसबारे कुरा गरेको पनि सुन्न नसक्ने गरी मानसिक रुपमा अशान्त छ । त्यससंगै पत्नीसँगको सम्बन्धले तनावमा छ । उसले अनौठो व्यबहार गर्छ । र क्होला पुगेपछि उही डिस्कोले सामान्य बोलीचालीबाट हराएको र पुरोहित (झाँक्री, पच्यु पैंडीहरुले) प्रयोग गर्ने चों भाषामा अनेक कुराहरु गरेको हुन्छ । असामान्य मनोदशामा उसले बोलेका कुराहरु रेकर्ड गरेको लेखकले तीनै कुराहरुमार्फत क्होलाका तमुहरुको समाज, सँस्कृति र अर्थसामाजिक अवस्थाका विषयमा यो कथा बुनेको देखाएका छन् ।
कथामा क्ह्याल्पा अर्थात म्रु (राजा), म्रुस्यो (रानी) म्रुधिँ (दरबार) समुदायको मुल स्तम्भका रुपमा देखिन्छन । आजको सापेक्षतामा या अन्य सभ्यताहरुको तुलनामा कम जटिलतायुक्त कविला समाजको संगठन देखाइएको छ जुन क्होलाका तमुहरुले पुर्खाहरुबाट सार्दै ल्याएको ज्ञानमा आधारित छ । उपन्यासमा नै डा. टेकबहादुर गुरुङले हालै चिनको एउटा विश्वविद्यालयमा गएर गरेको तमुहरुको जिनेटिक अध्ययनका सन्दर्भ छन् । अर्थात तमुहरुको उद्गम थलो चीनको कुनै भागमा रहेको छ जहाँबाट उनीहरुले आफ्नो ज्ञानको दायर फराकिलो बनाउँदै ल्याएका छन् । नयाँ परिस्थितीमा सामाञ्जस्यता कायम गरेका छन् ।
म्रु, पच्यु (झाँक्री या पण्डित), र दरवार निकट या उसले पत्याएका भद्रभलाद्मीहरुको समुहले शासन चलाउँछ । कहिले दाउरा काट्ने, कहिले शिकार खेल्ने, कहिले खेतीपाती गर्ने, कहिले गोठ लेकबेसी गर्ने भन्ने जस्ता विषयको निर्णय पच्युहरुले हेरकोर गरेर दिन निकाल्ने र त्यसका आधारमा म्रुले दिन तोकेर म्हिन (कटुवाल) मार्फत सुचना दिने गरेपछि लागु हुन्छ । त्यहाँ भित्र राजा कमजोर भएको समयमा यस्ता पच्यु र भद्र पुरुषहरुका बीच शक्तिका लागि संघर्ष हुन्छ ।
कथाको थालनी नै साँला पस्को (पस्को साँइला) ले मनाङ नुन लिन गएर फर्कदा ल्याएको बन्दुकको शक्तिबाट सुरु हुन्छ । यसले नयाँ प्रविधिले दिने चुनौती कसरी परम्परागत समाजले पन्छाउन खोज्छ भन्ने पनि देखाउन खोजिएको छ । म्रुलाइ नसोधी ल्याएको वन्दुकको शक्तिबाट तर्सेको मु्रले शिकार खेल्न गएको साँला पस्कोको हत्या गरेपछिका घटना र त्यसका प्रभावहरुबाट कथा बुनिदै गएको छ ।
शक्ति अभ्यासको अर्को परम्परा झाँक्री र बोक्सीका बीचको संघर्षका रुपमा देखाइएको छ । परम्परागत समाज धामी झाँक्रीहरुको भरमा रोग र दुःखसँग लड्दै आएको हुन्छ । उपन्यासले त्यसलाई देखाएको मात्र छैन बरु कसरी पच्युहरु गाउँलेहरुले बोक्सी मान्न छाडे भने अथवा बोक्सीले गाउँलेहरुलाई दुःख दिन छाडे भने जीविकामा संकट पर्छ भनेर डाराउँछन् भनेर खिल्ली पनि उडाएको छ ।
महिलाहरुमाथि कविलाई समाजमा पितृसत्तात्मक दमन कम हुन्छ भन्ने कुरालाई उपन्यासले एकप्रकारले खण्डित गरेको छ । घरभित्र बलिया देखिएपनि समाज र सामाजिक जीवनमा महिलाहरुको भूमिका सहयोगीको छ । रोपाई गरेर या हुरीबाट फर्कदा कुनै मिमै (केटा)को स्याखु बोकिदिने महिला भएनन् भने उ अपमानित हुनुपर्छ । अर्थात महिलाले पुरुषको इज्जत पनि सहयोगीकै रुपमा जोगाइदिनुपर्छ ।
समय अनुसारको नविन मुल्यप्रति युवाहरुको चासो र पुरातन मुल्यप्रति शासकहरुको चासोलाई पनि राम्ररी केलाइएको छ ।्
उपन्यासमा रोधिँ परम्परा, त्यसको संगठन र किशोरकिशोरीहरुको सामाजिकिकरणमा त्यसका प्रभावहरुको विस्तारमा चर्चा छ । एकजना पात्रलाई केहीवर्ष गाउँबाट हराएर नेपाल (काठमाण्डौ) पुगेर फर्केपछि उसले ल्याएको कला, सँस्कृति र ज्ञानको प्रभावको कुरा छ । अलिदेव (यहाँ जेठो छोरालाई ठागु नभनेर अलि भनिएको रहेछ, देव उसलाई काठमाणडौको समाजसंग अन्तरक्रिया गराएर लेखकले दिएको नाम हो) विस्तारै राजा मार्फत नै छिमेकी राज्यबाट आयात गरिएको दुर्गा पुजा, दशैं जस्ता चाडहरुको प्रभावले ल्याएको परिवर्तन, प्राकृतिक धर्म मान्ने गुरुङहरुमा तिब्बतीयन लामा धर्मको प्रभाव कसरी प्रवेश ग¥यो भन्ने सन्दर्भ छ ।
यसैगरी काठमाण्डौ बसेर नयाँ दुनिया र विश्व देखेर आएको राजा अलिदेव र औलतिरका धर्म संस्कृति र अर्थतन्त्र देखेर भोगेर आएको कल्साइ (अलिदेवकै मामा) का नयाँ चेतनाले क्होलावासीहरुलाई आफ्नो निरन्तरको दुःख, हिँउबाट कठ्याँग्रीनुपर्ने लामो हिँउद, धानको उप्तादन नहुने ठाउँको बसाइ (औलतिरका मानिसहरुसँग हुने व्यापारमा चामल पनि सामेल हुनेगरेकोले कहिलेकहिँ मात्र खान पाउने भातले गाउँलेहरुलाई आफ्नो परम्परागत खाद्यसँस्कृतिबाट पर खिच्दै लगेको छ र धानखेतको खोजी गर्न लोभ्याएको छ) समेतका कारण क्होलाबाट मादी किनारका इलाकाहरुमा बसाइ सर्न प्रेरित गरेको छ । बुढाहरु बसाँइ सर्ने कुराका विपक्षमा छन्, युवाहरु सर्न जोड गरिरहेका ।
कसैलाई अलिदेवहरुसँग सँगै च्यिइली (सिक्लेस) झर्न रुची छ अर्को पक्षलाई तोँनी तिर ( कोही क्रपुडाँडा हुँदै एउटा समुह सिङ्दी, पसगाउँ, अर्को समुह घनपोखरा घलेगाउँ, अर्को भुजुङ, फेरि अर्को समुह छुट्टिदै याङ्जाकोट, अर्को समुह लमतरी हुँदै वार्चाेक भाचोक झरेको भन्ने गुरुङहरुको बुझाइ छ) । उपन्यासले तमुहरुको इतिहासको यो पाटोका अर्थराजनीतिक र अर्थसामाजिक कारणतिर मज्जाले संकेत गरेको छ ।
खोरिया र गोठमा आश्रीत क्होलावासीहरुको चित्रण गर्दा लेखकले अलिकति गडवड गरेर ६ सय वर्ष पहिले नै क्होलावासीहरु स्थायी खेतीतिर गइसकेको जस्तो देखाउन खोजेका छन् । जुन तथ्यहरुसँग मेल खाँदैन । सिक्लेस झरेपछि नै खस आर्यहरुको संगत र देखासिकिले तमुहरुले गरा बनाएर स्थायी खेती गर्न थालेका हुन् ।
कथाको चुरो
यो उपन्यासको मुल चुरो चैं तमुहरुभित्र परम्पराका रुपमा रहेको विवाहेत्तर सम्बन्धबाट बच्चा जन्मेपछि त्यस्तो बच्चा र उसकी आमालाई सन्तानको बाबु र परिवारले स्विकार नगर्दा उत्पन्न सामाजिक समस्या हो । रोँधी या मेलापाता या बनपाखामा कुनै महिलालाई कुनै पुरुषले ( तमु समाजमा विद्यमान श्रेणिगत सामाजिक विभाजनमा तल रहेका या आर्थिक रुपमा तल्लोवर्गका परिवारका छोरीहरुलाई त्यस्तो तहगत विभाजनमा माथिरेहका परिवारका पुरुषहरुले) फकाएर या प्रेम गरेर अथवा धेरैजसो केसमा जबर्जस्ती करणी गरेर बच्चा जन्माउने र त्यस्तो बच्चालाई आफ्नो सन्तानका रुपमा स्विकार नगर्ने, उसकी आमालाई पनि विवाह गर्न अस्विकार गर्ने र अलपत्र पार्ने लामो परम्परा रहि आएको छ । यस्तो बच्चालाई प्रख्य भनिन्छ । बच्चा जन्मेपछि समाजमा प्रश्न उठ्ने र अर्को विवाह गर्नका लागि यस्तो बाहिर राखेकी प्रेमिका या आफ्ना सन्तानकी आमाबाट छुटकारा पाएको हुनुपर्ने दवावका कारण केही रुपैंया पैसा दिएर महिलालाई मुक्त गरिन्छ । उसको सन्तान चैं मावलीतिर हुर्कन्छ या आमासँग झड्केलोको रुपमा आमाको नयाँ पतिकहाँ पुग्छ । पछि कुनै कुनै बाबुहरुले आफ्नो घरमा गोठालो चाहिँदा गोठमा बोलाएर बस्न र काम गर्न दिन्छन् ।
त्यसरी हुर्केका केटाहरुलाई पछि बिहे गर्न निकै अप्ठेरो हुन्छ । यदि छोरो मावलीतिरबाट स्याहार पाएर पढ्न सक्यो, भर्ति भएर कमाउन सक्यो भने चैं बाबुहरुले आफ्नो जात दिन्छन् । नाम दिन्छन् । छोरीहरु पनि घरमा काम सघाउन मान्छे चाहियो भने बोलाएर राख्ने तर हेलाँ गरेर दास बनाउने प्रचलन थियो । अन्यथा यस्ताले जीवनभर आफ्नो जैविक बाबु पत्तो लाउन समेत गाह्रो हुन्छ । पछिल्लो समय नागरिकता लिन बाबुको नाम चाहिने हुँदा आमा या मावलीतिरकाहरुले जैविक बाबु चिनाइदिने गर्छन् । नागरिकता दिन बाबुहरु सकेसम्म मान्दै मान्दैनन्, मानिहाले पनि अंश दिनुनपर्ने गरि मात्र दिन्छन् (यस सम्बन्धमा उहिले गरिमामा मेरो एउटा कथा प्रकाशित छ प्रोगे । म वार्चोकमा २०३७ देखि २०३९ सम्म शिक्षक थिएँ । त्यहाँ प्रत्यक्ष देखे सुनेका घटनाको आउटसाइडर अब्जरभेशनको उपज थियो त्यो कथा । सिक्लेसतिर प्रख्य, प्रखे भनिन्छ, हाम्रो गाउँतिर चैं प्रोगे । गोर्खातिर पुग्दा प्रके हुन्छ कि ?) ।
क्होलाका परित्यक्त महिलाहरु, प्रख्यहरु र प्रख्य बनाउनेहरु, प्रख्यहरुको दुखान्त र प्रख्य नै पछि राजा बनेको घटनाको वरपर यो उपन्यास बुनिएको छ । तर यो इतिहासको र उहिलेको कुरा मात्र हैन । लेखकले आफ्नो समयको समाजको यो विभेदयुक्त शक्ति सम्बन्धलाई भित्रै देखि घृणा जगाउँदै उपन्यासका पात्रहरु चयन गरेका छन् ।
अहिले पनि मेरा केही मित्रहरु छन् जसका प्रख्य सन्तानहरु छन् । तिनले बाबुको माया र परिचय पाउन सकेका छैनन् । कसैकसैले नाम या जात पाएका छन् तर ती पनि बाबुबाट परित्यक्त नै छन् । प्रख्यका अधिकाँश आमाहरु दुःख र अपमानपूर्ण जीवन जीउन वाध्य छन् । त्यस्तै मध्ये केही थान प्रख्यका उत्पादक मेरा एकजना मित्रले पछि आत्मग्लानी भएर एउटा पश्चातापयुक्त उपन्यास पनि लेखेका छन् । तर अहिले पनि लेकाली वस्तीका तमुहरुको समाजमा महिलालाई भोग गर्ने पुरुषलाई भित्रभित्र बहादुर भनिन्छ अर्थात विरभोग्या वसुन्धरा अहिले पनि यो समाजको साँस्कृतिक मुल्य हो । आफुलाई यस्तो घटनाको चोट परेकाहरु यसको विरोध गर्छन् बाँकीले आफ्नो हकका रुपमा बुझ्छन् ।
दि लाष्ट वास्टर्डस् अर्थात बाबुको ठेगान नभएका अन्तिम सन्तानहरु (अब त्यस्तो नहोस्, नहोला भन्ने आसयका साथ) लाई सहयोग गर्ने समुह गठन गरिएको र त्यसले त्यसप्रकारका सन्तानहरुलाई स्कलरशिपको व्यवस्था गर्ने, पढ्न सहयोग गर्ने गरेको सन्दर्भलाई उपन्यासमा मिसाइएको छ जस मार्फत लेखकले यो परम्पारामाथि खेद क्षोभ र घृणा व्यक्त गरेका छन् । यो एकप्रकारको स्थानीय शक्ति सम्बन्धमा उत्पिडनमा परेकाहरुको पक्षमा गरिएको राजनीतिक हस्तक्षेप हो, पक्षधरता हो । लेखकले समन्वयवादी भाषा प्रयोग गर्न खोजेपनि, शान्तीवादी देखिएपनि यसले लेखकलाई विद्रोहीको कोटीमा राख्नेछ र सामाजिक सोपानमा माथिल्लो तहमा बस्नेहरुले उनलाई घृणाको नजरले हेर्ने उत्तिकै सम्भावना छ ।
तर यसको अन्त्य भने अर्को एउटा हुर्कँदै गरेको प्रख्यसँग भेटाएर भएको छ । आमाले प्रेमको भोकले एकोहोरिएको डिस्कोसंग वास्तविक प्रेम गरेर त्यसको चिनोको रुपमा स्वेच्छाले सन्तान जन्माएकी छ र आफै हुर्काउँदै छ । छोराले बाबुको खोजी गर्ने बेलामा आमा दोधारमा छ बाबु चिनाउने कि नचिनाउने भनेर । त्यही बेला उसको बाबु डिस्को अर्थात हिउँबहादुरको मृत्युको खबर आउँछ । नयाँ प्रख्य अर्थात जेम्सले बाबुको बारेमा धेरैपछि थाहा पाउनेछ भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
यो भने बाबुले जबर्जस्ती करणी गरेर या प्रेमको नाटक गरेर जन्माएको सन्तान नभएर आमाले स्वेच्छाले गर्भादान (विर्यदान) लिएर जन्मेको हो । अर्थात यसले परम्परागत शक्ति सम्बन्धको कुरा खारेज गरेको छ । नयाँ र स्वतन्त्र स्त्रिले एकल आमाका रुपमा आफ्नो कोख भर्न र जन्मेको सन्तानलाई खुशीले पालनपोाषण गरेर हुर्काउन सक्छन् भन्ने प्रेरणा दिने सन्दर्भ पनि हो । सन्तानले बाबु त पाउँदैन तर प्रख्यको पुरानो अवस्थाबाट स्वतन्त्र छ । डिस्को आफै प्रख्य हो । डिस्को र उसकी यो प्रेमिकाका बीच बिबाह त हुँदैन तर दुवै एकअर्कालाई प्रेम गरिरहन्छन् । बाबुका रुपमा परिचय नदिएपनि मृत्युपर्यन्त डिस्को छोरालाई फोन गर्छ, माया गरिरहन्छ । सायद अब हामी यस्ता नयाँ प्रख्यहरुको समयमा छौं जसले जैविक बाबुको पहिचान पाउन या उसबाट अपहेलित हुन कुनै वाध्यता हुनेछैन । स्वतन्त्र आमाहरुको कल्पना यसले गरेको छ ।
टिप्पणी
प्रख्यलाई केन्द्रमा राखेर बुनिएको यो उपन्यासमा पात्रहरुलाई दिइएका नामहरु विद्यालय शिक्षाको प्रवेशसँगै विस्तारै अबको तमु समाजमा सुन्न छाडिएका नाम हुन् । त्यसले पनि तमु समाजसँग अपरिचित पाठकहरुलाई पात्रहरुसँग परिचित हुन अलि अप्ठेरो लाग्न सक्छ ।
उपन्यास मानक खस नेपाली भाषामा लेखिएको छ । समाजमा हुने सम्वादमा ( केही सय वर्ष पहिलेको समाजका सन्दर्भमा) लेखकले स्थानीय लवजमा या अनौपचारिक बोलीचालीको भाषामा लेखेको भए यो अझ प्रभावकारी हुनसक्थ्यो । जस्तो केटाहरुका बीचमा कुरा हुँदा हरेक दुइचार शब्द पछि आउने आम्पोइ, म्ले या आमाचकारी गालीको प्रयोग बुझिने भाषा उनले संकेतसम्म पनि गरेका छैनन् । भाषाको यो स्तरीयकरण अलि अस्वभाविक लाग्छ ।
यो राजनीतिक उपन्यास भनिन्न होला, तर सबै कुरा राजनीतिक शक्ति सम्बन्धहरुमा केन्द्रीत छन् । म्रुहरुले शक्ति आफ्नो नीयन्त्रणमा राखिरहन गर्ने प्रयासको वरपर नै घटनाहरु अगाडी बढेका छन् । राजनीति यसको मुल प्रवृर्ति हो । यसले नेपालको एउटा आदिवासी समुदायको पहिचानको खोजीलाई शक्ति दिएको छ । आवाज दिएको छ । पहिले प्राकृत धर्म मान्नेहरु कविला भन्दा बाहिरका शक्तिहरुसंगको संगत सम्बन्धले कसरी हिन्दु देवि देवताको शरणमा र तिव्वतीयन लामा धर्म अनुसारको जन्ममृत्यु संस्कार मान्ने गरी रुपान्तरण भए भन्ने विषयको गुह्य पनि यसले खोलेको छ । पहिले गाइ गोरुको भोग दिने, गाइ गोरु र चौंरी खाने तमुहरु पछिल्ला राजनीतक शक्ति सम्बन्धहरुका कारण त्यसबाट बञ्चित भएको कुरा नखोलेरै खोलेको छ । आफु भन्दा उन्नत सभ्यतासँगको संसर्गले कसरी आदिवासी मुल्यहरु विस्थापित हुन्छन् भन्ने कुरातिर संकेत गरेका छ । गुरुङ पहिचान र सँस्कृतिको यो नै पहिलो शक्तिशाली साहित्यीक आवाज हो । तमु समाजलाई चिनाउने साहित्यको अभाव यो उपन्यासले राम्रोसंग पुरा गरेको छ ।
उनीहरुको आदिवासी सँस्कृति र मुल्य प्रणाली झल्काउने एउटा अनुच्छेद यहाँ टिप्नु उपयुक्त नै हुनेछ । सिकारको क्रममा एउटा दोबाटोमा पस्कोले संधै झैं आगो फुक्यो र वनलाई सम्वोधन गर्दै भन्यो “म रहरले आएको होइन, मेरा छोराछोरीहरुका लागि तिम्रो शरणमा आएको छु, मलाई राम्रो चाहिन्न, लुलो लंगडो, अधकल्चो जस्तो भएपनि हुन्छ । गाह्रो नमानीकन एउटा सिकार दिलाइदिनु ।”
अहिले पनि गुरुङहरु शिकार खेल्न जाँदा पहिले वनका देविलाई पुजा गर्छन र गर्भवती, साना हुर्कौला र वच्चाका आमाहरु शिकारमा नपरुन भनेर प्रार्थना गर्छन् । यो प्रकृति पुजकहरुको परम्परा हो । त्यही भएर आदिवासी मुल्यप्रणालीसँग आधुनिक राज्यको हस्तक्षेपले संघर्ष निम्त्याउने गरेको छ ।
यो क्होलाको कथा हो । निस्चय नै सिक्लेसको समाजको छाप यसमा जबर्जस्त छ । तर इतिहास, पुर्खाहरु र आदिम तमु समाजको मुल्यप्रणालीका सम्बन्धमा यो नेपालको सबै तमु समाजको एउटा ऐतिहासिक अभिलेख हो, सबै गुरुङहरुको साझा उत्पत्ति कथा र मिथकहरुको सँगालो हो । फिक्सन हो, इतिहासको पुस्तक हैन । र पनि इतिहास पनि हो, मिथहरुको संकलन पनि हो र केही कल्पनाको मिसमास हो ।
यसमा लेखकको सुक्ष्म जीवनदृष्टि छ । उनले आफ्ना पात्रहरुको मनोदशाका आधारमा आफ्नो जीवनदर्शन प्रेक्षित गरेका छन् ।
अब धेरै लेख्नु पाठकहरुलाई हैरान पार्नु मात्र हो । उनीहरुले त पुस्तक पढेरै मात्र वास्तविक चित्र थाहा पाउनेछन् ।
मेरो विचारमा हिउँको गीत नेपाली उपन्यासले चढेको नयाँ खुट्किलो हो । यसले उपन्यासलाई हल्काफुल्का रमाइलोका लागि लेख्ने फाष्टफुडे सिर्जना भन्दा उच्चस्तरको जिम्मेवारीवोध हो भन्ने कुरा फेरि स्थापित गरेको छ । नेपाली उपन्यासका क्षेत्रमा यो एउटा अर्थपूर्ण उचाइको उपन्यास हो । तिर्थ गुरुङलाई यो गम्भिर कृतिका लागि हार्दीक बधाइ ।
उपन्यास छ्याँवा मु मिथेवा ! आसिमाला मु है !